Comments Add Comment

पोखरा महानगरको मेयरमा जिसीको जित सुनिश्चित, कुँवरद्वारा हार स्वीकार

११ जेठ, पोखरा । पोखरा लेखनाथ महानगरपालिकाको मेयरमा नेकपा एमालेका मानबहादुर जिसीको जित लगभग सुनिश्चित भएको छ ।

१ लाख २५ हजार ७ सय मत खसेकोमा झण्डै १ लाख ८ हजार मत अर्थात ८६ प्रतिशत मत गणना सम्पन्न भइसकेको छ । ३३ मध्ये २९ वटाको मत परिणाम आउँदा जिसी कांग्रेसका उम्मेद्वार रामजी कुँवर भन्दा ११ हजार ९ सय २ मतले अघि छन् ।

एमाले उम्मेदवार जिसीले ५१ हजार २ सय १७ मत प्राप्त गरेका छन् भने कांग्रेसका कुँवरले ३९ हजार ३ सय १५ मत प्राप्त गरेका छन् । अब वडा नम्बर ३०, ३१, ३२ र ३३ को मत परिणाम आउन बाँकी छ । वडा नम्बर ३० मा ४ हजार ७ सय ४३, वडा नम्बर ३१ मा ३ हजार ९ सय २१, वडा नम्बर ३२ मा ४ हजार ५ सय ८५ र वडा नम्बर ३३ मा ५ हजार ४ सय ७८ मत खसेको छ ।

गणना गर्न बाँकी ५ वटा वडामा कुल १८ हजार ७ सय २७ मत छ । कुँवरले जित्ने हो भने अब गणना गर्न बाँकी १८ हजार ७ सय २७ मत मध्ये १५ हजार ३ सय १५ अर्थात झण्डै ८२ प्रतिशत मत ल्याउनुपर्ने हुन्छ जुन असम्भव प्रायः छ ।

कांग्रेसका मेयरका उम्मेद्वार रामजी कुँवरले पनि हार स्वीकार गरेका छन् । उनले अब आफूले जित्ने सम्भावना नरहेको बताउँदै जितको नजिक रहेका एमाले उम्मेद्वार मानबहादुर जिसीलाई बधाई दिएका छन् ।

जिसीलाई भेटेर वा फोन गरेर औपचारिक रुपमा बधाई नदिइसकेका कुँवरले अनलाइनखबरसँग भने, ‘अब मेरो जित्ने सम्भावना देखिएन, म उहाँलाई बधाई ज्ञापन गर्छु ।’

उनले कांग्रेसका बलियो क्षेत्र भनेर चिनिने वडा नम्बर १ देखी १५ सम्म अग्रता लिन नसक्नु नै हारको पूर्व संकेत रहेकाले अबको वडामा कुनै आशा नै नरहेको बताए ।

गणना गर्न बाँकी रहेका वडा मध्ये वडा नम्बर ३१ र ३३ एमालेको राम्रो मानिन्छ भने अन्य वडा नम्बर ३० र ३२ मा कांग्रेसले प्रतिष्पर्धात्मक रुपमा आफूले जित्ने आंकलन गरेको छ ।

कुँवरले आफू चुनावमा पराजित भएपनि पोखरा लेखनाथ महानगरपालिकाको विकास र समृद्धिका लागि जिसीलाई आफ्नो तर्फबाट सबै सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले महानगरको विकास र समृद्धिका लागि जिसीले बोलेका र घोषणा पत्रमा उल्लेख गरेका कुरा पूरा गर्न आग्रह पनि गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment