Comments Add Comment

काठमाडौंमा माओवादी किन हार्‍यो ? यी हुन् ४ कारण

११ जेठ, काठमाडौं । पहिलो चरणको स्थानीय चुनावमा तेस्रो बनेको माओवादी केन्द्रले अपेक्षाकृत नतिजा आएको भन्दै सन्तोष व्यक्त गरेको छ । तर, काठमाडौं जिल्लामा भने माओवादीले नराम्रोसँग हार व्यहोरेको छ । शंखरापुर र चन्द्रागिरि नगरपालिकाका एक-एक वडाबाहेक माओवादीले अरु जित्नै सकेन ।

पहिलो चरणको स्थानीय चुनावभन्दा चार महिना अघिमात्रै काठमाडौं जिल्ला इञ्चार्जको जिम्मेवारी पाएका लेखनाथ न्यौपानेले माओवादी पराजित हुनुमा नैतिक रुपमा आफूले जिम्मेवारी लिने बताए ।

पूर्वविद्यार्थी नेतासमेत रहेका न्यौपानेले अनलाइनखबरसँग भने, ‘यति कमजोर नतिजा आउला भन्ने लागेको थिएन । काठमाडौं जिल्ला इञ्चार्जको हैसियतले यसको नैतिक जिम्मेवारी मैले लिनुपर्छ र लिन्छु ।’

न्यौपानेले काठमाडौंमा माओवादी पराजित हुनुका मुख्य कारणहरु यसरी विश्लेषण गरेः

काठमाडौंको चुनावमा हामीलाई धेरै अपेक्षा थिएन । कीर्तिपुर र शंखरापुर नगरपालिका तथा काठमाडौं महानगरका पनि केही वडाहरु चाहिँ जित्छौं भन्ने लागेको थियो । तर, रिजल्ट उल्टो भइदियो ।

शंखरापुर नगरपालिका जित्छौं भनेको, एउटा वडामात्रै जित्यौं । हामीलाई शंखरापुरका जनताले राम्रै भोट दिएका छन् । शंखरापुरमा हाम्रो आँकलन धेरै कमजोर थिएन । शंखरापुरमा संगठित भोट हामीलाई राम्रोसँग आएको छ । शंकरापुरका धेरै वडामा थोरै मत अन्तरले मात्र हारेका छौं । तर, हामीले पपुलर भोट तान्न नसक्दा परिणाम एमालेको पक्षमा गयो ।

कीर्तिपुरको चुनावी परिणाम भने अनपेक्षित भयो । १० नम्बर निर्वाचन क्षेत्रमा चन्द्रागिरिको एउटा भाग, कीर्तिपुर र दक्षिणकाली हो । ०७० सालको दोस्रो संविधानसभा चुनावमा अध्यक्ष प्रचण्ड १० नम्बर क्षेत्रबाट पराजित हुँदा पनि सबैभन्दा धेरै मत माओवादीलाई कीर्तिपुरबाटै आएको थियो ।

कीर्तिपुरमा माओवादी पहिलो, कांग्रेस दोस्रो र एमाले तेस्रो थियो त्यतिबेला । तर, अहिलेको स्थानीय चुनावमा हामी तेस्रो भयौं र एमाले पहिलो भयो । हामीले कीर्तिपुरमा ०७० सालको मत पनि जोगाउन सकेनौं । त्यत्रो जनमत भएको कीर्तिपुरमा एउटा वडा पनि जित्न सकिएन ।

माओवादीको पक्षमा चुनावी नतिजा नआउनुमा मैले मुख्य गरी ४ कारणहरु देखेको छु ।

१. कमजोर संगठन

काठमाडौंमा हाम्रो संगठन एकदमै कमजोर भयो । संगठन कमजोर भएपछि स्वतः अरु धेरै पक्षहरु कमजोर भए । ०६८ सालदेखि संगठन बनाउने प्रक्रिया जिरो थियो । जतिबेला पार्टीभित्र विवाद भयो र विभाजन सुरु भयो, त्यहीबेलादेखि नै हाम्रो संगठन लथालिंग थियो । ०७० सालयता एउटा बैठकसमेत बसेको थिएन । त्यस्तै अवस्थामा ०७० सालको दोस्रो संविधानसभाको चुनावको सामना गरिएको थियो ।

पछिल्लोपटक पार्टी सदस्यता नवीकरण र तलका सम्मेलनहरुबाट सामान्य जालो त बनेको थियो, तर त्यो जालोले स्थानीय चुनाव थेग्न सक्ने स्थिति नै थिएन । संगठन कमजोर भएकाले पनि काठमाडौंको चुनावमा हामीले धेरै बढी अपेक्षा गरेका थिएनौं ।

२. उम्मेदवार चयन

उम्मेदवार चयनमा हामी चुक्यौं । बुर्जुवा फ्लेभरसहितको चुनावी पात्र कमजोर भए । चुनावमा माओवादीले मध्यमवर्गसँग सहकार्य गर्न सकेन । साझा पार्टीका किशोर थापाले धेरै मत पाउनुमा बुर्जुवा फ्लेभर पनि एक हो । अरु-अरु पार्टीको पनि हामीले त्यो देख्छौं । तर, माओवादीले त्यस्ताखालका नेता-कार्यकर्ता विकास गर्न सकेन ।

मतदाताले उम्मेदवारको सामाजिक प्रतिष्ठा कस्तो छ भनेर पनि हेर्दछ । उम्मेदवारले आफ्नो सामाजिक प्रतिष्ठा गुमेको स्वयम् उसैले थाहा पाउँदैन तर, मतदाताले त्यो कुरा थाहा पाइराखेका हुन्छन् । उम्मेदवार चयन गर्दा उसको सामाजिक प्रतिष्ठालाई पनि ख्याल गर्नुपर्दछ ।

३. कमजोर प्रचार

तेस्रो कारण प्रचारको क्षेत्रमा हामी धेरै कमजोर भयौं । शहरको चरित्र अलि फरक छ । यहाँका मुद्दा फरक छन् । यहाँका समुदाय फरक छन् । शहरमा त्यही किसिमको प्रचार चाहिन्छ । त्यो अनुकुलका पात्र र प्रचार हामीबाट भएन ।

चाहे सकारात्मक होस् वा नकारात्मक, प्रचारले चुनावमा ठूलो अर्थ राख्छ । तर हामी यति धेरै कमजोर भयौं कि हामीले सक्दै सकेनौं ।
अरु-अरु पार्टीले हुँदै नभएका कुराहरु पनि हो भनेर प्रचार गरेर मत थप्ने काम गरे । तर, हामीले भएका चिजहरु पनि र पार्टीले गरेका काम पनि प्रचार गर्न सकेनौं । त्यसैले पनि हाम्रो मत स्वतः कमजोर भयो ।

४ महाअभियोग प्रकरण

प्रधान न्यायाधीश सुशीला कार्की विरुद्धको महाअभियोगले पनि माओवादीलाई चुनावमा नकारात्मक प्रभाव परेको हो । चुनावको मुखैमा आएको महाअभियोगले हाम्रो भोट घटायो । महाअभियोग पछि एक खालको जनमत भड्कियो । अर्काे कुरा नेपाली कांग्रेससँंग चुनावी तालमेलबाट पनि केही साथीहरु असन्तुष्ट भए । यसले पनि भोट घटायो । तालमेल गर्दा मनोनयन दर्ता अघि नै गरेको भए त्यती धेरै असन्तुष्टि हुँदैनथ्यो होला ।

यो चुनावबाट हामीले ठूलो शिक्षा लिएका छौं । गल्ति, कमजोरीहरु आगामी दिनमा सच्याएर अघि बढ्छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment