Comments Add Comment

सिन्धुपाल्चोकमा माओवादी हार्नुको कारण ‘अन्तर्घात’, छानविन समिति गठन

वागी उम्मेदवारहरू निलम्वित

११ जेठ, चौतारा । नेकपा माओवादी केन्द्र सिन्धुपाल्चोकले स्थानीय तह निर्वाचनमा पार्टीका उम्मेदवार पराजित हुनुमा अन्तर्घात मुख्य कारण रहेको निष्कर्ष निकालेको छ । अन्तर्घात गर्ने र वागी उम्मेदवारी दिनेहरुलाई कारबाहीको दायरामा ल्याउन छानबिन समिति पनि गठन गरिएको छ ।

चुनावको समिक्षा गर्न बसेको माओवादी सिन्धुपाल्चोकको बैठकले केशव नेपाल संयोजकत्वको छानबिन समिति गठन गरेको हो । समितिका सदस्यहरुमा चन्द्रबहादुर थापा, प्रेम सापकोटा, अमृता नेपाल र बीबी रायमाझी छन् । समितिलाई कारबाहीको सिफारिस गर्न जिम्मेवारी दिइएको छ ।

जिल्ला पार्टीका सबै तहमा गरिएको आन्तरिक सर्कुलरको ३ नम्बर बुँदामा ‘पार्टी निर्णय विरुद्ध वागी/स्वतन्त्र उम्मेदवारी दिएका सबैलाई निलम्बन गरी छानबिनको दायरामा ल्याउने,’ उल्लेख छ ।

साथै सम्बन्धित कमिटीहरुले निर्णय गरेर छानबिनको माग गरेमा त्यस्ता व्यक्तिहरु स्वतः निलम्बित भई छानबिनको दायरामा पर्ने र प्रारम्भिक आधारसहित व्यक्तिगत उजुरीहरु आए दर्ता गरी आवश्यक छानविन निलम्बन गरी वा नगरी गर्न सकिने माओवादी सिन्धुपाल्चोकको सर्कुलरमा उल्लेख छ ।

सिन्धुपाल्चोकका १२ स्थानीय तहहरुमध्ये माओवादीले चौतारा नगरपालिका र भोटेकोशी गाउँपालिका जितेको छ । अन्य स्थानीय तहमा आफ्ना उम्मेदवार पराजित हुनुमा तीन कारण रहेको निष्कर्ष निकालिएको छ जसमा अन्तर्घातलाई एउटा प्रमुख कारणको रुपमा लिइएको छ ।

स्थानीय चुनावमा पार्टीलाई प्राप्त जनमतको रक्षा गर्दै बढ्दा आगामी निर्वाचनहरुमा थप उपलब्धी हासिल गर्न सकिने सिन्धुपाल्चोक संयोजक धावा लामाले हस्ताक्षर गरेको सर्कुलरमा उल्लेख छ । थप उपलब्धीका लागि चुस्त, गुणात्मक र व्यवस्थित संगठन निर्माणको आवश्यकता औंल्याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment