Comments Add Comment

ललितपुरमा कांग्रेस बन्यो ठूलो दल, बहुमत वडा जितेर पनि मेयर हार्दा एमाले स्तब्ध

जिल्ला समन्वय समिति गठनमा माओवादी बन्न सक्छ निर्णायक

११ जेठ,काठमाडौं । राजधानी उपत्यकाका तीन जिल्लामध्ये काठमाडौं महानगरपालिका र भक्तपुरको चाँगुनारायण नगरपालिकाको मतगणना जारी रहँदा ललितपुरका भने सबै तहको निर्वाचन परिणाम सार्वजनिक भएको छ ।

ललितपुर महानगरपालिकासहित २ नगर र ३ गाउँपालिका गरी ६ स्थानीय तहको परिणाम आउँदा काँग्रेस ३ तह जितेर पहिलो पार्टी बनेको छ । एमाले भने ललितपुर महानगरपालिकाका बहुसंख्यक वडाहरु जितेर पनि मेयरमा ३ सय बढी मतले हारेपछि स्तब्ध भएको छ ।

ललितपुरको मेयरमा हारे पनि एमालेले २९ वडामध्ये १३ ओटा वडा जितेर पहिलो उपमहानगरपालिकामा बहुमत कायम गरेको छ । माओवादी केन्द्रले ललितपुर महानगरमा ४ वडा जितेको छ भने कांग्रेसले मेयर उपमेयरसहित ११ वडा जित्दा एकजना स्वतन्त्र उम्मेदवार जितेका छन् ।

ललितपुर महानगर कार्यपालिकामा वडाध्यक्ष र सदस्यसहित एमालेका ७७ जना निर्वाचित भएका छन् भने कांग्रेसका मेयर उपमेयर सहित ४५ र माओवादी केन्द्रका वडाध्यक्ष र सदस्य सहित १५ जना निर्वाचित भएका छन् ।

समग्र महानगरको गणितमा कांग्रेस र माओवादी मिल्दा पनि एमालेको बहुमत भएको छ, यसको असर अब महानगर कार्यपालिका गठनमा पर्नेछ । महानगरमा मनोनित हुने पाँच महिला र तीन दलित तथा अल्पसंख्यक सदस्यको निर्वाचनमा एमाले एमालेकै सदस्य आउने सम्भावना छ किनकी एमालेसँग एक्लैको बहुमत ७७ जना छ ।

तर, समग्र जिल्लामा महानगरसहित गोदावरी नगरपालिका र बागमति गाउँपालिका जितेर कांग्रेस पहिलो पार्टी बनेको छ । त्यस्तै एमालेले महालक्ष्मी नगरपालिका र महांकाल गाउँपालिका जितेर दोस्रो बनेको छ भने माओवादी केन्द्र कोन्जोस्योम गाउँपालिका जितेको छ ।

२०७० सालको संविधानसभा परिणाम अनुसार ललितपुरमा तीनै संसदीय क्षेत्र जितेर कांग्रेस पहिलो पार्टी बनेको थियो ।

मत परिणाम अनुसार माओवादी दोस्रो र एमाले तेस्रो स्थानमा थिए । कांग्रेसले आफ्नो पहिलो स्थान सुरक्षित गरे पनि एमाले दोस्रो हुँदा उसको पकड क्षेत्र पनि खस्किएको छ ।

को-को जिते ?

ललितपुर महानगरपालिकाको मेयरमा कांग्रेसका चिरिबाबु महर्जन र उपमेयमरमा गीता सत्या बिजयी भएका छन् ।

कांग्रेसका गजेन्द्र महर्जन  र मुना अधिकारी कुँवर गोदावरी नगरपालिकाको मेयर र उपमेयर भए । कांग्रेसले बागमति गाउँपालिकामा पनि जित हासिल गरेको छ । त्यहाँ अध्यक्षमा कांग्रेसका वीरवहादुर लोप्चन र उपाध्यक्षमा रन्जना तिमल्सिना बिजयी भइन् ।

एमालेले महालक्ष्मी नगरपालिकामा जित हासिल गरेको छ । त्यहाँ मेयरमा रामेश्वर श्रेष्ठ र उपमेयरमा निर्मला थापा बिजयी भएका छन् । त्यस्तै महाँकाल गाउँपालिकामा एमालेका रामचन्द्र दाहाल अध्यक्ष र कमला थापा उपाध्यक्षमा निर्वाचित भएका छन् ।

माओवादीले जितेको एकमात्र स्थानीय तह कोन्ज्योस्योम गाउँपालिका अध्यक्षमा गोपी स्याङ्तान र उपाध्यक्षमा मिम्मा लामा बिजयी भएका छन् ।

ललितपुरको समग्र नतिजा आइसक्दा कांग्रेस ठूलो पार्टी बने पनि जिल्ला समन्वय समिति गठनमा उसको बहुमत पुग्दैन ।

एमाले र माओवादीले ३ स्थानीय तह जित्दा जिल्ला समन्वय समितिमा ६ मत भएको छ भने कांग्रेस एक्लैको ६ मत रहेको छ । यस्तो अवस्थामा एमाले र माओवादी मिले भने कांग्रेससँग बराबरी हुन्छ । र, गोलाप्रथाबाट जिल्ला समन्वय समितिका पदाधिकारी चयन गर्नुपर्ने हुनसक्छ । तर, कांग्रेसले माओवादीको साथ लियो भने सहज बहुमत हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment