Comments Add Comment

हिसाबमा हेर्नुस् काठमाडौं महानगरमा राप्रपाको मत कति ?

एमाले थक्थकायो, राप्रपा काठमाडौंमा तेस्रो शक्ति पनि रहेन

१२ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुग्दै गर्दा एमालेका मेयर उम्मेदवार विद्यासुन्दर शाक्यले ५० हजार मत कटाएका छन् । एमालेसमर्थित राप्रपाका उपमेयर उम्मेदवार राजाराम श्रेष्ठले भने २९ हजार मत मात्र पाए ।

मेयर र उपमेयरबीच २५ हजारको ग्याप कसरी हुन गयो ? एमालेले धोका दिएको हो राप्रपालाई ? सबैतिर यो प्रश्न उठेपछि हामीले राप्रपाका उपमेयर उम्मेदवार राजाराज श्रेष्ठलाई सोध्यौं । उनले भने-धोका नै त भन्दिनँ, तर मेरा २५ हजार मत बदर गरिए, जसले गर्दा जित्दा जित्दै मैले हारेँ ।

राजारामको ‘हावादारी’ दाबी

राजारामले अर्को के पनि दावी गरे भने, विद्यासुन्दर शाक्यले पाएको मतमा २५ हजार मत राप्रपाका हुन् ।

तर, उनको यो दाबीचाहिँ गणितले पुष्टि गर्दैन । राप्रपाले काठमाडौं महानगरका सबै वडाहरुमा पाएको मत जोड्दा उसको पार्टीको मत कति हो भन्ने स्वतः प्रष्ट हुन्छ । राप्रपाले अहिलेसम्म गणना सकिएका २४ वटा वडाका वडाध्यक्षहरुले पाएको मत जोड्दा ७ हजार पनि पुग्दैन ।

दोस्रो संविधानसभा चुनावमा समानुपातिकतर्फ पाएको मतका आधारमा राप्रपाको कम्तिमा १० हजार संगठित मत पाउने अपेक्षासहित एमालेले राप्रपालाई उपमेयर दिएर तालमेल गरेको थियो । राप्रपाले त्योबेला आफ्नो १८ हजार भोट संगठितरुपमै आउने दाबी एमाले नेताहरुसँग गरेको थियो ।

कुन वडामा राप्रपाको कति मत ?

राप्रपाले ०४९ र ०५४ सालका दुवै चुनावमा जितेको वडा नम्बर १ समेत यसपटक जोगाउन सकेन । त्यहाँ एमालेका भरतलाल श्रेष्ठले जित्दा राप्रपाले ५ सय मत कटाउन नसकेर तेस्रो स्थानमा रहृयो ।

वडा नम्बर १ को मतपरिणाम हामीले प्राप्त गर्न सकेका छैनौं । तर बाँकी वडामा राप्रपाले पाएको मतले उसको काठमाडौंका मत प्रतिनिधित्व गर्छ, जुन यस्तो छ-

राप्रपाले वडा नम्बर २ मा १०६ र ३ मा ३४८ मत प्राप्त गरेको छ ।

वडा नम्बर ४ मा ४९१, वडा नम्बर ५ मा १५५ र वडा नम्बर ६ मा २८२ मत राप्रपाले पाएको छ ।

त्यस्तै वडा नम्बर ७ मा ५५४, वडा नम्बर ८ मा ११२१, वडा नम्बर १८ मा २४९, वडा नम्बर १९ मा २११ मत राप्रपाले पाएको छ ।

त्यस्तै वडा नम्बर २० मा ५३१, वडा नम्बर २१ मा १७६, वडा नम्बर २२ मा ११६, वडा नम्बर २४ मा २०० मत राप्रपाका उम्मेदवारले प्राप्त गरेका छन् ।

त्यस्तै वडा नम्बर २५ मा ७५, वडा नम्बर २६ मा १८७, वडा नम्बर २७ मा ८१ र वडा नम्बर २८ मा २१० मत प्राप्त गरेको छ ।

रापपाले वडा नम्बर ३१ मा ६६५ र वडा नम्बर ३२ मा ६७८ मत पाएको देखिन्छ ।

अन्य गणना भइरहेका वडाहरुमा पनि राप्रपाको मत तेस्रो वा चौथो स्थानमा आएको छ भने कतिपयमा पाँचौ छैटौं नम्बरमा राप्रपाका उम्मेदवार प्रतिस्पर्धामा छन् ।

अहिलेसम्म गणना सकिएका वडाहरुमध्ये राप्रपाले सबैभन्दा धेरै मत वडाध्यक्षमा वडा नम्बर ३२ मा ६७८ पाएको देखिन्छ भने सबैभन्दा कम मत २५ नम्बर वडामा ७५ मत छ ।

सबै मत गनिसकेपछि मात्रै एमालेले धोका दिएको वा नदिएको बारेमा आफूले बोल्न सकिने प्रतिक्रिया राजाराम श्रेष्ठले दिइरहँदा मेयरका एमाले प्रत्याशी विद्यासुुन्दर शाक्यले भने राप्रपालाई जिताउन नसकिएकोमा दुःख व्यक्त गरे ।

शाक्यले भने- हामीले कार्यकर्तालाई सर्कुलर गर्‍यौं, तर जनता सबैले बुझेनन्, सूर्यमै मत दिएर बदर भयो ।

अहिलेसम्मको मतगणनाको अवस्था हेर्दा र करीव ३५ हजार मत गन्न बाँकी रहँदा राप्रपाका उम्मेदवारले वडाहरुमा ल्याएको मत ७ हजार पुग्न सकेको छैन । सबै मत गनिसक्दा पनि राप्रपाका उम्मेदवारले पाएको मत १० हजार पुग्ने देखिन्न ।

एमालेले राप्रपाका कति भोट पायो ?

वडाध्यक्षका उम्मेदवारले ल्याएको मत जति सबै त्यही पार्टीको हो भन्ने हुदैन । किनकि वडाध्यक्षको उम्मेदवारले आफ्नो टोल र छिमेकबाट फरक आस्थाका मान्छेको पनि मत पाएको हुन्छ । यस हिसाबले राप्रपाको संगठित भोट एमालेमा गएको मान्ने हो भने राप्रपाको मत ५/६ हजार जतिमात्रै हुनुपर्ने अनुमान एमालेका नेताहरुको छ ।

वडाहरुमा माओवादी उम्मेदवारले पाएको मत भन्दा राप्रपाको मत प्रायः वडाहरुमै कम देखिन्छ । त्यसैले पनि काठमाडौंमा राप्रपा चौथो शक्तिमा झरेको सहज अनुमान लगाउन सकिन्छ ।
कतिपय वडामा राप्रपाको भन्दा संघीय समाजवादी फोरमको मत धेरै छ ।

राप्रपा काठमाडौंको तेस्रो शक्ति रहेन

काठमाडौं महानगरपालिकामा राप्रपाको वास्तविक भोट कति हो भन्ने मापन गर्ने भरपर्दो आधार भनेको वडामा उसका उम्मेदवारले पाएको मतको हिसाब नै हो । वडाध्यक्षमा उम्मेदवारले व्यक्तिगत रुपमा केही भोट पाउने बाहेक अरु भोट पार्टीका आउने हुन् ।

काठमाडौं महानगरका अहिलेसम्म गणना सकिएका कुनै पनि वडामा राप्रपाले एक सदस्य पनि जित्न सकेको छैन । कतै तेस्रो, कतै चौथो र पाँचौंमा छ राप्रपा ।
प्रायः वडामा राप्रपा भन्दा माओवादी उम्मेदवारको भोट धेरै आएको छ । कुनैमा राप्रपालाई संघीय फोरमले जितेको छ । तर, मतान्तर कांग्रेस एमालेसँग धेरै छ उनीहरुको ।

एमाले पहिले आत्तियो, अहिले थक्थकाउँदैछ

कांग्रेस र माओवादीले सबै महानगरपालिका सहित धेरै ठाउँमा चुनावी तालमेल गर्न थालेपछि एमालेले आत्तिएर काठमाडौं र ललितपुरमा राप्रपासँग तालमेल गरेको थियो । तर, यी दुबै ठाउँको तालमेल दुवै दलका लागि फलदायी हुन सकेनन् ।

ललितपुरमा एमालेको अधिकांश भोट सूर्यमै जाँदा राप्रपाका उपमेयरका उम्मेदवार दोस्रो पनि हुन सकेनन् ।

काठमाडौंमा राम्रै भोट पाउँदा पनि राप्रपाका राजाराम श्रेष्ठ तेस्रोमै रहने भए । यद्यपि काठमाडौं महानगरपालिकामा पनि उपमेयरमा उम्मेदवारविनै सूर्य चिन्हमा खसेको मत १० हजार नाघ्ने अनुमान गरिएको छ ।

अहिले एमाले पंक्ति काठमाडौंको उपमेयरमा आफ्नै दलबाट उठाउनुपर्ने रहेछ भनेर थक्थकाइरहेको छ । मतगणनास्थलमा शुरुकै दिनदेखि खटिएका काठमाडौं ७ का एमाले सांसद रामवीर मानन्धर उपमेयर पनि जितिने रहेछ भन्छन् ।

सभागृहमा भेटिएका मानन्धरले अनलाइनखबरसँग भने- सत्तापक्षले घेराबन्दी गर्न थालेपछि राप्रपालाई साथ लिन खोजियो, तर उनीहरुको पनि संगठित भोट रहेनछ, हाम्रो पनि कार्यकर्ताको मात्रै गयो, आम एमाले समर्थकले गाईमा भोट हालेनन् । आफ्नै उम्मेदवार उठाएको भए जितिने रहेछ ।’

राप्रपाले विद्यासुन्दरलाई गएका सबै मत नपाउनु स्वाभाविकै हो । किनकि विद्यासुन्दर शाक्यलाई कतिपय कांग्रेसको वडाध्यक्ष जितेका ठाउँबाट पनि कांग्रेसका मेयरको भन्दा बढी भोट गएको छ, जुन भोट राजारामले पाउने अवस्था थिएन । तै पनि राप्रपा र एमालेको भोटको दुरी निकै बढी देखियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment