Comments Add Comment

धरान र इटहरीमा चुनावी रौनकः उम्मेदवारी घोषणामा एमाले अगाडि

इनरुवामा एमाले र लोकतान्त्रिक फोरमवीच तालमेलको संकेत

१२ जेठ, सुनसरी । दुई उपमहानगर, ४ नगर र ६ गाउँपालिका रहेको सुनसरी जिल्लामा सरकारले दोस्रो चरणको निर्वाचनपछि दुई गाउँपालिका थप गरेको छ । अहिले जिल्लामा थप गरिएका गाउँपालिका बाहेकका निकायमा उम्मेदवारी टुंग्याउने क्रम अन्तिम चरणमा पुगेको छ ।

बिराटनगरपछि अत्यधिक चासोको रुपमा हेरिने १ नं. प्रदेशको सुनसरी जिल्लामा दुईवटा उपमहानगरपालिका छन् । दुबै उपमहानगर धरान र इटहरीमा मेयरका उम्मेदवार प्रमुख दलहरुले लगभग टुंग्याएका छन् ।

एमालेको १ नं. प्रदेश कमिटीले धरान उपमहानगपालिकाबाट मेयरमा तारा सुब्बाको उम्मेदवारीको निर्णय गरिसकेको छ भने नेपाली कांग्रेसले किशोर राईलाई मेयरमा अघि सारेको छ । यद्यपि, धरानमा तिलक राई पनि कांग्रेसबाट मेयरको प्रत्यासीका रुपमा चर्चामा छन् ।

एमालेका सुब्बा सुनसरी युवा संघका संस्थापक अध्यक्ष हुन् । धरान नगरपालिकामा ०४९ का उपमेयर र ०५४ का मेयर मनोजकुमार मेयाङ्वो सुनसरी अखिलको अध्यक्ष हुँदा सुब्बा युवा संघका अध्यक्ष थिए । तर, उनलाई पार्टीले पहिलोपटक चुनावी मोर्चामा उतार्दैछ ।

नेपाली कांग्रेसले मेयरमा उठाउने निर्णय गरेका राई ०५४ मा धरानकै वडा नं. १२ बाट वडाध्यक्ष निर्वाचित भएका थिए । उनी पार्टीका धरान नगर सभापति पनि हुन् । शेरबहादुर पक्षधर राई धरानका पुराना युवा नेता हुन् ।

माओवादी केन्द्रले धरानमा अइन्द्रविक्रम बेगालाई मेयरमा अगाडि सारेको छ । उनी धरान १५ का बासिन्दा हुन् । सुकुम्वासी मतदातामा बेघाको राम्रो प्रभाव रहेको विश्वास गरिँदै आएको छ ।

माओवादीले मेयरको टुंगो लगाए पनि हालसम्म उपमेयरको नाम भने टुंगो लगाउन सकेको छैन । हालसम्म माओवादीबाट चेतना सेरङ लिम्बु, लक्ष्मी प्रधान र पत्रकार गंगा बरालको नाम उपमेयरका रुपमा चर्चामा छ ।

संघीय समाजवादी फोरमले हालसम्म उपमेयरको मात्रै नाम सार्वजनिक गरेको छ । उसले उपमेयरमा पारस काङबाङ राईलाई उठाउने निर्णय गरेको छ । राप्रपाले मेयरमा तारा शाक्यलाई उठाउँदैछ ।

एमालेले धरानका लागि मेयरको नाम टुंगो लगाए पनि उपमेयर र वडाध्यक्षको नाम भने टुंगो लगाइसकेको छैन । उपमेयरमा मञ्जु भण्डारी र सावित्रा श्रेष्ठमध्ये एकले टिकट पाउने भएका छन् ।

हालसम्म तीनवटा वडामा सर्वसम्मत नाम गएकाले एमालेले ७ मा जीवन सुवेदी, ९ मा रत्न कटुवाल र १६ मा दिलबहादुर गिरीलाई वडाध्यक्षको उम्मेदवार बनाउने लगभग पक्कापक्की भएको छ ।

उपमेयरसहित बाँकी वडाको नाम चाँडै टुंगो लगाउन वैकल्पिक केन्द्रीय सदस्य धर्मराज निरौलालाई जिम्मेवारी दिइएको एमालेस्रोतले जनाएको छ ।

संघीय समाजवादीबाहेक धरानमा मधेसकेन्द्रित दलहरु अस्तित्वमा छैनन् ।

इटहरीमा को ?


इटहरी उपमहानगरमा एमालेले जिल्ला पार्टी अध्यक्ष द्वारिकलाल चौधरी, सर्वध्वज साँवा र रामप्रसाद चौलागाईंमध्ये एकलाई मेयरमा उठाउने भएको छ । एमालेले उपमेयरमा लक्ष्मी गौतम र विष्णु शर्मामध्ये एकलाई उम्मेदवार बनाउने चर्चा छ ।

नेपाली कांग्रेसले भने हेमकर्ण पौडेलको नाम टुंगो लगाएको छ । उनी पार्टीका नगर सभापति हुन् । कांग्रेसका तर्फबाट इटहरी उपमहानगरको मेयरमा रोहित प्रसाईंको पनि नाम चर्चामा छ । तर, उनी नेवि संघमा काम गर्दा सचिवको कार्यकाल नसकी कोरिया गएका कारण दौडमा पछाडि परेका हुन् ।

पार्टीको क्षेत्रीय सभापति मणिराम श्रेष्ठ मेयरका आकांक्षी थिए । तर, अन्ततः उनी साविकको हाँसपोसा गाविस रहेको वडा नंं २० बाट वडाध्यक्षका प्रत्यासी बनेका छन् ।

त्यस्तै, कांग्रेसका तर्फबाट उपमेयरमा गीता श्रेष्ठ र विमला ढकालको नाम अगाडि आएको छ ।

माओवादी केन्द्रले इटहरी उपमहानगरको मेयरमा हरिमाया जिमी (वीरता किराँती) लाई अघि सारेको छ भने उपमेयरमा सागर सुवेदीको टुंगो लगाएको छ । पहिला माओवादीबाट सुवेदी मेयरको उम्मेदवारका रुपमा चर्चामा थिए । तर, उनी एकाएक उपमेयरको उम्मेदवार बन्नुका पछाडि नेपाली कांग्रेससँग गठबन्धन हुन सक्ने सम्भावनाका रुपमा लिइएको छ ।

इटहरीमा राप्रपाबाट मेयरमा रोहितबहादुर कार्कीको नाम टुंगो लागिसकेको छ ।

दुहबी र इनरुवाको चर्चा

दुहबी नगरपालिकामा एमालेले ०४९ र ०५४ का गाविस अध्यक्ष विनयकुमार पोखरेललाई मेयरको उम्मदेवार बनाउने भएको छ भने नेपाली कांग्रेसले हाजी अब्दुल्लाहका नामले चिनिने अब्दुल मियाँलाई टिकट दिने सम्भावना छ ।

सुनसरीको सदरमुकाम इनरुवा नगरपालिकाको मेयरमा एमालेले पोष्टकुमार नेपाललाई खडा गरेको छ । तर, उपमेयरको उम्मेदवार टुंग्याउन भने एमालेलाई हम्मे परेको छ । मेयरमा पहाडे समुदायलाई उठाएपछि उपमेयरमा मधेसी महिलालाई उठाउनुपर्ने, तर एमालेमा उपमेयर हुने हैसियतका मधेसी महिला नभएपछि फोरम लोकतान्त्रिकसँग गठबन्धन गर्ने सम्भावना रहेको नेताहरु बताउँछन् ।

एमालेबाट उपमेयरमा पार्टीका प्रदेश संयोजक तथा केन्द्रीय सचिव भीम आचार्यकी पत्नी नीरा खनालसहित शकुन्तला भण्डारी र जमुना पोखरेल आकांक्षी छन् । तर, जातीय सन्तुलन मिलाउनका लागि यी तीनै आकांक्षीलाई जिल्ला समन्वय समिति वा प्रदेश सभामा लैजाने गरी पछि हटाइने भएको एमालेस्रोत बताउँछ ।

एमालेले इनरुवाका वडाध्यक्षमा १ बाट कानुन अधिकारी, २ बाट राजेन्द्र पण्डित, ३ बाट कालुराम गुरुङ, ४ बाट श्यामदेव मेहता, ५ (बलाहा) मा टुंग्याउन बाँकी, ६ (मधेशा) बाट कमल कार्की वा लक्ष्मण कार्कीलाई उठाउने निश्चित गरिसकेको छ ।

इनरुवाको वडा नं. ७ रहेको साविकको चाँदबेला गाविस पछिल्लो संशोधनमा गढी गाउँपालिकामा गाभिएपछि अन्यौलता सिर्जना भएको छ । ८ नं. वडामा अशोक साह, ९ (बबिया) मा बसिर मियाँलाई वडाध्यक्षको उम्मेदवार बनाउने निर्णय एमालेले गरिसकेको छ ।

तर, वडा नं. १० रहेको साविकको हरिनगरा अन्यत्र गाभिएपछि अन्यौलता उत्पन्न भएको छ । त्यहाँबाट सुल्तान मियाँ वडाध्यक्ष उठाउने टुंगो एमालेले लगाइसकेको थियो ।

नेपाली कांग्रेसले इनरुवामा राजन मेहता र केदार भण्डारीमध्ये एकलाई मेयरको उम्मेदवार बनाउँदैछ । त्यसबाहेक कांग्रेसका इन्द्र पोखरेल र रामप्रसाद मेहता पनि आकांक्षी हुन् । कांग्रेसका चार आकांक्षीमध्ये राजन मेहताले टिकट पाउने सम्भावना बढी छ । उनी पार्टीका नगर सभापति हुन् ।

जिल्लाका अन्य तहको हिसाब-किताब

एमालेले बराहक्षेत्र नगरपालिकाको मेयरमा निलमकुमार खनाललाई उठाउने तयारी गरेको छ भने रामधुनी भासी नगरपालिकामा शंकरलाल चौधरी, नन्दु बस्नेत र राम कोइरालामध्ये एकलाई उठाउने भएको छ ।

इटहरी उपमहानगरमा पार्टी अध्यक्ष द्वारिकलाल चौधरी मेयरमा उठेको खण्डमा रामधुनी भासीमा सचिव नन्दु बस्नेतलाई उठाइने र रिक्त हुने जिल्ला कमिटी अध्यक्षमा सर्वध्वज साँवा र सचिवमा राम कोइरालालाई लैजाने सम्भावना रहेको एमाले नेताहरु बताउँछन् ।

कोशी गाउँपालिकाबाट एमालेले अजयप्रसाद कुसियतलाई अध्यक्षको उम्मेदवार बनाउने भएको छ । उनी पार्टीका ५ नं क्षेत्रीय अध्यक्ष हुन् तथा अखिलका पूर्वनेता हुन् ।
त्यस्तै, एमालेले भोक्राहा गाउँपालिकामा हिरालाल मेहता, बर्जु गाउँपालिकामा फनिलाल चौधरी, गढी गाउँपालिकामा पूर्वशिक्षक तेजनारायण चौधरी, भुटाहा गाउँपालिकामा लस्करी अन्सारीको नाम टुंगो लगाइसकेको छ ।

तर, देवागञ्ज गाउँपालिका भने समीकरणका लागि हालसम्म खाली राखिएको एमाले स्रोतले जनाएको छ । कांग्रेस, माओवादी लगायतका अन्य दलहरुले सुनसरी जिल्लाका सबै स्थानीय तहमा उम्मदेवारहरुको टुंगो लगाइसकेको अवस्था छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment