Comments Add Comment

राजदूत राणा र जापानी उप-बिदेशमन्त्री सुगियामाबीच भेटवार्ता

टोकियो । जापानका लागि नवनियुक्त नेपाली राजदूत प्रतिभा राणाले जापानको परराष्ट्र मन्त्रालयमा पुगी आफ्नो ओहोदाको प्रमाणपत्रको ट्रु कपी पेश गरेकी छन् ।

कूटनीतिक प्रचलनअनुसार नवनियुक्त राजदूतले सम्बन्धित राष्ट्रको राष्ट्रप्रमुखलाई आफ्नो ओहोदाको प्रमाण पत्र पेश गर्नुअघि सोही देशको परराष्ट्र मन्त्रालयका अधिकारी समक्ष ओहोदाको प्रमाणपत्रको ट्रु कपी पेश गर्ने गरिन्छ । यसैगरि फिर्ता गएका राजदूतको सम्बन्धित देशको परराष्ट्र मन्त्रालयले रिकल लेटर पठाउने चलन छ ।

जापानी उप-बिदेशमन्त्री शिन्सुके सुगियामासँग बिहीबार भएको शिष्टाचार भेटमा राजदूत राणाले कार्यकाल समाप्त भई नेपाल फिर्ता भएका राजदूत डा. मदनकुमार भट्टराईको रिकल लेटरसमेत पेश गरेकी थिइन् ।

टोकियोस्थित नेपाली दूतावासका अनुसार राजदूत राणा र उपबिदेशमन्त्री सुगियामाबीच भएको भेटका अवसरमा नेपाल जापान बीचको द्धिपक्षीय सम्बन्धका विविध आयामहरुका बारेमा सौहार्दपूर्ण छलफल भएको छ ।

सोही अवसरमा राजदूत राणाले आफ्नो कार्यकालमा दुई देशबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउन प्रयासरत रहने र यस कार्यमा सदाझैं जापान सरकारको सहयोग रहने अपेक्षा ब्यक्त गरिन् ।

त्यस्तै उपबिदेशमन्त्री सुगियामाले पनि नेपाल जापानबीचको सम्बन्धलाई जोड दिँदै नेपालको सामाजिक र आर्थिक बिकासको हरेक प्रयासमा सहयोग गर्न जापान सरकार तत्पर रहेको जानकारी गराएका थिए ।

यसअघि राजदूत राणाले जापानको परराष्ट्र मन्त्रालयकै शिष्टाचार महापाल आकिरा सुगियामासँग पनि भेटवार्ता गरी दुई देशबीचको कुटनीतिक सम्बन्धका बारेमा कुरा भएको दूतावासले जनाएको छ । उक्त दुवै भेटका अवसरमा नेपाली दूतावास टोकियोका उपनियोग प्रमुख कृष्णचन्द्र अर्याल र तृतीय सचिव रेबन्त केसीको पनि उपस्थिति थियो ।

राजदूत राणा यसै सातामात्र कार्यभार सम्हाल्न जापान आएकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment