Comments Add Comment

बाह्रबिसे नगरपालिकाको संयोगः ‘दाजु बहिनी’ बने मेयर र उपमेयर

एमाले छिर्न समेत नसक्ने ठाउँमा कसरी सम्भव भयो जित ?

१२ जेठ, सिन्धुपाल्चोक । विनाशकारी भूकम्प अघिसम्म नेपाल चीन मुख्य सिमानाका जोडिएको बाह्रबिसे बजार ठूलो ब्यापारिक केन्द्र थियो । अझै पनि बाह्रबिसेको रौनक घटेको छैन, अझ बाह्रबिसे नगरपालिका बनेपछि पहिलो पटक भएको चुनावले एमालेलाई २६ वर्षपछि ठूलो खुसी दिलाएको छ ।

अन्यत्र जित हार जे भएपनि यो निर्वाचनमा बाह्रविसे नगरपालिकामा २६ वर्षपछि नेकपा एमालेले जित हात पार्न सफल भएको छ । बाह्रविसेमा मात्रै होइन भोटेकोशी गाउँपालिकामा पनि कम्युनिष्ट झण्डा गाडिएको छ । त्यहाँ माओवादी केन्द्रले जितेको छ । यो क्षेत्र कांग्रेसका नेता मोहन बस्नेतको एकछत्र राज चल्ने गरेको ठाउँ हो ।

बाह्रविसेमा एमालेले जित्नका लागि २६ वर्ष कुर्नु पर्‍यो । विकट गाउँ गातीको मान्द्रामा जन्मेको एउटा शेर्पाको छोरो बाह्रविसे नगरपालिकाको प्रमुखको कुर्सीमा बस्न सफल भएका छन् । अनि उपप्रमुखमा पनि मानेश्वाँराको विकट गाउँमा जन्मेकी सुशीला प्राख्रिन सफल भएकी छन् ।

प्रमुख भएका शेर्पा र उपप्रमुख भएका पाख्रिन दुवैले कहिल्यै कल्पना पनि गरेका थिएनन् कि यसरी यो पदमा पुगिएला भनेर । र, एमालेको लागि यो पनि यो परिणाम आश्चर्यजनक नै हो ।

शेर्पाको मेयर यात्रा…

पहिलो चरणमा भएका २८३ स्थानीय तहको प्रमुखमा निर्वाचित हुने एकमात्र शेर्पा जनप्रतिनिधि बनेका छन् निमफुन्जो शेर्पा ।

स्थानीय तहको पुनर्संरचनामा साविकको गाती, धुम्थाङ, मानेश्वाँरा, राम्चे, बाह्रविसे, कर्थली र घोर्थलीको केही गाविस समेटर बाह्रविसे नगरपालिका गठन भएको थियो । साविकको गाती गाउँ विकास समिति मान्द्रामा २०२२ सालमा जन्मीएका थिए शेर्पा । गरिबी, अशिक्षाका कारण शेर्पाको उच्च शिक्षा सम्म अध्ययन गर्ने रहर केवल रहर मै सीमित भयो ।

गाउँमा स्कुल थिएन, टाढा गएर पढ्न पैसा थिएन । शेर्पाले भने, ‘मलाई जहिले पनि यो पीडाले पोलिरहन्छ ।’

तर, आफू जस्तै अरुले यो पीडा नहोस् भनेर सुरुदेखि नै गाउँको शिक्षाको विकासका लागि शेर्पा निरन्तर लागिरहे ।

आर्थिक अभावका कारण अध्ययन गर्न नपाएपछि शेर्पाका जेठा दाजु ङमिपासाङ शेर्पाले परिवार नै बाह्रविसे ल्याए अनि एउटा छाप्रोको होटलबाट सुरु भयो शेर्पाको राजनीतिक र व्यावसायीक यात्रा । शेर्पाका दाइ ङमिपासाङ सुरुदेखि नै एमालेमा आवद्ध थिए, दाइको प्रेरणाले उनी कम्युनिष्टको सिद्धान्त, विचार नबुझ्दै कम्युनिष्ट भए, अनि एमालेमा संगठित भए । तातोपानी नाकामा हुने व्यापार व्यावसायमा दाजु ङमिपासङलाई सहयोग गर्थे ।

दाजुको मृत्युपछि नाकामा हुने सबै व्यापार व्यावसाय सम्हाल्ने जिम्मेवारी शेर्पाकै काँधमा आयो । व्यापार व्यावसाय मात्रै होइन, राजनीति पनि सँगै अघि बढाए शेर्पाले । सामान्य छाप्रोको होटलबाट व्यापार सुरु गरेका शेर्पा अहिले ‘गिन्ती’को व्यापारीमा पर्छन् ।

व्यापारसँगै राजनीतिलाई पनि सँगै लगेका छन् शेर्पाले । निरन्तरको सर्घषबाट शेर्पाले काँग्रेसको किल्ला भनिएको बाह्रविसेमा पहिलो पटक विजयको झण्डा गाडे । अनि एउटा विकट गाउँमा जन्मेको शेर्पाको छोरा सरकारी उच्च पदमा आशिन भए ।

उनले राजनीति गरे पनि जनप्रतिनिधि हुने लालचा कहिल्यै देखाएनन् । यसपटक स्थानीय निर्वाचनमा उनी कुनै पनि हालतमा चुनाव लड्ने योजनामा थिएनन् । पार्टीले मात्रै होइन, यस क्षेत्रका युवा लगायत सबैले शेर्पालाई यो चुनावमा टिकट लिन आग्रह गर्दा पनि शेर्पा तयार भएनन् ।

उनले भनेका थिए, ‘म चुनाव लड्दिन । पार्टीले जसलाई टिकट दिन्छ,उसलाई जिताउन इमान्दारीतापुर्वक लाग्नेछु ।’

शेर्पा टिकट लिन अनिच्छुक भएपछि चुनावमा नउठे पार्टीबाट कारवाही गर्ने चेतावनीपछि शेर्पा केही लचक भए । फेरि शेर्पालाई सँधै एउटा आरोप पनि लाग्ने गरेको थियो कि ‘निमफुञ्जो शेर्पा चुनावमा जान सधै डराउँछ, त्यही भएर यो चुनावमा पनि उ डराएको छ ।’

यो आरोप, भनाइ सबैलाई शेर्पाले खण्डन गरिदिए र चुनावमा जान डराउने मात्रै होइन, कसैले कल्पना पनि नगरेको क्षेत्रमा शेर्पाले चुनाव जितेर प्रमाणित गरिदिए कि चुनावी काँथर होइन भनेर ।

बाह्रविसे भन्नासाथ काँग्रेसको गढ हो र यहाँ काँग्रेस बाहेक अरुलाई ‘नो इन्ट्री’ जस्तै थियो । बाह्रविसेमा कहिल्यै पनि एमालेजनहरुले चुनावपछि विजयी जुलुस मनाउन समेत पाएका थिएनन् । तर, यस्तो दिन पनि आयो की कांग्रेसको गढ भनिएको बाह्रविसे बजारभरी सुर्यअंकित भण्डा फरफराए, धेरैले विगत सम्भिmए, नपत्याएको परिणाम आयो ।

सुशीलाको उपमेयरको यात्रा …

जन्म मानेश्वाँरामा भएपनि शुसीला पाख्रिनको कर्म भने ङमिपासङ शेर्पाकै घरमा बित्यो । शेर्पाकै घरमा बसेर अध्ययन अघि बढाइन् । त्यहीबाट राजनीति बुझ्ने र सिक्ने अवसर पनि मिल्यो । नाम जस्तै थिइन्, सुशीला साच्चै सबैका लागि कहिल्यै नबिझाउने एउटा सर्घषीशिल नारी हुन् ।

उनी कलिलै उमेरमा बाह्रविसे नगरपालिकाको उपमेयरमा मेयरमा भन्दा बढी मत ल्याएर निर्वाचित भइन् ।

एउटा संयोग मेयर शेर्पा र उपमेयर सुशीलाको जन्म दिने आमा बुबा फरक फरक भएपनि दुवैको राजनीतिक गुरु ङमिपासङ शेर्पा नै थिए ।

एउटै कोखबाट नजन्मिए पनि के भयो ? रगतको नाता भन्दा भावनाको नाता महान हुन्छ । त्यही भएर सुशीलाले शेर्पालाई सँधै भाइटिका लगाउने गरेकी छन् र शेर्पालाई राजनीति र व्यापारमा सहयोग गर्दे आएकी छन् । उनीहरुको यो पारिवारिक संयोग अब नगरपालिकामा पनि मिलेको छ । दाजु बहिनी प्रमुख र उपप्रमुख भएका छन् ।

दाजु सम्झेर भक्कानिए मेयर र उपमेयर

बाह्रविसे नगरपालिकाको अन्तिम मत परिणाम सुनाए बलेफी गाउँपालिकाका कार्यकारी अधिकृत भुवनेश्वर लामिछानेले । मत परिणाम सुनाए लगतै सुरु भयो विजय र्‍याली ।

बाह्रविसे बजारदेखि खुर्सानीबारीसम्म सबैको दैलोमो पुगेर विजयी उमेदवारहरुले आर्शिवाद लिए । खुर्सानीबारीमा स्वर्गीय ङमिपासङ शेर्पाको घरमा पुग्दा वातावरण स्तब्ध भयो ।

घर अगाडी स्वर्गीय ङमिपासङको तस्विर राखिएको थियो । उल्लासमय वातवरणमा खुसी हुँदै बधाइ लिदै दाजुको घरमा पुग्दा मेयर शेर्पा एक्कासी भक्कानिए, अनि दाजुको तस्विर छेउमा बसेर रोए ।

उनीमात्र मात्रै होइन, उपमेयर सुशीला पनि डाँको छाडेर रोइन् । सायद सफलताको पछाडि दाजु ङमिपासङकै योगदान सम्झिएर होला शेर्पा आफु सम्हालिए । अनि आफुले लगाएको सबै फुलमाला दाजुको तस्विरमा लगाइदिए र सबैको अगाडि तस्वीर देखाए ।

जितको कमाण्डर…

स्थानीय तह चुनाव घोषणापछि नेकपा एमाले सिन्धुपाल्चोकले सबै तहमा पार्टीका शीर्ष नेताहरुलाई कमान्डर बनाएर पठाएको थियो र बाह्रविसेको कमान्डर थिए जिविसका पूर्वसभापति सरेश नेपाल । नेपालको कमान्डमा साच्चै यो पटक बाह्रविसे नगरबासीहरु लामो समयदेखिको अमुक व्यक्तिको दासत्वबाट उन्मुक्तिका लागि जुरुकै उठेका थिए ।

बाह्रविसेकै डिबी लामा पनि यो जितमा इट्टा थप्ने एउटा अभियन्ता थिए । समग्रमा बाह्रबिसेले यसपटक नयाँ अनुहार र नयाँ पार्टी खोजेको थियो, त्यो एमाले बन्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment