Comments Add Comment

काठमाडौंको मेयरमा विद्यासुन्दरको जित सुनिश्चित, राजुराजद्वारा हार स्वीकार

१२ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार विद्या सुन्दर शाक्यको जित सुनिश्चित भएको छ ।

जारी मत गणना अन्तिम चरणमा पुगेको छ र, उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार राजुराज जोशीले हार स्वीकार गरेका छन् ।

१ लाख ७४ हजार मत गणना हुँदा शाक्यले ५७ हजार ४७३ मत पाएका छन् भने जोशीले ४० हजार २६९ मत पाएका छन् ।

तेस्रो स्थानमा रहेकी विवेकशील नेपाली दलकी रञ्जु दर्शनाले २० हजार ८७९ मत पाएकी छन् भने साझा पार्टीका किशोर थापाले १६ हजार १७६ र माओवादीका सर्वोत्तम डंगोलले ६ हजार ६८० मत पाएका छन् ।

मत परिणामबारे अनलाइनखबरसँग कुरा गर्दै कांग्रेस उम्मेदवार राजुराज जोशीले हार स्वीकार गरेका छन् । उनले भने, ‘भोलि मतगणना स्थलमा जान्छु । विद्यासुन्दरलाई बधाई पनि दिन्छु ।’

उनले विवेकशील र साझा पार्टीका उम्मेदवारले आफ्नो धेरै भोट काटेको विश्लेषण सुनाए । उनले भने, पार्टीको आन्तरिक कलह र दुई पार्टीर्ले धेरै भोट काट्यो । उनीहरुको यति मत आउँछ भन्ने सोचेको थिइनँ ।’

राजुराजले आफ्नो भूमिका महानगरमा नै हुने बताए । आफ्नो पार्टीले पनि थुप्रै वडाहरुमा जितेको भन्दै उनले भने, ‘पार्टीको तर्फबाट महानगर नै हेर्छु र राम्रो काममा सहयोग र अरुमा खबरदारी गर्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment