Comments Add Comment

भैरहवामा एमालेको चुनावी नाराः ‘घर-घरमा करेसाबारी, भान्सामा ताजा तरकारी’

१२ जेठ, भैरहवा । अगामी जेठ ३१ गते हुने स्थानीय तह निर्वाचनको लागि भैरहवामा चुनावी सरगर्मी बढेको छ । विभिन्न दलहरुले घरदैलो अभियान गरिरहेका छन् ।

मुख्य ३ दलमध्ये नेकपा एमालले भैरहवामा (सिद्धार्थनगर नगरपालिका) मेयर सहित वडा उम्मेदवारको टुङ्गो लगाएर आफ्नो चुनावी प्रचार तीव्र पारेको छ । यता नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र भने अझै मेयरको टुङ्गो लगाउन सकेका छैनन् ।

एमालेले भैरहवामा मेयर पदका लागि हरि अधिकारीलाई चुनावी मैदान उतारेको छ । यसैबीच एमालले चुनावी प्रचारप्रसारको क्रममा आफ्नो ६५ बुदाँको चुनावी प्रतिवद्धता सार्वजनिक गरेको छ ।

एमालले भैरहवामा नगरको विकास निर्माण, सार्वजनिक स्थल तथा पार्कहरुमा फ्री वाइफाईदेखि ‘घरघरमा करेसाबारी, भन्सा-भन्सामा ताजा तरकारी’ सम्मका कार्यक्रम लागू गर्ने प्रतिवद्धता गरेको छ ।

त्यस्तै उसले मठमन्दिर, चर्च, गुम्बा, आश्रम तथा मस्जिद-मदरसाहरुको संरक्षणमा विशेष कार्यक्रम लागू गर्ने, लागूऔषध दुव्र्यसन नियन्त्रणका लागि पुर्नस्थापना केन्द्र निर्माण गर्ने, लोडसेडिङ समस्यालाई समाधान गरी सिद्धार्थनगर उज्यालो शहर कार्यक्रम लागु गर्ने, पत्रकार, साहित्यकार, खेलाडी तथा कलाकारहरुको सम्मान गर्नका निम्ति छुट्टै आर्थिक कोषको स्थापना गरी कार्य संचालन गर्ने, सिद्धार्थनगर हाईहाई, हामी सबै भाइभाइ कार्यक्रम लागू गरी साम्प्रदायिक सद्भाव कायम राख्न विभिन्न रचनात्मक कार्यक्रम संचालन गरिने प्रतिवद्धता गरेको छ ।

यस्तै एमालले अटो भिलेज, विशेष आर्थिक क्षेत्र (सेज), निर्माणधिन गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माण कार्यलाई समयमै सम्पन्न गरी संचालनमा ल्याउने, कृषकहरुलाई प्रोत्साहन गर्नका लागि रासायनिक मल उपलब्ध गराउन सम्बन्धित वडाहरूमा मल भण्डारण तथा वितरण केन्द्रस्थापना गर्ने, भीम अस्पतालमा अ.हे.व., स्टाफ नर्सको पठनपाठनका साथै बि.एन.कार्यक्रम संचालनको पहल गर्ने, औद्योगिक व्यापार मेलाका लागि जग्गा प्राप्ति तथा व्यवस्थापनको कार्यक्रमलाई अघि बढाई स्थायी मण्डप निर्माणमा पहल गर्ने, ऊर्जा अभावलाई पूर्ति गर्न बायो ग्यास प्लान्ट जडान कार्यको सम्भाव्यता अध्ययन गरी संचालनमा ल्याइने र सशक्त किसिमको नगर प्रहरी फोर्स गठन गर्ने लगायतको प्रतिवद्धता गरेको छ ।

भैरहवा एमालेको मेयरका उम्मेदवार हरी अधिकारीले आफ्नो टिम निर्वाचित भएमा नगरवासीसँग गरिएको प्रतिवद्धता अनुसार सम्पूर्ण काम पूरा गरेर देखाउने बताए । उनले नगरपालिकालाई अन्तराष्ट्रिय शान्त, सभ्य, सुन्दर र समुन्नत पर्यटकीय नगरीको रुपमा विकास गर्ने भन्दै नगरवासीहरुको हित संरक्षण निम्ती कुनै कसर बाँकी नराख्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment