Comments Add Comment

नवनिर्वाचित वडाध्यक्षलाई दोहोरो जिम्मेवारी, यस्ता छन् वडाका अधिकार

फाइल तस्वीर

१३ जेठ, काठमाडौं । नवनिर्वाचित गाउँपालिका र नगरपालिकाका वडाध्यक्षलाई दोहोरो जिम्मेवारी हुने भएको छ । आफ्नै वडामा बसेर नियमित कार्य सम्पादन गर्नुका साथै नगर वा गाउँ कार्यपालिकामा पनि विभागको जिम्मेवारी हुने भएकाले वडाध्यक्षले दोहोरो जिम्मेवारी निर्वाह गर्नुपर्ने भएको हो ।

वडाध्यक्षको नियमित कामअन्तर्गत सिफारिसको काम (नाता प्रमाणित, नागरिकता, जग्गा) पञ्जीकरण (जन्म, मृत्यु, विवाह, बसाइसराइ र सम्बन्ध विच्छेद) त्यस्तै विकाससम्बन्धी योजना निर्माण र कार्यान्वयन गर्ने काम वडाबाट गर्नुपर्ने हुन्छ ।

त्यस्तै, वडाध्यक्ष नगर कार्यपालिकाको सदस्य रहने र उक्त नगर कार्यपालिकाको विभाग हुने र उक्त विभागको प्रमुख वडाध्यक्ष रहने भएकाले वडाध्यक्षलाई दोहोरो जिम्मेवारी पर्ने भएको हो । गाउँपालिकाको वडाध्यक्षको हकमा पनि यही कुरो लागू हुनेछ ।
सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका अनुसार महानगर र ठूला नगरपालिकामा कम्तीमा नौदेखि ११ वटा विभाग रहने र उक्त विभागको समग्र क्रियाकलाप हेर्ने जिम्मेवारी वडाध्यक्षको हुन्छ । साना नगरपालिका र गाउँपालिकामा भने ७ वटासम्म विभाग रहनेछन् । जसमा पूर्वाधार निर्माण विभाग, आर्थिक (कृषि, उद्योग, पर्यटन, पशुपालन), सामाजिक सुरक्षा, राजस्व सङ्कलन विभाग, योजना अनुगमन र मूल्याङ्कन, जनशक्ति व्यवस्थापन, तथ्याङ्क अभिलेख विभाग रहनेछन् । त्यस्तै, सूचना र प्रविधि शाखा, शिक्षा, स्वास्थ्य, विपत् व्यवस्थापन तथा न्यूनीकरण शाखालगायत विभाग रहने खबर गोरखापत्रले लेखेको छ ।

राजधानी दैनिकले वडाका अधिकारबारे सामग्री छापेको छ । राजधानीका अनुसार, हरेक वडामा तीन कर्मचारी रहनेछन् । त्यहाँबाट नाता प्रमाणित, नागरिकता सिफारिस, घरजग्गा र बहाल कर सिफारिस, जन्ममिति प्रमाणित, कित्ताकाट सिफारिस हुनेछ । त्यस्तै पूर्वप्राथमिक विद्यालयलाई अनुमति, जग्गा मूल्यांकन सिफारिस प्रमाणित, अनौपचारिक शिक्षा कार्यक्रम र प्रारम्भिक बाल विकास केन्द्र सञ्चालनलगायत काम पनि वडाले नै गर्नेछ । पानीको स्रोत संरक्षण र पशुपंक्षी तथा छाडा चौपाया व्यवस्थापन पनि वडाले गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment