Comments Add Comment

झापामा चुनावी रौनकः झण्डा बनाउनेलाई भ्याई–नभ्याई, राख्नेको होडबाजी

साना व्यवसायी मालामाल, ठूलालाई चन्दाको त्रास

१२ जेठ, झापा । दोस्रो चरणको स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गर्दा झापामा विभिन्न ठाउँमा झण्डा राख्ने होडबाजी चलेको छ । जिल्लाका राजनीतिक दलका कार्यकर्ताबीच आफ्नो पार्टीगत झण्डा राख्ने ‘प्रष्तिपर्धा’ चलेको हो ।

शिवसताक्षी–१०, माइधार चोक बस स्ट्याण्ड दक्षिणको चौबाटोमा एकैठाउँ नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, जनमुक्ति पार्टीसहित अन्य दलका झण्डा राखिएका छन् । यहाँ जस्तै जिल्लाभर प्रत्येक कार्यकर्ताका घर, बिजुलीको पोल, चोक र बजारमा विभिन्न पार्टीका झण्डा छन् ।

झण्डाको प्रदर्शनलाई सर्वसाधारणले सम्बन्धित ठाउँमा पार्टीको उपस्थितिलाई मापन गर्ने माध्यमको रुपमा हेरेका छन् । त्यसैले पनि झण्डा राख्ने होडवाजी चलेको सर्वसाधारण बताउँछन् ।

विभिन्न पार्टी समर्थक कार्यकर्ताले आफ्नो सवारी साधनमा पनि पार्टीको झण्डा राख्ने गरेका छन् । ‘आमजनमानस बीच पार्टीको प्रचारको प्रचार गर्न पनि यो एउटा राम्रो शैली हो’, शिवसताक्षी–८, झिलझिलेका गणेश भेटवाल भन्छन्, ‘यसले पार्टीको लोकप्रियता पनि झल्काउँछ ।’

झण्डा बनाउनेलाई भ्याइनभ्याइ

झण्डै दुई दशकपछि भएको स्थानीय चुनावले छपाई सम्बन्धी काम गर्ने व्यवसायीलाई ‘दशैं’ आएझैँ भएको छ । उनीहरुलाई झण्डा बनाउन भ्याइनभ्याइ छ ।
झापा नगरपालिकामा एमालेलाई झण्डाको अभाव भएको छ । उसलाई झण्डै ६ सय झण्डा अभाव भएको छ ।

‘अरुतिर भन्दा पहिले यहाँ उम्मेदवार टुंगो लागेपछि पहिलो चरणको चुनाव हुनु अघिदेखि नै हामी प्रचारप्रचारमा जुटिसकेका थियौं’, एमालेबाट मेयरका उम्मेदवार गजेन्द्र ताम्लीले भने, ‘हामीलाई चुनावी प्रचारका लागि झण्डा चाइएको थियो । बिहान कार्यक्रम छ, वेलुकीसम्म केही व्यवस्था थिएन ।’

उनले तुरुन्त विर्तामोडको ईभीडी मिडियाका वीरेन्द्र लिम्बुलाई फोन गरेर झण्डा बनाउनु पर्ने सुनाए । लगत्तै, वीरेन्द्रले रातभरि काम गरेर बिहानै गाउँमै झण्डा पुर्याइदिए ।
‘हाम्रो पनि कमाउने बेला यही हो’, वीरेन्द्रले भने, ‘ग्राहकले जतिबेला भन्नु हुन्छ, त्यतिवेलै पु¥याउन हामी दिनरात नभनी खटिरहेका छौं ।’

शिवसताक्षी–८, झिलझिलेका राज मैनालीको व्यापार पनि दशौं गुणा बढेको छ । उनले वडा नं. ६, ८ र ११ का सबै पार्टीको झण्डा बनाउने जिम्मा पाए ।

‘अरु बेला झण्डा बनाउने काम निक्कै कम आउथ्यो’, उनले भने, ‘अहिले एक्कासि व्यापार बढेको छ ।’ अहिले दिनमै ५ सयदेखि ६ सय वटा झण्डा तयार गर्ने गरेको उनले सुनाए ।
एक्कासि व्यापार बढेपछि हौसिएका मैनाली भन्छन्, ‘यही हिसाबले आम्दानी भइराख्ने हो भने मरुभूमिमा गएर काम गर्नु पर्ने अवस्था रहँदैन ।’ सबै पार्टीको झण्डा बनाउन एकै ठाउँमा आएपछि अहिले आफू सबैको प्रिय भएको उनले सुनाए ।

पेन्टिङ र साइबर व्यवसायी मालामाल

बिर्तामोडमा एलबी आर्टस् सञ्चालन गर्दै आएका लोकबहादुर लिम्बुको व्यापार पनि बढेको छ ।

‘दिनमै एक सयको हाराहारीमा व्यानर छाप्ने काम आउँछ’, उनले सुनाए, ‘दिउँसो मात्र काम गर्दा ग्राहकलाई पूर्ण सेवा पु¥याउन नसकिने भएपछि राति पनि काम गरिरहेका छौं ।’

उनीसँग एक मिटरको ठूलो झण्डा बनाउन पनि विभिन्न पार्टीका नेता कार्यकर्ता ठोक्किने गरेका छन् ।

‘स्टाफहरु थोरै छौं’, उनले भने, ‘अहिले त जनशक्ति कम भए जस्तो महसुस भइरहेको छ ।’

शिवसताक्षीमा रहेको सञ्चार फोटो स्टुडियोका गणेश भेटवालले पछिल्लो समय पार्टीको घोषणा पत्र र अन्य प्रचार सामग्री छपाईका लागि धेरै काम आउने गरेको बताए ।
‘केही दिन यता नगर र वडा स्तरीय पार्टीका कमिटीबाट घोषणा पत्र र विभिन्न प्रचार सामग्री छपाईको काम आउने क्रम बढेको छ’, उनले भने, ‘विस्तारै व्यापार बढ्दैछ ।’

यसरी जुटाइँदैछ स्रोत 

झापामा विभिन्न राजनीतिक दलका जिल्ला स्तरीय समितिदेखि लिएर वडा स्तरीयसम्मले प्रचारका लागि स्रोत जुटाउन अघोषित रुपमा चन्दा उठाउने गरेका छन् । उनीहरुले पार्टी निकट व्यवसायीबाट निर्वाचनका लागि भन्दै रकम उठाउने गरेका हुन् ।

जिल्लाका केही स्थानीय तहमा निर्वाचन प्रचार समितिले नै उम्मेदवारबाट रकम तोकेरै असुल्ने गरेको भेटिएको छ । एक पार्टी कार्यकर्ताबाट प्राप्त पत्रमा प्रमुख पदको उम्मेदवारले १ लाखदेखि लिएर अन्य विभिन्न पदको उम्मेदवारका लागि भिन्दाभिन्दै दररेट तोकिएको भेटिएको छ ।

यसका अलावा विभिन्न दलका नेता र कार्यकर्ताले पनि स्वतः स्फूर्त रुपमा चुनावी खर्चका लागि रकम दिने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment