Comments Add Comment

भरतपुर मतगणनाका रोचक दृश्यः कोही जितेर हारे, गणकहरु थला परे

मतगणना दोस्रो सातामा पुग्दा पनि चासो घटेन

१३ जेठ, चितवन । प्रायः दिउँसोपख घाम चर्किएर सडकमा हिँड्न पनि मुस्किल हुन थालेको छ भरतपुरमा । तर, हरेक साँझ जस्तो हावाहुरीसहितको पानी परेका कारणले शितलता प्रदान गर्ने गरेको छ ।

दिउँसो झण्डै ३८ डिग्रीसम्मको तापक्रम पुग्ने भरतपुरमा पानी परेको बिहानीपख जाडो भएकै महसुस हुन्छ । छिनमै घाम लाग्ने र छिनमै वषर्ा हुने मौसमका वीच गर्माएको छ महानगरको मतगणना ।

धेरै मतदाता भएको काठमाडौं महानगरको मतगणना समेत सकिन लागेका बेला भरतपुर महानगरको भने अझै ५ वटा वडाहरुको मतगणना गर्न बाँकी नै छ । साविक जिल्ला विकास समिति अगाडि रहेको कर्भड हलमा जेठ १ गतेदेखि शुरु भएको मतगणना दुई हप्ता पुग्न लाग्दा पनि सकिएको छैन ।

मतगणनामा सहभागी कर्मचारीहरु शिथिल बनेका छन् । कोही बिरामी छन् । २४ सै घण्टा मतगणना कार्यमा खट्दा स्वंय प्रमुख निर्वाचन अधिकृत समेतले स्वास्थ्यमा समस्या भएको बताए ।
दलका प्रतिनिधीहरु पनि थाकिसकेका छन् । सम्वन्धित वडाहरुको मतगणना गर्दा सोही ठाँउका प्रतिनिधीहरु नै मतगणनामा बसेपनि त्यसको समग्र ‘मनिटरिङ्ग’का लागि भने दलका स्थायी प्रतिनिधीहरु छन् ।

कांग्रेस-माओवादी गठवन्धनबाट मेयर पदकी उम्मेदवार रेणु दाहाल र एमालेका उम्मेदवार देवी ज्ञवालीबीचको प्रतिस्पर्धा निकै साँघुरो बनेर जान थालेपछि सबैको ध्यान भरतपुरतर्फ केन्दि्रत छ ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डपुत्री रेणु दाहाल कांग्रेस-माओवादी गठवन्धनबाट उम्मेदवार भएका कारण राष्ट्रिय रुपमा नै भरतपुरको चर्चा चुलियो, यसपटक । त्यसमाथि एमाले उम्मेदवार देवी ज्ञवालीले शुरुवाटै लिएको अग्रताले सबैलाई तरंगित बनाएको छ, भरतपुर महानगरमा कसले निर्वाचन जित्ला भनेर ।

जति जिल्ला बाहिरका मानिसहरुलाई चासो छ त्यो भन्दा बढी चासो भरतपुर महानगरवासीलाई हुने नै भयो । उनीहरु विभिन्न एफएम रेडियो, फेसबुकमा भइरहने अपडेट र टिभिहरुतर्फ झुम्मिएका देखिन्छन् ।
विभिन्न राष्ट्रिय टेलिभिजनहरुले समेत भरतपुरबाटै प्रत्यक्ष प्रसारण गरेर आम जनताको चासोलाई सम्वोधन गर्न लागिपरेको देखिन्छ ।

जिविसको चोक नजिकको बरको रुखको फेदमा ४०/ ५० जनाहरु अटुट रुपमा बसिरहेका देखिन्छन् । दिउँसो घाम चर्कंदा घट्ने जमात बिहानी र साँझपख बढ्ने गर्दछन् । सडकका दुई तर्फ मोटरसाइकल र साना सवारीहरु लामबद्ध बनेर राखिएका हुन्छन् । कसैले केही नयाँ सूचना ल्यायो कि भनेर कान ठाडो बनाएर त्यतैतिर लाग्दछन् ।

जिल्लाका अन्यत्र स्थानको मतगणना कार्य सकिसकेको कारणले गर्दा ति क्षेत्रहरुबाट समेत दलका नेता कार्यकर्ताहरु भरतपुर आउन थालेका छन् । मतगणना कार्य अन्तिम चरणमा पुगेका बेला भिड पनि यहाँको सडकमा बढ्न थालेको छ । जुन वडाको मतगणना कार्य चलिरहेको छ सो वडाका मानिसहरु मतगणनास्थल बाहिर आएका हुन्छन् । वडामा जित्ने जस्तो भएर त्यही वस्ने र हार्ने जस्तो भए घर तिर र्फकने गर्दछन् ।

बिजय जुलुसको तयारी एउटाको, जित अर्काको

२४ वटा वडाको मतगणना सकिदा भरतपुरको गेष्ट हाउस चौर र जिविसचोकमा फरक फरक दृश्यहरु देखिए । वडाध्यक्ष जितियो भनेर बिजय जुलुस निकाल्न तयारी गरेका दलहरु मत परीणाम अर्को दलको पक्षमा आउँदा निरास बनेर फर्किए ।

महानगरको वडा नः १ को वडाध्यक्षमा जितियो भनेर बिजय जुलुसको निकाल्ने तयारी गर्दै गर्दा एमालेकी गीता श्रेष्ठले कांग्रेस उम्मेदवारले जितेपछि निरास भएर र्फकनुपर्‍यो । दलका नेता कायकर्ता र दलवलसहित गेष्ट हाउस पुगेकी गीता १४ मतले पराजित बनिन् ।

यस्तै वडा नः ४ मा कांग्रेसका वडाध्यक्षका उम्मेदवारले जिते भनेर प्रचार गरीयो । वडाका सबै कांग्रेस कायकर्तालाई बिभिन्न सवारी साधानमा बोलाए कांग्रेस उम्मेदवार उपेन्द्र सापकोटाले । पछि परीणाम एमालेका वडाध्यक्ष उम्मेदवार हरि आर्चायको पक्षमा आयो ।

बाजासहित नाँचगानको तयारी गरेका सापकोटा रित्तो हात घर फर्किनुपर्‍यो । यस्तै भयो वडा नः ७ र ९ मा पनि । कांग्रेसका उम्मेदवारले जिते भनेर प्रचार भयो । तर परीणाम एमालेको पक्षमा आउँदा फरक खालका दृश्यहरु यहाँ देखिए ।

पञ्चैबाजाको माहौल !

भित्र कर्भड हलमा मतपरीणामा खटिएका दलका प्रतिनिधी र कर्मचारीहरुलाई जति नै तनाव भएपनि त्यो भन्दा बाहिरको दृश्य भने फरक छ । रमाइलो पनि । दिनमा औसत ३ वटा वडाको मतपरीणाम सार्वजनिक हुने गरेको छ । यो क्षेत्रमा मत परीणाम सुन्न बसेका मानिसहरुका कारण सानो तिनो बजार नै लाग्ने गरेको छ ।

वडामा जित्नेमा पार्टीहरुले आफ्नो गाँउ ठाँउबाट बसका बस मान्छेहरुलाई भरतपुर उतार्ने गरेका छन् । दलका झण्डा, बाजागाजासहित आएका दलका मान्छेहरु जिविस चोकमा उत्रिएर निकैबेरसम्म बाजागाजा बजाउदै नाचगान गने गर्दछन् । त्यसैले त्यहाँको माहौल निकै रोमाञ्चक र सांगितिक बन्छ ।

दिनहुँ जसो बिभिन्न दलले निकाल्ने बिजय जुलुस र बाजागाजा हेर्न जाने मानिसहरुको संख्या पनि उल्लेख्य पाइन्छ । बिजयी उम्मेदवारहरुलाई अविरजात्रा गरी नचाउदै नाँच्दै जाने गरेको दृश्यहरु हरेकदिन जस्तो देख्न पाइन्छ ।

बढ्यो ब्यापार

दिनहुँ अटुट मान्छेहरुको भिड यहाँ बढेकोले यस क्षेत्रको व्यापार पनि हृवात्तै बढेको छ । जिविस चोक वरपर रहेका पुराना अधिकांश होटलहरु पसलहरु अहिले बन्द छन् । नेपाल प्रहरीले चलाएका सटरहरु बन्द गरी निर्माणको काम चलिरहेको छ ।

जिविसचोकमा हालै मात्रै खुलेको नयाँ होटल मितेरीमा मानिसहरुको ठेलमठेल भिड हुन्छ । पहिला दैनिक १० हजारको हाराहारीमा हुने व्यापार अहिले बढेर अहिले दैनिक ४० देखि ५० हजारसम्म हुने गरेको छ ।

भित्र मतगणनामा खटिएका कर्मचारी, दलका प्रतिनिधी र अन्य सहभागीहरुले यहि नै खाना खाजा खाने गरेका छन् । ‘ब्यापार त बढ्यो नै, त्यो भन्दा पनि ठूलो कुरा प्रचार भयो’ मितेरी होटलका लेखापाल टिकाराम खनालले भने, ‘२९ वटै वडाका करीव ३० हजार मान्छेले यो ठाँउ देखे ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment