Comments Add Comment

चुनावका लागि राजपाले देउवासामू राख्यो तीनबुँदे सर्त

१३ जेठ, काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालले सरकारको नेतृत्व गर्ने तयारी गरिरहेको नेपाली कांग्रेसका शीर्ष नेताहरुलाई भेटेर चुनावमा सहभागिताका लागि तीनबुँदे सर्त राखेको छ ।

उम्मेदवारी दर्तालाई अवरोध गर्ने गरी संघीय गठवन्धनमार्फत आन्दोलन घोषणा गरेको राजपा नेपालका नेताहरुले विहानै कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न चाहेका थिए । विहान ९ बजेका लागि तय भएको भेट तीन दलका शीर्ष नेताहरुको बैठकका कारण सर्‍यो ।

दिउँसो कांग्रेस पार्टी कार्यालय सानेपामा भएको भेटमा राजपा नेपालका नेताहरुले चुनावको वातावरण नबनेको बताएका छन् । उनीहरुले दुई तिहाई नपुगेको भन्दै संविधान संशोधन रोकिएको र अरु विषय पनि टार्दै जान खोजिएको आरोप लगाएका छन् ।

भेटपछि राजपाका नेता राजेन्द्र महतोले अनलाइनखबरसँग भने, हामीले भन्यौं, ‘ चुनावको वातावरण बनाउनुस् । हामी चुुनावमा जान चाहन्छौं । हामीलाई बञ्चित नगरियोस् ।’

उनका अनुसार चुनावका लागि जनसंख्याका आधारमा स्थानीय तहको संख्या बृद्धि, मुद्दा फिर्ता र दल दर्ता गरेर चुनाव चिन्ह दिनु पर्ने तीन सर्त कांग्रेस सभापति देउवासामू राखिएको छ । अन्यता चुनावमा भाग नलिने मात्र नभई तराई मधेसमा हुन नदिने उसको चेतावनी छ ।

तर, सर्वोच्चले स्थानीय तहको संख्या बृद्धि गर्न रोकिसकेको छ । महतोले भने, ‘अदालतसदालत हामीलाई केही थाहा छैन । जनसंख्याका आधारमा गाउँपालिका नगरपालिकाको संख्या बृद्धि गर्नुपर्छ ।’

सर्वोच्चको अन्तरिम आदेशलाई ‘भ्याकेट’ गराउने, नियम कानुन सच्याउने काम सरकारको भएको राजपाका नेताहरुले बताएका छन् । ‘फलानोले मानेन, दुई तिहाई पुगेन भनेर संशोधन भएन, अहिले अदालतले रोक्यो भनेर हुँदैन । कुनै हालतमा स्थानीय तहको संख्या बृद्धि हुनुपर्छ’ राजपाका नेता महतोले भने, ‘नत्र चुनाव हुन दिँदैनौं ।’

कांग्रेस नेताहरुले भने प्रमुख दलहरुसँग परामर्श गरेर पुनः छलफल गर्ने आश्वासन दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment