Comments Add Comment

राजधानीका मेयर विद्यासुन्दर शाक्यः जसले कुनै चुनाव हार्नु परेन

'मेरो कामबाट कसैले शीर झुकाउनु पर्ने छैन'

१३ जेठ, काठमाडौं । २०४५ सालमा काठमाडौं लगन टोलतिरका युवाले पञ्चायत बिरोधी आन्दोलनलाई सघाउन स्वतन्त्र रुपमै जनआन्दोलन संयोजक समिति बनाएर सडकमा निस्किए । त्यो समितिमा विद्यासुन्दर शाक्य पनि थिए । उनीहरुका एउटा हातमा कांग्रेस र अर्को हातमा कम्युनिस्ट पार्टीका झण्डा हुन्थे ।

अन्ततः जनआन्दोलन सफल भएर बहुदलीय व्यवस्था स्थापनासँगै विद्यासुन्दर शाक्यले तत्कालिन नेकपा माले रोजे । २०४७ सालमा एमालेमा सगंठित भएका शाक्य ठीक २७ वर्षपछि सोही पार्टीबाट देशको राजधानी काठमाडौं महानगरको शक्तिशाली पद मेयरको कुर्सीमा आसिन हुने सौभाग्य प्राप्त गरे ।

काठमाडौं महानगरपालिकाको तेस्रो मेयर निर्वाचित हुँदा शाक्यले प्राप्त गरेको मत हेर्ने हो भने उनलाई महानगरबासीले मतको ठूलै भारी बोकाएका छन् । राजधानीबासीको विश्वास र भरोसालाई शाक्यले कसरी पार लगाउँछन्, अबका ५ वर्ष उनी जनताको र दुनियाँको प्रत्यक्ष निगरानीमा हुनेछन् ।

बाहिरी दुनियाँका लागि शाक्य चर्चित व्यक्ति नभए पनि काठमाडौंको एमाले पंक्ति र भित्री शहरका चीर परिचित नेता र दाग नलागेका जनप्रतिनिधि हुन् । दुई पटक काठमाडौं महानगरको वडाध्यक्ष भएर कुनै दाग नलागी उत्रिनु र महानगरमा जनप्रतिनिधि नभएको बेला दलीय संयन्त्रमा रहेर प्रभावकारी भूमिका निर्वाह गर्नु उनको भावी मेयर यात्राको सकारात्मक पक्ष हो ।

काठमाडौंकै पूर्वमेयर केशव स्थापितका योजना र महानगर सपना विद्यासुन्दरका सम्पत्ति हुन् । चुनावी दौरानका क्रममा स्थापितले उनलाई काँधमा बोकेरमात्र हिँडेनन्, चुनावी अभियानको सारथी नै बने । अबको महानगर निर्माणमा आफ्ना अग्रज केशव स्थापितको सहयोग र महानगरका संस्थापक मेयर पीएल सिंहको सद्भाव आफूलाई रहने विश्वास विद्यासुन्दरले व्यक्त गरेका छन् ।

ती विद्यासुन्दर, यी विद्यासुन्दर

मैले काम गर्नका लागिनै ल्याएका योजना हुन् । ती सबै पूरा हुन्छन् । मेट्रो रेल र मोनो रेल मेरोमात्र होइन अरु उम्मेदवारका घोषणापत्रमा पनि छन् । अब जित्ने हार्ने सबैका योजना भएकाले सबै मिलेर काम गर्ने हो

२०३६ सालमा बहुदल र निर्दलबीच जनमत संग्रह हुँदा काठमाडौं लगनटोलका १६ वर्षीय किशोर विद्यासुन्दर शाक्य लहलहैमा बहुदलको पक्षमा हिँडेका थिए । खानदानी नेवार परिवारका छोरा राजनीतिमा लाग्नु, त्यो पनि निरंकुश पन्चायत विरुद्ध-यो त सम्भवै थिएन । तर, कम्युनिस्ट पार्टीका मान्छेहरुको संगतले उनलाई पुस्तौनी ब्यापार व्यवसायबाट राजनीतिमा धकेल्यो ।

एमाले बाहिरका मान्छेले विद्यासुन्दर काठमाडौंको मेयरको उम्मेदवार बन्दै गर्दा उनको बायोडाटा खोज्दै थिए । केशव स्थापित जस्ता चर्चित र जीवनराम जस्ता खेल क्षेत्रबाट स्थापित नेताको बीचबाट एकाएक विद्यासुन्दर काठमाडौंको मेयरमा सर्वसम्मत रुपमा अघि सारिँदा एमाले बाहिर आश्चर्य नै भएको थियो ।

शालिन व्यक्तित्व, तीन पटक लगातार वडाध्यक्ष, काठमाडौंको विकास निर्माणका निरन्तर सहभागिता, सघन नेवार वस्तीको अगुवा हुनु र पार्टीमा कहिल्यै विवादित नहुनु उनको उम्मेदवारीका सबल पक्ष बन्न पुगे । यद्यपि काठमाडौंको मेयर बन्ने उचाईको नेता भएनन् भनेर कतिपयले आलोचना नगरेका होइनन् । तर, व्यक्तिको उचाई उसको कामबाट मापन हुनुपर्छ, नामबाट होइन भन्छन् शाक्य ।

राजनीतिक यात्रामा विद्यासुन्दर

नवनिर्वाचित मेयर विद्यासुन्दर शाक्य काठमाडौंकै लगनटोलमा जन्मिएका हुन् । वि.स. २०२० जेठ ९ गते जन्मिएका शाक्यले त्रिपुरेश्वरको विश्वनिकेतन माध्यामिक विद्यालयबाट विद्यालय तहको अध्ययन पूरा गरे । शंकरदेव क्याम्पसबाट व्यवस्थापनमा स्नातकसम्मको अध्ययन पूरा गरेका शाक्य २०४६ देखि सक्रिय राजनीतिमा लागेका हुन् ।

उनी २०४३ सालको नगर पञ्चायतको निर्वाचनमा जनपक्षीय उम्मेदवारका रुपमा वडाध्यक्ष निर्वाचित भए । २६ वर्षको उमेरमा पहिलो पटक जनप्रतिनिधिको भूमिकामा उपस्थित भएका शाक्यले त्यसयता लगातार २०४९ र २०५४ को स्थानीय चुनावमा पनि २१ नम्बर वडाबाट वडाध्यक्ष जिते । जुन वडाबाट यसपटक उनलाई मेयर बनाउन खसेको कुल मतको दुई तिहाई भन्दा बढि मत प्राप्त भयो ।

कहिल्यै नहार्ने नेता

उनको जीवनको संयोग नै हो कि अहिलेसम्म उनी जुन चुनावमा उम्मेदवार बने, सबैमा जितेको छन्, चाहे पार्टी भित्रको होस वा बाहिरको । यो पटक उनले टिकट पाउँदा पार्टीभित्र मेयरको दावी गरिरहेका अरु आकांक्षीले सहजै उनलाई स्वीकार गरेर चुनाव प्रचारमा हिड्न तयार भएका थिए ।

मेयर नपाए स्वतन्त्र उम्मेदवार बन्न सक्छन् वा अर्को पार्टीबाट उम्मेदवार बन्न सक्छन् भन्ने अड्कल काटिएका केशव स्थापितले विद्यासुन्दर आफूपछिको अब्बल नेता भन्दै महानगरको विकासका लागि उनको बिजय अनिवार्य रहेको घोषणा गरिदिए । केशव स्थापितले विद्यासुन्दरलाई जुरुक्कै बोेकेर हिँडेपछि काठमाडौंमा एमालेको चुनावी अभियानले गति लिएको थियो ।

तीन पटक वडाध्यक्ष भए बाहेक उनी पार्टीभित्र तल्लो तहदेखि नै उठेका नेता हुन् । युवा संघको राजनीतिबाट अघि बढेका शाक्य एमालेको नगर कमिटी हुँदै जिल्ला कमिटी सचिव छन् अहिले । उनको विशेषता के हो भने संगठनमा भित्री काम गर्छन् र भित्री नेवारी वस्तीका गुठीहरुमा पकड राख्छन् । जुन गुठीबाट कसलाई भोट दिने भन्ने सामुहिक निर्णय हुन्छ र भयो पनि ।

विद्यासुन्दरको महानगर सपना

नननिर्वाचित मेयर शाक्य सपना बाँड्ने भन्दा पनि महानगरवासीको सपना पूरा गर्ने ध्येयले उम्मेदवार बनेको र अब काम गरेर प्रतिबद्धता पूरा गर्ने बताउँछन् । आफ्नो कार्यकालमा भनिने होइन, देखिने महानगर बनाउने उनको प्रतिवद्धता छ ।

चुनाव जित्नासाथ अनलाइनखबरकर्मीसँग कुरा गर्दै उनले भने-‘अब काठमाडौंको परम्परागत नेवाः संस्कृति र पहिचान जोगाउँदै सम्पूर्ण देशबासीले गर्व गर्न सक्ने वृहत्तर शहर बनाउनु छ । जसमा बाहिर र भित्रको मानसिक विभाजन अन्त्य होस् ।’

केशव स्थापितको भिजनलाई पनि उनले ग्रहण गरेका छन् । उनले भने-केशव स्थापित मेयर हुँदा काठमाडौंको सडक विस्तार, माइतीघर मण्डल र रत्नपार्क जस्ता गर्व गर्न लायक काम भए । स्थापित र हाम्रो टिमले त्यो बेला शुरु गरेको कामलाई निरन्तरता दिँदै अब महानगरबासीले गर्व गर्ने शहर बनाउनेछौं ।’

महानगरको अस्तव्यस्त यातायातलाई व्यवस्थित गर्न उनले केबललकार, मोनोरेल तथा विद्युतीय स्मार्ट गाडीहरु सञ्चालनमा ल्याउने योजना भोट माग्ने बेला मतदातालाई सुनाएका थिए ।

आफूले जितेमा ३ वर्षभित्र महानगरको चक्रपथभित्र मोनो रेल सञ्चालन गर्ने योजना सुनाएका शाक्य अब के सोच्दैछन् ? उनले भने-‘मैले काम गर्नका लागिनै ल्याएका योजना हुन् । ती सबै पूरा हुन्छन् । मेट्रो रेल र मोनो रेल मेरोमात्र होइन अरु उम्मेदवारका घोषणापत्रमा पनि छन् । अब जित्ने हार्ने सबैका योजना भएकाले सबै मिलेर काम गर्ने हो ।’

विश्लेषकहरुले महत्वकाक्षी योजना भनेका छन् । किनकी काठमाडौंमा मोनो रेल सम्भव भए पनि तीन वर्षमा नै चत्रपथमा मोनोरेल कुदाउन निकै कठीन हुने उनीहरु बताउँछन् ।

चुनावको बेला बाँडेका सपनाबारे उनले अहिले यतिमात्र भनेका छन्-‘महानगरको मेयरका रुपमा हरेक क्षण सदुपयोग गर्नेछु । मेरो कामबाट मेरो पार्टी, मेरा कार्यकर्ता, आम महानगरबासीले शीर झुकाउनुपर्ने छैन, हामी सबै मिलेर गर्व गर्न लायक महानगर बनाउनेछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
मात्रिका पाैडेल

समसामयिक राजनीतिक बिषयमा कलम चलाउने पाैडेल झन्डै दुर्इ दशकदेखि पत्रकारितामा सक्रिय छन् । उनी अनलाइनखबर डटकमका डेपुटी एडिटर हुन् ।

ट्रेन्डिङ

Advertisment