Comments Add Comment

‘समूह’ लगानी स्वीकार गर्ने समितिको नीतिले एकभन्दा बढि बिमा कम्पनीमा लगानी गर्दै व्यवसायी


१४ जेठ, काठमाडौं । नयाँ बीमा कम्पनीको प्रवद्र्धक लगानीकर्तामा पनि पुराना कम्पनीका लगानीकर्ता दोहोरिने भएका छन् ।

बिमा समितिले नै दोहोरो लगानीमा रोक नलगाएपछि व्यवसायीहरुले एकभन्दा बढि कम्पनीमा लगानी गर्न लागेका हुन् । तर, बिमा समितिले दुई वटा संस्थामा लगानी गर्दा केही सीमा भने तोकेको छ ।

‘हामीले वित्तीय स्वार्थ नबाझिने गरि एकभन्दा बढि कम्पनीमा लगानी गर्न सक्ने व्यवस्था गरेका छौं,’ बिमा समितिका निमित्त कार्यकारी निर्देशक श्रीमान कार्कीले भने ।

बिमक दर्ता तथा बिमा व्यवसाय सञ्चालन सम्बन्धि निर्देशीका २०७३ ले १ प्रतिशत वा सोभन्दा बढि सेयर लिएका व्यक्ति, संस्था वा एकाघर परिवारलाई ‘आधारभुत सेयरधनी’ को रुपमा लिएर वित्तीय स्वार्थ हुने वर्गको रुपमा हेरेको छ । तर, समूह वा समूह अन्तर्गतका कम्पनीलाई भने यो वर्गमा राखिएको छैन् ।

यही छुटको कारण व्यवसायी चन्द्र ढकाल, उनको समूहमा रहेका हेमराज ढकाल, योगेश्वर ढकाल, उनी सम्बद्ध कम्पनी आइएमइ समूहले एकभन्दा बढि बिमा संस्थामा लगानी गरेका र गर्ने भएका छन् । यी व्यक्ति र संस्थाले हाल सञ्चालनमा रहेको एनबी इन्स्योरेन्ससहित सञ्चालन प्रक्रियामा रहेका आइएमई लाइफ इन्स्यारेन्स र सिटिजन्स लाइफ इन्स्योरेन्समा समेत लगानी गर्ने भएका छन् ।

हुनतः बिमक दर्ता तथा बिमा व्यवसाय सञ्चालन सम्बन्धि निर्देशीका २०७३ ले एउटा कम्पनीमा एउटा व्यक्ति, कम्पनी वा एकाघर परिवारको १५ प्रतिशतभन्दा बढि लगानी हुन नपाउने व्यवस्था गरेको छ । तर एनबी इन्स्योरेन्समा आइएमई समूहको मात्रै ५७ प्रतिशत लगानी रहेको समूहले नै बताउँदै आएको थियो ।

समितिको ब्याख्या अनुसार “एकाघरको परिवार” भन्नाले सम्बन्धित व्यक्तिको बाबु, आमा, पति, पत्नी, छोरा, छोरी, धर्मपुत्र, धर्मपुत्री र आफैले पालन पोषण गर्नुपर्ने एकाघरमा बस्ने सौतेनी आमा, दाजु, भाइ, दिदी, बहिनी जनाउँछ । तर एनबीमा समूहभित्रका भनिएपनि एउटा व्यक्ति, कम्पनी वा एकाघर परिवार (दाजुभाई छुट्टिसकेको) को नरहने गरी लगानी भएको कम्पनीका लगानीकर्ता अम्बिका पौड्याल भन्छन् ।

आइएमइ समूहसँगै रहेपनि उनको कम्पनी हाथवे इन्भेष्टमेन्टको नाममा एनबी इन्स्योरेन्समा सेयर लगानी रहेको छ ।

‘बिमा कम्पनीहरुमा पहिले मारवाडी परिवारहरुको पकड रहेको थियो, ‘पारिवारिक ग्रिप’ लाई नयाँ व्यवस्थालेको तोडेको देखिएपनि नीतिगत छुटको लाभ उठाउदै एकभन्दा बढि कम्पनीमा समूहको आधारमा व्यवसायीहरुले आफ्नो पकडमा जमाइरहेका छन्,’ बजार स्रोतले भन्यो ।

यसअघि आइएइसँगै देखिएको प्रभु समूहले पनि आइएमइ लाइफमा लगानीको प्रस्ताव गरेको थियो । कम्पनीले हाल प्रभु इन्स्योरेन्समा लगानी गरेको छ ।

कम्पनीहरुले पहिले प्रस्ताव गरेका प्रवद्र्धकहरु फेरेर प्रक्रिया अगाडी बढाइरहेकोले बिमा समिति लगानीकर्तालाई तोकिएको सीमाभन्दा बढि रहने गरि दोहोरीन नदिने तयारीमा नै रहेको कार्की बताउछन् । तर, समूहको लगानीलाई रोक्न सक्ने गरि नीतिगत व्यवस्था नगरिएको कारण बिमा समितिले भनेझै वित्तीय स्वार्थ रोक्न समस्या हुन सक्ने देखिएको छ ।

के छ नीतिगत व्यवस्था ?

संस्थापकहरुले तत्काल चुक्ता गर्न कबुल गरेको पूँजी १५ प्रतिशत वा सोभन्दा बढि एउटै व्यक्ति, परिवार, संस्था वा समूहमा रहेमा सञ्चालकको रुपमा अयोग्य हुने पनि बिमक संस्थागत सुशासन सम्बन्धि निर्देशीका २०७३ मा उल्लेख छ ।

यो दुई व्यवस्थासँगै यी नीतिहरुको माध्यमबाट बिमा समितिले कुनै पनि व्यक्ति ,एकाघर परिवार वा संस्थाले जीवन वा निर्जीवन, कुनै एक एकै किसिमको बिमा व्यवसाय गर्ने दुई वटा कम्पनीमा लगानी गर्दा हरेकमा ०.९९ प्रतिशतभन्दा बढि लगानी गर्न नपाउने व्यवस्था गरेको छ । तर एउटै प्रकृतीको कुनै एक कम्पनीमामा लगानी गर्दा भने १४.९९ प्रतिशतसम्म लगानी गर्न सक्नेछन् ।

त्यस्तै, अलग अलग व्यवसाय गर्ने कम्पनी भएमा भने एउटामा १४.९९ प्रतिशतसम्म र अन्यमा ०.९९ प्रतिशतका दरले लगानी गर्न पाउने व्यवस्था समेत रहेको समितिका निमित्त कार्यकारी निर्देशक कार्की बताउछन् ।

यस आधारमा हेर्दा मानौं कुनै जीवन बिमा कम्पनीको कुनै व्यक्ति, संस्था वा एकाघर परिवारको १४.९९ प्रतिशतसम्म लगानी छ भने अर्को नीर्जिवन बिमा कम्पनीमा ०.९९ प्रतिशत लगानी गर्न पाउने भएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment