चर्चित हाँस्य कलाकार विल्सन विक्रम राइलाई नेपाल सरकारले ‘प्रवल जनसेवा श्री पदक’ प्रदान गरेको छ । राष्ट्रपति भवन शित्तल निवासमा आयोजित एक कार्यक्रममा कलाकार राइलाई राष्ट्रपति विद्यादेवी भण्डारीले यो पुरस्कार प्रदान गरेकी हुन् ।
गणतन्त्र दिवसको अबसर पारेर देशका विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तिहरुलाई नेपाल सरकारले राष्ट्रले प्रदान गर्ने उच्च सम्मान प्रदान गर्ने निर्णय केही समय अगाडि गरेको थियो ।
यो पुरस्कार पाएपछि विल्सनले आफ्नो अनुभव यसरी अनलाइनखबरसँग साटेका छन्ः
मैले यो पुरस्कार प्राप्त गर्न लागेको त केही समय अगाडि नै थाहा थियो । किनकी, पहिले नाम घोषणा गरेर त्यसको केही समयपछि पुरस्कार प्रदान गरिन्छ । तर, कार्यक्रम कहिले र कहाँ हुने भन्ने जानकारी रेडियो नेपाल, गोरखापत्र र नेपाल टेलिभिजनबाट दिइदोरहेछ ।
मलाई राष्ट्रपति ज्यूको हातबाट यो पुरस्कार प्रदान गरिदैछ भन्ने जानकारी नै थिएन । तर, फेसबुकमा केही सरकारी कर्मचारीहरुले पुरस्कार ग्रहण गर्न जान लागेको भन्दै तस्बिर पोष्ट गरेपछि मैले नी थाहा पाएँ ।
यसपछि, हतार-हतार गरेर म राष्ट्रपति भवन पुगेँ । पदक पाएपछि, राष्ट्रपति ज्यूलाई उहाँको सहयोगीले मेरो परिचय दिन लाग्नु भएको थियो । उहाँले भन्नुभयो-‘म उहाँलाई चिन्छु । टेलिभिजनमा धेरै पटक देखेकी छु । अझै जनतालाई हसाँउदै जानुहोला ।’
मलाई अहिले छुट्टै खालको महशुश भैरहेको छ । राम्रो काम गर्दा राज्यले पनि हेर्दोरहेछ भन्ने लागेको छ ।