Comments Add Comment

सार्वजनिक संस्थानमा सरकारले थप्यो २१ अर्ब ७३ लाख, पायो ७ अर्ब ८१ करोड लाभांश


१४ जेठ, काठमाडौं । सरकारी स्वामित्व रहेको सार्वजनिक संस्थानमा आव २०७२/७३ मा सरकारले २१ अर्ब ७३ लाख रकम थपेको छ । सरकारले ऋणको रुपमा यो लगानी थपेको हो । यससँगै सरकारको कुल ऋण लगानी १ खर्ब ३० अर्ब पुगेको छ । सरकारको यी क्षेत्रमा सेयर लगानी भने १ खर्ब ४३ अर्ब रहेको छ ।

सरकारले यी क्षेत्रबाट सो आवमा लाभांश वापत ७ अर्ब ८१ करोड रुपैयाँ पाएको छ । सरकारको लगानीको तुलनामा प्राप्त लाभांशका अनुपात ५.४ प्रतिशत रहेको छ ।

सरकारी संस्थानहरुमा औद्योगिक क्षेत्र, व्यापारिक र जनोपयोगी क्षेत्रको आम्दानी भने घटेको छ । औद्योगिक क्षेत्रका दुग्ध बिकास संस्थान, जडबुटी उत्पादन, हेटौंडा सिमेन्ट, नेपाल औषधि, उदयपुर सिमेन्ट र नेपाल ओरिण्ड म्याग्नेसाइडको सञ्चालन आम्दानी घटेर ६ अर्ब ४३ करोडमा सिमित भएको छ ।

यी क्षेत्रका कम्पनीको नाफा २४ करोड ७२ लाख रहेको छ । अघिल्लो वर्ष भने यी संस्थान ६० करोड ८९ लाख नोक्सानमा थियो ।

कृषि सामग्री कम्पनी, राष्ट्रिय बीउ बिजन कम्पनी, नेशनल ट्रेडिङ, नेपाल खाद्य संस्थान, नेपाल आयल निगम, टिम्बर कर्पोशन रहेको व्यापारिक क्षेत्रका कम्पनीको सञ्चालन आय २९ प्रतिशतले घटेर १ खर्ब ७ अर्बमा सिमित भएको छ । यी क्षेत्रका कम्पनीहरुको नाफा भने २७ प्रतिशतले बढेर १९ अर्ब २४ करोड पुगेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाल बायुसेवा निगम, औद्योगिक क्षेत्र व्यवस्थापन, नेपाल पारवहन तथा गोदाम व्यवस्था, राष्ट्रिय उत्पादकत्व तथा आर्थिक बिकास केन्द्र, नेपाल इञ्जिनियरिङ कन्सल्ट्यान्सी रहेको सेवा क्षेत्रका कम्पनीहरुको कुल सञ्चालन आर्जन १४ प्रतिशतले बढेर १४ अर्ब ५५ करोड पुगेको छ । यी कम्पनीहरुको कुल नाफा ६.१९ प्रतिशतले बढेर १ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ ।

साँस्कृतिक संस्थान, गोरखा पत्र संस्थान, जनक शिक्षा सामग्री, नेपाल टेलिभिजन र राष्ट्रिय आवास कम्पनी रहेको सामाजिक क्षेत्रका संस्थानहरुको सञ्चालन आम्दानी १४ प्रतिशतले बढेर १ अर्ब ६२ करोड पुगेको छ । यो क्षेत्रका कम्पनीहरुको नोक्सान १८ करोड भएको छ । यीनको सञ्चित नोक्सान २ अर्ब २४ करोड छ ।

नेपाल दुर सञ्चार कम्पनी, नेपाल विद्युत् प्राधिकरण, नेपाल खानेपानी संस्थान रहेको जनोपयोगी क्षेत्रको कुल सञ्चालन आम्दानी ४ प्रतिशत बढेर ७३ अर्ब ५ करोड छ । यो क्षेत्रका कम्पनीको खुद नाफा ४ अर्ब ३२ करोड पुगेको छ । नेपाल विद्युत् प्राधिकरणको नोक्सान ७९ प्रतिशत र खानेपानी संस्थानको ९९ प्रतिशतले नोक्सान बढेपछि यो क्षेत्रको नाफा भने घटेको छ ।

कृषि बिकास बैंक, राष्ट्रिय बिमा संस्थान, एनआइडीसी डेभलपमेन्ट बैंक, राष्ट्रिय वाणिज्य बैंक, निक्षेप तथा कर्जा सुरक्षण कोष, नेपाल आवास फाइनान्स, नेपाल स्टक एक्सचेन्ज, नागरिक लगानी कोष, नेपाल बैंक लिमिटेड, राष्ट्रिय बिमा कम्पनी र जलविद्युत् लगानी तथा बिकास कम्पनी रहेका वित्तीय क्षेत्रको सञ्चालन आम्दानी ९.५१ प्रतिशत बढेर ३७ अर्ब पुगेको छ । यी संस्थानहरुको नाफा भने ७७ करोडले बढेर ९ अर्ब ८० करोड पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment