Comments Add Comment

केशव स्थापितको महानगर चुनाव अनुभवः केपी ओली म भन्दा पनि ‘भूत’ रहेछन्

'विद्या सुन्दरलाई सफल बनाउन लाग्छु, काठमाडौं स्मार्ट सिटी हुनेछ'

१४ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा एमालेका विद्यासुन्दर शाक्यले फराकिलो मतान्तरसहित जित हासिल गरेपछि निर्वाचनपूर्व सोही पार्टीबाट अर्का बलिया प्रत्यासी मानिएका केशव स्थापित सबैभन्दा खुशी छन् ।

विद्यासुन्दरको चुनावी सारथी बनेका काठमाडौंका पूर्व मेयर स्थापितले चुनावअघि आफूले तयार पारेको स्मार्ट सिटीको नक्सा अब महानगरको साझा सम्पत्ति भएको समेत बताएका छन् ।

निर्वाचनपूर्व उनले भनेकै थिए, ‘१८ देखि २० हजार मतले एमाले जित्नेछ ।’

उनी तिनै व्यक्ति हुन्, जसले अहिलेको भन्दा आधा मतदाता भएको ०५४ को स्थानीय निर्वाचनमा एमालेको तर्फबाट ८३ हजार ८ सय मतका साथ जित हासिल गरेका थिए । त्यो बेला स्थापितले निकटतम प्रतिद्वन्द्वी कांग्रेसका मनमोहन भट्टराईलाई उनले ४० हजारको फराकिलो अन्तरमा जितेका थिए ।

‘मान्छेहरुलाई परिणाममा एमाले फराकिलो भोटले जितेको सुन्न त रमाइलो भयो होला, तर यो परिणामका लागि कुन दुःख भयो, त्यो हामीलाई मात्र थाहा छ’, स्थापितले अनलाइनखबरसँग भने, ‘त्यसैले मलाई लागिरहेको छ, यत्तिका भोट ल्याएर विद्यासुन्दर हैन, म आफैँ जितिरहेको छु, आनन्द लागेको छ ।’

काठमाडौंमा एमालेले पाइलैपिच्छे चुनौती सामना गर्नुपरेको उनले सुनाए । पवित्र बज्राचार्य, सुभानकुमार श्रेष्ठजस्ता काठमाडौं एमालेका रैथाने हस्ती तथा विद्यासुन्दरका समकक्षी वडाध्यक्षहरु संघीय समाजवादीबाट चुनावमा उठेका थिए ।

स्थापितले भने-उनीहरु जहाँ-जहाँका बासिन्दा हुन्, एमालेको भोट बैंक त्यहीँ-त्यहीँ । त्यसमध्ये सुभानसँग खासै भोट थिएन । तर, हामीले त्यहाँभित्र धेरै मेहनत गर्नुपर्‍यो ।

संघीय र नयाँशक्तिका साझा उम्मेदवार पवित्र बज्राचार्यले काठमाडौंबासीले पहिचान बुझ्न नसकेको भन्दै आफूले थोरै मत पाएकोमा असन्तुष्टि व्यक्त गरिरहेका छन् । तर स्थापितले पवित्रले पाएको भोटप्रति आश्चर्य व्यक्त गरेका छन् ।

‘संगठनका दृष्टिले काठमाडौंमा एमाले अस्तव्यस्त छ भनिन्थ्यो । विगतको तुलनामा हेर्दो हो पनि रहेछ । तर, एमाले त गुटको कारणले मात्र यताउति भएको रहेछ, संगठनचाहिँ जहाँतहीँ उस्तै, उत्तिकै थियो’ उनले भने ।

एमालेले चुनावमा गुट बिर्सिएका कारण अहिलेको परिणाम सम्भव भएको उनले दाबी गरे । उनले भने, ‘शंकर पोखरेलसहित म, कृष्णगोपाल, जीवनराम श्रेष्ठ , सानु श्रेष्ठ, विद्यासुन्दर सबै एकैचोटि भोट माग्न हिँडेको देख्दा मान्छेहरुले चकित खाए । त्यसमाथि संघीय समाजवादीको केन्द्रीय सदस्य छोडेर सानुराजा शाक्य आइदिएपछि कुरा काट्नेहरुको मुखै बन्द ।’

काठमाडौंमा एमालेको बिगि्रएका केही ठाउँहरु बनाउँदै र नयाँ बनेका ठाउँहरु सुरक्षित गर्दै अघि बढ्ने रणनीति प्रयोग गरिएको उनले बताए । यी सबै कामका लागि पार्टी अध्यक्ष केपी ओलीको निरन्तरको चासो र जिज्ञासा मुख्य आधार बनेको उनले बताए ।

स्थापितले भने, ‘म आफूलाई चुनावको भूत मान्थेँ, रातदिन नभनी खट्ने । म भन्दा भूत त केपी कमरेड पो हुनुहुँदोरहेछ, बिहानै सोध्या छ, दिउँसै सोध्या छ, राति पनि सोध्या छ, सुत्ने बेलामा पनि ए केशव कहाँ भनेर फोन गर्न भ्याएकै छन् ।’

टेलिफोन कुराकानी भइरहँदा विजय सभामा जान हतारिएका उनले भने-अब हामीले गर्ने भनी घोषणा गरेका कामहरु योजनाबद्ध रुपमा हुन्छन् । सबै काममा म आफैँ पनि लागेर विद्यासुन्दरलाई सफल बनाउनुछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment