Comments Add Comment

पोखराका मेयर जीसीले सम्हाले कार्यभार, वृद्धभत्ता २ सय थप

पोखरा लेखनाथ महानगरपालिका प्रमुख मानबहादुर जीसी । तस्वीर: उमेश पुन/अनलाइनखबर

१४ जेठ, पोखरा । पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसी र उपप्रमुख मञ्जु गुरुङले आइतबार पदभार ग्रहण गरेका छन् । जिविस सभाहलमा सपथ खाएका मेयर जिसी र उपमेयर गुरुङले सपथ खाएलगत्तै महानगरपालिका कार्यालयस्थित आफ्नो कार्यकक्षमा पुगेर कार्यभार सम्हालेका हुन् ।

नवनिर्वाचित मेयर जिसीले ३ वटा निर्णय पुस्तिकामा हस्ताक्षर गरेर आफ्नो कामको थालनी गरेका छन् । उनले पोखरा लेखनाथ महानगरपालिकाका सेवाग्राहीलाई छिटो छरितो र झञ्झटमुक्त बनाउने पहिलो निर्णयमा हस्ताक्षर गरेर कामको शुरुवात गरे ।

त्यसपछि सरकारले दिँदै आएको सामाजिक सुरक्षा भत्ता अन्तर्गत जेष्ठ नागरिक भत्ता (वृद्धभत्ता) मा पाइआएको रकममा पोखरा लेखनाथ महानगरबासीमा रहेका जेष्ठ नागरिकलाई दश प्रतिशत थपेर दिने दोश्रो निर्णयमा हस्ताक्षर गरे । त्यसलगत्तै उनले महिला हिंसाबाट प्रताडित महिलाहरुलाई निःशुल्क कानूनी परामर्श दिने निर्णयमा हस्ताक्षर गरे ।

निर्णय पुस्तिकामा हस्ताक्षरपछि पत्रकारसँग कुरा गर्दै  उनले आफूले घोषणापत्रमा उल्लेख गरेका कुरा अक्षरशः पालना गर्ने प्रतिबद्धता जनाए । उनले समृद्ध र सुखी महानगर बनाउने आफ्नो सपना भएको बताउँदै त्यो पूरा गर्न राजनीतिक दल, नागरिक समाज, पत्रकारसहित सर्वसाधारणको समेत सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे ।

शुरुमा प्रतिबद्धताबाट प्रतिक्रिया दिन शुरु गरेका जिसीले त्यसपछि भने निर्णयमा भएका कुरालाई प्रष्ट्याउने प्रयास गरे । उनले दश दिन भित्रमा झञ्झटिलो प्रक्रियालाई सरल बनाउने निर्णय मंगलबारबाटै शुरु हुने उद्घोष गरे ।

उनले भने, ‘दश दिनमा पूर्णरुपमा लागू हुन्छ भनेको हो, तर यो मंगलबार बाटै शुरु हुन्छ ।’

सोमबार गणतन्त्र दिवसको बिदा परेकाले मंगलबारबाट यो लागु हुने प्रष्ट पार्दै उनले भने, ‘सेवाग्राहीलाई अबदेखि हुने कामलाई हुने र नहुने कामलाई यो कारणले नहुने हो भनेर प्रष्ट पार्छौं ।’

उनले सेवाग्राहीलाई सरल र सहज बनाउन प्रविधिको उच्चतम प्रयोग गर्नेपनि बताए । त्यस्तै उनले सामाजिक सुरक्षा भत्ता अन्तर्गत जेष्ठ नागरिकलाई सरकारले दिने २ हजार रुपैयाँमा महानगरको तर्फबाट २ सय थपेर २ हजार २ सय प्रदान गर्ने प्रष्ट्याए ।

यसैगरी महिला हिंसामा परेकालाई महानगरपालिकामा निःशुल्क कानूनी परामर्श उपलब्ध गराएर पीडकलाई कार्वाही गर्ने वातावरण निर्माण गर्ने बताए ।

पोखरा लेखनाथ महानगरपालिकाकी उपप्रमुख मञ्जु गुरुङ । तस्वीर: उमेश पुन/अनलाइनखबर

 

यसैबीच, बृद्धभत्तामा दश प्रतिशत थप्ने निर्णयले महानगरपालिकालाई प्रति महिना २६ लाख २१ हजार ४ सय रुपैयाँ ब्ययभार थपिने भएको छ । पोखरा लेखनाथ महानगरपालिकाका १३ हजार ७ सय १ जनाले बृद्धभत्ता बुझ्दै आएको महानगरपालिकाका प्रवक्ता अनन्त कोइरालाले जानकारी दिए । उनीहरुलाई जनही २ सय रुपैयाँ थप्दा सो रकम बराबरको ब्ययभार पर्ने देखिएको हो ।

यसअघि जिल्ला विकास समिति कार्यालयको सभाहलमा एक औपचारिक कार्यक्रमकाबीच पोखरा लेखनाथ महानगरपालिकाका मेयर, उपमेयर, वडाध्यक्षसहित सबै सदस्यहरुले सपथ खाएका थिए । मुख्य निर्वाचन अधिकृत नागेन्द्रलाल कर्णले शुरुमा मेयरलाई, त्यसपछि उपमेयर र वडाध्यक्ष तथा सदस्यहरुलाई पालैपालो सपथ खुवाएका हुन् ।

सो अवसरमा महानगरपालिकाका कार्यकारी अधिकृत दीर्घनारायण पौडेलसहितका कर्मचारीले जिसी र गुरुङलाई फूलमाला लगाइदिएर स्वागत गरेका थिए ।

प्रमुख जीसी र उपप्रमुख गुरुङले महानगरपालिका परिसरमा वृक्षारोपणसमेत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment