Comments Add Comment

रेणु दाहाल भन्छिन्- मैले जित्न लागेपछि एमालेका साथीहरु आत्तिनुभयो

देवी ज्ञवाली भन्छन्- माओवादीले हार्ने निश्चित भएपछि मतपत्र च्यातियो

१५ जेठ, काठमाडौं । भरतपुर महानगरपालिकाको मतगणनास्थलमा मध्यराति भएको घटनालाई लिएर एमाले र माओवादी उम्मेदवारका भिन्नाभिन्नै प्रतिक्रिया बाहिर आएका छन् ।

माओवादीले हार्ने निश्चित भएपछि मतपत्र च्यातेको एमाले उम्मदेवार देवी ज्ञवालीले आरोप लगाएका छन् भने माओवादी उम्मेदवार रेणु दाहालले मतान्तर घट्दै गएका बेला एमालेका कार्यकर्ताले षडयन्त्र गरेको आरोप लगाएकी छिन् ।

‘बदर मतको संख्यामा विवाद भयो र झडपजस्तै स्थिति आयो, त्यसपछि मतपत्र च्यात्ने काम भयो,’ माओवादी उम्मदेवार रेणुले अनलाइनखबरसँग भनिन्-‘मैले जित्ने अवस्था आउन थालेपछि एमालेका साथीहरु आत्तिनुभएको थियो, के गरौं कसो गरौं भनेर बाहना खोजिरहनुभएको थियो ।’

मतगणनास्थलबाट माओवादी कार्यकर्तामात्रै नभई एमालेका कार्यकर्ताहरु पनि पक्राउ परेको रेणुले बताइन् । आफूले चुनाव जित्न लागेपछि एमालेबाटै षडयन्त्र गरिएको र त्यसको दोष माओवादीलाई लगाइएको रेणुले आरोप लगाइन् ।

निर्वाचनको प्रक्रियामा आइसकेपछि हार वा जित जे भए पनि आफूले स्वीकार्ने बताउँदै उनले मतपत्र च्यात्ने माओवादीको कुनै योजना वा कारण नरहेको दाबी गरिन् । तर, आफूले जित्नै लागेका बेला हराउनका लागि एमालेबाट विवाद सिर्जना गरिएको उनको आरोप छ ।

देवी ज्ञवाली भन्छन्- माओवादीले हार्ने निश्चित भएपछि मतपत्र च्यातियो

आफूले जित्न लागेका बेला मतपत्र च्यातिएको रेणु दाहालले बताइरहँदा एमाले उम्मदेवार देवी ज्ञवालीले चाँहि माओवादीले हार्न लागेपछि मतपत्र च्यातिएको दाबी गरेका छन् ।

माओवादी उम्मदेवार रेणु दाहाल र देवी ज्ञवालीवीचको मतान्तर ७ सयमा झरेको थियो । अग्रता ज्ञवालीले लिइरहेको भए पनि रेणुले यो मतान्तर घटाउँदै लगिरहेकी थिइन् । वडा नम्बर १९ र २० मा मतगणना हुन बाँकी थियो । जहाँ कांग्रेस- माओवादी गठबन्धनले बढी मत पाउने सत्तापक्षको अनुमान थियो भने १९ नम्बर वडामा आफ्नो राम्रो मत आउने एमालेको दाबी थियो ।

एमाले उम्मेदवार ज्ञवालीले राति मतगणनास्थलबाट पत्रकारहरुलाई दिएको प्रतिक्रियामा भनेका छन्- ‘हार्ने निश्चित भइसकेपछि योजनावद्ध ढंगले मतपत्र च्यातिएको छ र राज्य सत्ताको दुरुपयोग गरिएको छ ।’

(यो पनि पढ्नुहोस्- माओवादी हार्ने निश्चित भएपछि योजनाबद्ध ढंगले मतपत्र च्यातियोः देबी ज्ञवाली)

प्रहरीले मतगणना स्थलबाट दुईजना माओवादी कार्यकर्ता र एकजना एमाले कार्यकर्तालाई पक्राउ गरेको छ । पक्राउ परेका माओवादी कार्यकर्ताले मतपत्र च्यातेको प्रहरीको भनाइ छ । तर, माओवादी कार्यकर्ताहरुले मतपत्र च्यातेको बताइरहँदा निर्वाचन अधिकृतले भने आफू पिसाब फेर्न गएका बेला मतपत्र च्यातिएको हुनाले कसले च्यातेको स्पष्ट बन्न नसक्ने प्रतिक्रिया दिएका छन् ।

एमाले, माओवादी, प्रहरी र निर्वाचन अधिकृतको फरक प्रतिक्रियाका कारण यो विषय निकै जटिल अवस्थामा पुगेको छ ।

अब भरतपुरको १९ नम्बर वडामा पुनः चुनाव हुन्छ या च्यातिएको मतपत्रलाई जोडेर पुनः मतगणना गरिन्छ भन्ने अन्योलको अवस्था सिर्जना भएको छ ।

यो पनि पढ्नुहोस्

मुख्य निर्वाचन अधिकृतले भने– छानबिन समिति बनाउँछौं

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment