Comments Add Comment

मानपदवीमा भागशान्ति ! पहुँचवालालाई पदक (सूचीसहित)

१५ जेठ, काठमाडौं । सत्तारुढ दलहरुबीच भागवण्डा गरेर सरकारले मानपदवी प्रदान गर्ने निर्णय गरेको छ । अलंकार र पदक पाउनेको सूचीमा पनि पहुँचवाला नै हाबी भएका छन् ।

गणतन्त्र दिवस ०७४ को अवसर पारेर ५१४ जनालाई विभिन्न मानपदवी, अलंकार र पदक प्रदान गर्ने निर्णय भएको छ ।

यो वर्ष दुई ठूला पदक कांग्रेसका नेताहरुलाई मरणोपरान्त प्रदान गरिने भएको छ । नेपालको सर्वोच्च विभुषण प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालालाई मरणोपरान्त प्रदान गरिने भएको छ । उनी कांग्रेसका संस्थापक नेता हुन् ।

राष्ट्रगौरव मानपदवी मरणोपरान्त महेन्द्रनारायण निधिलाई प्रदान गरिने भएको छ । उनी नेपाली कांग्रेसका नेता एवं वर्तमान उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिका पिता हुन् ।

गत वर्ष केपी शर्मा ओली नेतृत्वको सरकारले नेपाल रत्न मरणोपरान्त मदन भण्डारीलाई प्रदान गर्ने निर्णय गरेको थियो । उनी एमालेका तत्कालीन महासचिव हुन् । कांग्रेस र एमाले सरकारले राष्ट्रगौरव मानपदवी कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालालाई मरणोपरान्त र एमाले नेता समेत रहेका तत्कालीन संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई प्रदान गरिएको थियो ।

यो वर्ष महाउज्ज्जल राष्ट्रदीप मानपदवी ५ जनालाई प्रदान गर्ने निर्णय भएको छ, जसमा कांग्रेसका दुई दिवंगत नेता छन् । कांग्रेसकी नेतृ स्व. नोना कोइराला, स्व. शेख इद्रिसलाई प्रदान गर्ने निर्णय भएको छ । यस्तै माओवादीका नेताहरु अमिक शेरचन र बर्मन बुढासँगै स्व. रामकुमारी यादवलाई महाउज्ज्जल राष्ट्रदीप मानपदवी प्रदान गर्ने निर्णय सरकारले गरेको छ ।

यो वर्ष प्रसिद्ध प्रवलजनसेवाश्री मानपदवी ८ जनालाई प्रदान गर्ने निर्णय भएको छ । रोचक त के छ भने मानपदवी, अलंकार र पदक पाउनेको सूची बनाउने गृहसचिव लोकदर्शन रेग्मी र अनुमोदन गराउने मुख्य सचिव सोमलाल सुवेदी दुबैको नाम प्रसिद्ध प्रवलजनसेवाश्री पदक पाउनेको सूचीमा छ ।

सुप्रबल जनसेवाश्री मानपदवी पाउनेहरुमा धेरै राष्ट्रसेवक कर्मचारीका साथै सुरक्षा निकायका उच्च पदाधिकारी पनि छन् । प्रधानमन्त्री प्रचण्डका पुत्र प्रकाश दाहाललाई पनि चितवनका समाजसेवीका रुपमा यो मानपदवी प्रदान गरिने भएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यदेखि माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपालका अध्यक्ष महेश्वर दाहाल, पत्रकार महासंघका पूर्वमहासचिव ओम शर्मालाई पनि प्रवल जनसेवाश्री प्रदान गर्ने निर्णय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment