Comments Add Comment

लिन्न भन्दाभन्दै मानपदवी ! झलक सुवेदीले गरे पदक बहिस्कार

१५ जेठ, काठमाडौं । सरकारका मुख्यसचिव सोमलाल सुवेदीले राजनीतिक विश्लेषक झलक सुवेदीलाई टेलिफोन गरेर भने- ‘दाइ तपाईको नाम सुप्रबल जनसेवाश्री मानपदवीका लागि सिफारिस गरिएको छ है ।’

लेखक सुवेदीले मुख्यसचिवलाई जवाफ दिए- ‘भाइ मलाई मानपदवी दिने निर्णय नगरियोस्, पछि अस्वीकार गर्ने निर्णय सार्वजनिक गर्दा सरकारलाई अप्ठ्यारो होला, विवाद आउला । मलाई यस्तो पदक चाहिएको छैन ।’

यति सम्वाद भइसकेपछि मानपदवी पाउने सूचीबाट आफ्नो नाम हट्यो होला भन्नेमा विश्लेषक सुवेदी ढुक्क थिए ।

तर, सोमबार बिहानै उनलाई पोखराबाट साथीको फोन आयो- ‘पदक पाउनुभएछ, झलकजीलाई बधाइ छ !’

साथीमार्फत यस्तो सुन्नासाथ सामाजिक सञ्जालमार्फत सुवेदीले पदक अस्वीकार गर्ने सार्वजनिक घोषणा गरेका छन् । नलिने भन्दाभन्दै पदक पाउने सूचीमा आफूलाई पारेर सरकारले अपमानित गरेको सुवेदीको गुनासो छ ।

गणतन्त्र दिवस ०७४ को अवसर पारेर सरकारले ५१४ जनालाई विभिन्न मानपदवी, अलंकार र पदक प्रदान गर्ने निर्णय गरेको छ । जसमा जनसेवाश्री मानपदवी पाउनेहरुको सूचीमा कास्कीका झलक सुवेदीको नाम पनि छ ।

तर, सुवेदीले ‘आफ्नो नाम गरेकाले मापदवी पाएको सुनेको’ भन्दै प्रतिक्रिया दिएका छन्- ‘मलाई दिइएको हो भने म त्यस्तो पदक अस्वीकार गर्छु ।’

सरकारको यो कदमले आफ्नो सम्मान नभई अपमान भएको उनले बताए । राजनीतिक विश्लेषक सुवेदीले ट्वीट गर्दै भनेका छन्, ‘सामन्ती संस्कृतिको यो पराम्पराप्रति विरोध छ । यसको परम्परा, संस्कृति, छनोट मापदण्ड सबैप्रति मेरो असहमति छ । यसलाई सम्मान होइन, सार्वजनिक अपमान ठान्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment