Comments Add Comment

भरतपुरमा पुनः मतदान कि गणना ? के छ कानुनी व्यवस्था ?

१५ जेठ, काठमाडौं । मतगणना अन्तिम चरणमा पुगेको बेला मतपत्र च्यातिएपछि भरतपुर महानगरको मतगणना रोकिएको छ । मतपत्र कसले च्यात्यो भन्नेमा एमाले र माओवादीले एक अर्कालाई आरोप लगाएका छन् ।

तर, चितवनका प्रहरी प्रमुखले माओवादी कार्यकर्ता द्रोण शिवाकोटीले मतपत्र च्यातेको बताएका छन् । यसबारे सथ्यतथ्य छानविन होला नै । तर, अब पुनःमतगणना कि मतदान भन्ने बहस सुरु भएको छ ।

नेकपा एमालेले च्यातिएका मतपत्रहरुलाई एकातिर राखेर पुनः मतगणना सुरु गर्नुपर्ने माग राखेको छ । तालमेल गरेका नेपाली कांग्रेस र माओवादी केन्द्रले वडा. नम्बर १९ मा पुनः मतदान गर्नु पर्ने माग अघि सारेको छ ।

यसबारे निर्वाचन आयोगले कुनै निर्णय गरिसकेको छैन ।

यसबारे स्थानीय तह निर्वाचन ऐन २०७३ मा के व्यवस्था छ त ? ऐनको ४९ मा मतगणना हुन हुनुअघि मतपत्र नोक्सान भएमा के गर्ने भन्ने व्यवस्था छ ।

मतदान पूरा हुनुभन्दा पहिले कुनै मतदान केन्द्रमा प्रयोग भएको मतपत्र, मतपेटिका निर्वाचन अधिकृतको नियन्त्रणबाट गैरकानुनी तवरले अन्यत्र लगिए, खोलिए, नोक्सान वा तोडफोड, हराए वा दुर्घटनावश नोक्सान गरिए निर्वाचन अधिकृतले मतगणना स्थगित गरेर निर्वाचन आयोगलाई प्रतिवेदन दिनु पर्नेछ भनिएको छ ।

साथै यसरी मतगणना स्थगित भएपछि त्यस्तो मतदान केन्द्रको सम्पूर्ण मतदान अवैध घोषणा गर्ने र पुनः मतदान गर्ने ऐनको व्यवस्था छ ।

यस्तै ऐनको दफा ५० मा मतगणना स्थल अनाधिकृत रुपमा कब्जा गरिए के गर्ने भन्ने व्यवस्था छ । यसमा कसैले बल प्रयोग वा डरधम्की देखानएर मतगणना स्थल कब्जा गरी गणना प्रभावित गरे वा निर्वाचन अधिकृतलाई काम गर्न नदिए, मतपत्र, मतपेटिका लगयतका सामाग्री खोसेमा मतगणना स्थगित गर्नु पर्ने र निर्वाचन अधिकृतले निर्वाचन आयोगलाई तुरुन्त प्रतिवेदन बुझाउनुपर्ने उल्लेख छ ।

भरतपुरमा मतगणना मध्यरातमा नै रोकिएको छ । निर्वाचन अधिकृतले आफू शौचालय जाँदा मतपत्र च्यातिएको र आउँदा रणभूमि जस्तो भएको बताएका छन् । उनले कति मतपत्र च्यातिएको हो समेत भनेका छ्रन् । उनले शायद त्यही रिपोर्ट निर्वाचन आयोगमा पठाएका छन् ।

यसबारे आयोगले निर्णय गर्न बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment