Comments Add Comment

धेरै बोल्यौं अब काम गरेर देखाउने बेला आयो

रञ्जु दर्शना र किशोर थापाले पाएको मतले चकित छु

विद्यासुन्द्यर शाक्य, मेयर काठमाडौं

१५ जेठ, काठमाडौं । महानगरपालिकाको मेयरमा निर्वाचित भइसकेपछि विद्यासुन्दर शाक्य अब चुनौतीको पहाड कसरी पार गर्ने भन्ने चिन्तनमा छन् । विपक्षीलाई ठूलो मतान्तरमा पराजित गरेपछि उनी अब आफ्ना सबै प्रतिद्वन्द्वीहरुलाई समेटेर महानगर बनाउने अभियानको अगुवाइ गर्दैछन् ।

वडाध्यक्षबाट एकैपटक मेयरमा पुगेका शाक्य चुनाव परिणामबारे के सोच्दैछन् ? अब उनको एक्सन के हुन्छ ? हामीले नवनिर्वाचित मेयरसँग प्रश्नोत्तर गरेका छौंः

जुन मतान्तरसहित काठमाडौंको मेयरमा निर्वाचित हुनुभयो, यो मत अपेक्षित थियो कि थिएन ?

हामीले उम्मेदवारी घोषणा गरेर जनतामा जाँदै यो परिणामको अपेक्षा गरेकै हो । मैले यो मतपरिणामलाई स्वाभाविक रुपमा लिएको छु । हामीले जे अनुमान गरेको हो, त्यही नै भयो । उम्मेदवार बनिसकेपछि नै मलाई महानगरबासी धेरैले अगि्रम बधाइ दिइसकेका थिए ।

चुनाव परिचालनका क्रममा हाम्रा पूर्वमेयर चुनावी कमाण्डर मध्येका एक केशव स्थापितले १८ देखि २० हजारको मतान्तरमा जित्ने प्रक्षेपण पनि गर्नुभएको थियो । लगभग त्यही नै भयो । नेकपा एमालेले लिएको नीति र अडानलाई जनताले यसपटक अनुमोदन गर्नेछन् भन्ने हामीले अनुमान लगाएकै थियौं । हाम्रो पार्टी ढुक्क थियो, म पनि ढुक्क थिएँ ।

मेयर जितिसकेपछि यसको श्रेय कसलाई दिनुहुन्छ ?

स्वाभाविकरुपमा यसको श्रेय महानगरबासी जनता र मतादातालाई नै दिन्छु । सिंगो पार्टी नेतृत्व, जिल्ला कमिटी, सबै शाखा कमिटीहरु, नेता-कार्यकर्ता सबैले यसको श्रेय पाउने नै भए । उम्मेदवार घोषणादेखि नै हाम्रो पार्टीमा कुनै विवाद र असन्तुष्टि रहेनन् । महानगरबासीले पनि रुचाए । रुचाएको उम्मेदवार भेटियो भन्ने जनताले भनेकै हुन् ।

काठमाडौं महानगरपालिकाभित्र ९ निर्वाचन क्षेत्र छन्, ७ जना सांसद कांग्रेसले जितेको छ, यस्तो ठाउँमा जित हासिल हुनुमा नेगेटिभ भोटिङले काम गरेको हो ?

अब यो कुरा त मैले कसरी भन्ने ? कांग्रेसले जुन भोट पाएको हो, त्यो नै उसको भोट हो । कांग्रेसको भोट हामीतिर आउने त होइन । हामीले हाम्रो भोट बढाएको हो ।

मुख्य कुरा त पार्टी एक ढिक्का भयो । म हानगरबासीसँग म लामो समयदेखि सहकार्यमा छु । वडाध्यक्ष हुँदा वा नहुदा, महानगरको संयन्त्रमा रहँदा पनि मैले महानगरबासीसँग काम गरेँ । म पार्टी सचिव भएर महानगरबासीसँग सक्रियताका साथ सहयोगमा थिएँ । पार्टीको आफ्नो संगठनको वल र स्वतन्त्र खालका मतदाता पनि हाम्रो जितको आधार हुन् ।

तर, तपाईले १९ हजारभन्दा बढी मतान्तरले जित्दा पनि तपाईका उपमेयर राप्रपाका राजाराम श्रेष्ठलाई जिताउन सक्नुभएन, आफ्नै उम्मेदवार उठाउन पाएको भए हुने रहेछ भन्ने लाग्दैन ?

अब यो कुरा सोचेर भएन । पार्टीले एउटा राष्ट्रिय एजेण्डालाई हेरेर माथिल्लो तहमै सहकार्य गरेको हो । महानगरपालिकाभित्र पनि हामीले त्यो सहमति पालना गरेका हौं । मतदाताको घरमा हामीले दोहोर्‍याएर कार्यकर्ता पठाएको हो ।

तर त्यसअघि नै नमूना मतपत्र छापेर हामीले सात सूर्य सात छाप भनेर पठाएका थियौं । पछि राप्रपालाई उपमेयर दिएपछि घरदैलामो पठाउन अलि ढिला भयो । कसैले सात सूर्यमा मत हालेर गाईमा हालेको पनि छ । कतिपय झुक्किएर धेरै मत बदर भएको छ । यदि बदर नहुने हो भने मैले पाएको भन्दा बढी मत हाम्रो पनि उम्मेदवार राप्रपाको उम्मेदवार राजाराम श्रेष्ठले पाउनु हुने थियो । हामीले शुरुकै उम्मेदवारी दर्ताको दिनदेखि नै इमान्दारीपूर्वक गरेको हो । तर, बदर मत धेरै भएकाले हामीले जिताउन सकेनौं धेरै दुःख लागेको छ ।

रन्जु दर्शना र किशोर थापाले जुन मत पाएर तेस्रो र चौथो स्थान बनाउनुभयो, यसलाई कसरी लिनुभएको छ ?

मलाई आश्चर्य लागेको छ । हिजो उम्मेदारी दर्ता गरिसकेपछि उहाँहरुको नाम आउदा अहिले उहाँहरुले यति मत ल्याउनुहोला भन्ने सोचेको थिएन । म आश्चर्यचकित भएको छु,उहाँहरुको पक्षमा यत्रो मत आउँदा ।

मैले र मेरो पार्टीले उहाँहरुले यति भोट ल्याउनुहोला भन्ने अपेक्षा गरेका थिएनौं । सायद उहाँहरुले पनि सोच्नुभएको थिएन होला, यति मत आउँछ भनेर । जनमत उहाँहरुले पनि पाउनुभएको छ, त्यसलाई सम्मान गर्छु । उहाँहरुले मैले सोचेभन्दा धेरै मत ल्याउनुभयो, अब ती मतको संरक्षण गर्ने पनि मैले हो । उहाँहरुलाई पनि समेटेर उहाहरुको साथ लिएर अघि बढ्नेछु ।

हिजोसम्म एमालेको मात्र उम्मेदार थिएँ, अब जितिसकेपछि म साझा भएँ । अन्य पार्टीको पनि साझा निर्वाचित मेयर भएँ । हिजो मतदातालाई मात्र फोकस गरेको हो चुनावमा जाँदा । अब सिंगो महानगरबासीलाई फोकस गर्ने हो । जो जो पराजित भए सबैसँग सहकार्य गरेर अघि बढ्नेछु । मैले पराजित साथीहरुलाई पनि लिएर उहाँहरुको मतको सम्मान गर्दै अघि बढेँ भने अर्को चुनावमा उहाँहरुलाई अहिले मत दिएका मतदाताले हामीलाई रोज्नेछन् ।

महानगरको मेयर जित्दै गर्दा कत्तिको नर्भस हुनुहुन्छ ?

नर्भस त त्यस्तो छैन । किनकि हिजो पनि मैले महानगरका विभिन्न तहमा रहेर काम गरेकै हो । महानगरका सम्पूर्ण कर्मचारीसँग व्यक्तिगतरुपमै परिचित छु । चुनावको दौरानमा पनि कर्मचारी साथीहरुले मलाई माया गर्नुभयो । अब महानगर त्यसमा पनि काठमाडौंको मेयर हुँदै गर्दा चुनौति धेरै छन् । अहिलेको मात्र अधिकार प्रयोग गर्नका लागि त सामान्य हो । तर, संविधानले जुन परिकल्पना गरेको छ, महानगरको त्यसलाई कार्यन्वयन गर्नु ठूलो चुनौति छ । तर, चुनौति पार गरिन्छ भन्नेमा ढुक्क छु ।

मेयर निर्वाचित भएपछि अब पहिलो काम केबाट शुरु गर्ने सोच बनाउनुभएको छ ?

अब कामको चाङ लागिसकेका छन् । हामीले जनताबीच जुन प्रतिबद्धता व्यक्त गरेका छौं, एक एक गर्दै पूरा हुनेछ । हामीले धेरै बोलिसकेका छौं अब काम गरेर देखाउने पालो आएको छ । अब प्राथमिकताका आधारमा के-के काम गर्ने भन्ने सल्लाह गर्दैछौं । कर्मचारी मित्रहरुसँग बसेर सरसल्लाह लिनेछु । तपाईहरुले केही दिनमै देख्नुहुनेछ कामको परिणाम । तपाईहरुले महशुस गर्ने गरी काम अघि बढ्नेछु, म विश्वास दिलाउछु ।

महानगरको अवस्था देख्नुभएको छ, यो दुर्दशाबाट कहिले मुक्ति पाइएला ?

महानगरपालिकाको अवस्थाा सबैले देखेको छ । यो मेयर एक्लैले वा महानगरपालिकालेमात्र आजको भोलि कायापलट गर्ने कुरा होइन । सरकारसँग र महानगरबासीसँग सहकार्यमा हुने हो । महानगरलाई सफा सुन्दर बनाउने हाम्रँे जुन योजना छ त्यो कार्यान्वयनमा जानेछौं । चुनाव जित्नुअघि हामीले कामको लिष्ट बनाएका छौं,अब त्यसलाई कार्यान्वयनमा लैजाने हो । हामी एकपछि अर्को काम पूरा गर्छाै ।

महानगरपालिकामा विगत १५ वर्षदेखि जनप्रतिनिधि भएनन्, अब १५ वर्षपछि जनताले फरक अनुभूत गर्न पाउलान् ?

अबश्य पनि जनताले जनप्रतिनिधि हुँदा र नहुँको फरक महशुस गर्नेछन् । हामी जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्छ । कर्मचारी भनेको हाकिमसँग उत्तरदायी भएपुग्छ । हामीले ५ वर्ष गर्ने कामले अर्को पटकको आधार तय गर्छ । यदि मैले राम्रो काम गर्न सकिने भने म मात्र होइन एमाले बद्नाम हुन्छ । मैले अब हामीले गरेको प्रतिबद्धता र पार्टीको घोषणा कार्यन्वयन गर्दै अघि बढ्ने हो । मैले आफ्नो इतिहास बनाउने र एमालेको प्रतिष्ठालाई पनि माथि उठाउछु अनि महानगरलाई गर्व गर्न लायक शहर बनाउनेछु ।

चुनावका बेला मोनो रेल र मेट्रो रेलको नारा निकै चल्यो, अब त व्यवहारमा देखाउनुपर्ला नि ?

हामीले मोनो रेल, मेट्रो रेल, स्मार्ट सिटीको कुरा चुनावी खपतका लागि मात्र गरेको होइन । यो सम्भव छ, हाम्रै पालामा भनेर ल्याएको हो । हामीले बोलिसकेका छौं । सबैभन्दा पहिले यो भिजन एमालेलो ल्याउँदा धेरैले हावादारी कुरा भनेर उडाए ।

हाम्रो अध्यक्ष केपी शर्मा ओलीले सपना बाँड्यो भने । यो भिजन ल्याउने पार्टी एमाले नै हो, र कार्यान्वयनको जिम्मेवारी पनि जनताले हामीलाई दिएका छन् । हामीलार्इ शुरुमा उडाउने मित्रहरुले पनि चुनावी घोषणापत्रमा त तीनै कुरा समेट्नुभयो । मोनो रेल,मेट्रो रेलको एजेण्डा अब एमालेको मात्र रहेन । अब सबैको साझा एजेण्डा भएकाले हामी एक्सन प्लानमा जछौं । शुरुको दिनदेखिनै यो काममा हामी अघि बढ्छौं । त्यसका लागि विज्ञ समूह तयार पर्छौं ।

महानगरबासीलाई आश्स्त पार्न सक्नुहुन्छ ?

म आम मतदाता र महानगरबासीलाई आश्वस्त पार्छु । उम्मेदवारी दिँदा र मत माग्दा जे कुरा भनेको हो, अब गरेर देखाउने पालो आएको छ । विद्यासुन्दर शाक्यको पालामा मोनो रेलको काम शुरु भयो भनेर तपाईहरुले समाचार लेख्न पाउनुहुनेछ । यो काम एमालेले अघि बढायो भन्ने तपाईहरुले भन्नुहुनेछ ।

हामी हिजो भनेका कुरा पूरा गर्नेमात्र होइन, छुटेका कुरा अरुबाट आउँछन् भने ती पनि सँगै लिएर जान तयार छौं । हामी अब एक्सनमा जान्छौं, त्यसैले कम बोल्ने धेरै काम गर्ने बेला आएको छ ।

काठमाडौंलाई स्मार्ट सिटी बनाउने, रेल सञ्जाल बिछ्याउने जस्ता कामका लागि महानगरभित्रै कुनै अलग्गै संरचना आवश्यक पर्ला कि नपर्ला ?

मैले त्यस्तो संरचना बनाउने र काम अघि बढाउने प्रतिबद्धता जनाएको छु । अहिले विज्ञहरुसँग सल्लाह लिने र कानुनी तथा प्रशासनिक सल्लाह लिने काम भइरहेको छ । अहिले महानगरपालिका छ तर महानगरपालिका ऐन छैन । ऐन र कानुन नभई महानगरपालिकालेमत्र काम गर्न सक्दैन ।

ऐन बनाउन राज्य, सरकार संसदको साथ चाहिन्छ । सचिवालय राख्ने, विज्ञ राख्ने केही पनि कानुन छैन । काम गर्नका लागि त हामीलाई धेरै कानुन चाहिन्छन् । हामी अब त्यसतर्फ पनि लाग्नेछौं,नत्र संविधानले दिएका अधिकार कानुन बिना त हामीले कार्यन्वयन गर्न सकिन्न ।

महानगरपालिकाका दुई पूर्व मेयर मध्ये पिएल सिंह निष्कृय हुनुहुन्छ,केशव स्थापित तपाईको चुनावी सारथीनै हुनुभयो,पूर्व मेयरको अनुभवलाई पनि प्रयोग गर्ने हो ?

त्यो त मैले पहिले नै भनेको छु । पीएल दाइको पनि अनुभव लिन्छु । अर्को पूर्व मेयर केशव दाइ त मेरो कमाण्डर नै हो । ०५४ मा अत्यधिक मतले मेयर जित्नुभएका केशव स्थापितको अनुभवले महानगर हाँक्न सजिलो हुनेछ । उहाँले थालेका र पूरा नभएका काम अघि बढाउने मेरोप्रतिबद्धता छ । मेरो टिममा उहाँ पनि रहने हो । उहाँले र हामीले देखेको सपना पूरा गर्न उहाँ मसँगै रहनुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment