Comments Add Comment

ओखलढुंगाको लिखु गाउँपालिकाः यस्ता छन् उम्मेदवारका रोचक सम्बन्ध

कतै एकाघरका तीन दाजु-बहिनी, कतै गुरु-चेलाको प्रतिस्पर्धा

१५ जेठ, ओखलढुंगा । स्थानीय तह निर्वाचनमा ओखलढुंगाको लिखु गाउँपालिकामा तीनवटा अनौठा संयोग मिलेका छन् । पहिलो संयोग, स्थानीय तहको निर्वाचमा एकै परिवारका तीनजना सदस्य वडा अध्यक्ष, गाउँपालिका प्रमुख र उपप्रमुखको उम्मेदवार बनेका छन् ।

दोस्रो  संयोग गाउँपालिकाको उपप्रमुखमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रबाट तीन जना महिला नेतृ एकै टोलबाट प्रत्यासी बनेका छन् ।

र, तेस्रो संयोग लिखु गाउँपालिकाको वडा नम्बर ८ मा गुरु-चेला वडा अध्यक्षका लागि चुनावी मैदानमा छन् ।

पञ्चायतकालदेखि नै कम्युनिष्ट आन्दोलनको उर्बर भूमीका रुपमा परिचित लिखु इलाका माओवादी द्वन्द्वको बेला माओवादीको सेल्टरको रुपमा परिचित थियो । अहिलेको स्थानीय तह चुनावमा एमाले-माओवादी केन्द्रको उम्मेदवारीमा पनि संयोग जुटेको छ ।

एकै घरमा प्रमुख पदका तीन उम्मेदवार

नेकपा एमालेले पुराना नेता गोविन्दबहादुर पौडेललाई लिखु गाउँपालिका प्रमुखको उम्मेदवार बनाएको छ । उनी साबिक टारकेराबारी गाविसका निर्वाचित पूर्वअध्यक्ष समेत हुन् ।

उनका आफ्नै भाइ विशालकुमार पौडेल माध्यमिक तहको शिक्षकबाट राजीनामा गरेर एमालेबाटै वडा अध्यक्षको उम्मेदवार बनेका छन् । स्थानीय पार्टी कमिटीले अनुरोध गरेपछि उनी राजीनामा दिएर चुनावी मैदानमा उत्रिएका छन् ।

त्यस्तै गोविन्द र विशालकी बहिनी दुर्गा पौडेल सुवेदी भने नेकपा माओवादी केन्द्रबाट गाउँपालिका उपप्रमुखकी उम्मेदवार छिन् । दुईजना दाजु एमालेको उम्मेदवार बन्दा उनी माओवादीबाट उपप्रमुख उम्मेदवार बनेकी हुन् ।

तीनै दलका उपप्रमुख एकै ठाउँबाट

लिखु गाउँपालिकामा एकै वडाका तीन महिला नेतृ एकै पदका प्रत्यासी छन् । वडा नम्बर ९ का तीन महिला नेतृहरु एमालेको प्रदेश कमिटी सदस्य शान्ता ढुंगेल, कांग्रेस नेतृ मन्दिरा दाहाल र माओवादीबाट दुर्गा पौडेल सुवेदी उपप्रमुख उम्मेदवार छन् ।

उनीहरुमध्ये ढुंगेल र दाहाल लामो समयदेखि पार्टी राजनीतिमा छन् । माओवादीले भने एमालेका नेताहरुकी बहिनीलाई उपप्रमुखमा उठाएर रणनीतिक चाल चालेको छ ।

गुरु-चेला पनि भिड्दै

साधारणतः गुरु-चेला प्रतिस्पर्धी होइनन् । तर लिखु गाउँपालिकामा भने गुरु-चेलाको प्रतिस्पर्धा रोचक छ । लिखु गाउँपालिका वडा नम्बर ८ मा एमालेका विशाल पौडेल र कांग्रेस-माओवादी गठबन्धनका पुरुषोत्तम पौडेल एकै गाउँका र एकै विद्यालयका गुरु चेला हुन् ।

विशालले कखरा सिकाउँदै माध्यमिक तहसम्म पढाएका पुरुषोत्तम उनका प्रतिष्पर्धी बनेर चुनावी मैदानमा आएका छन् । विशालले राजनीतिमा गुरु-चेलाको सम्बन्ध कम तथा विचार र दर्शनले बढी काम गर्ने बताए ।

एमालेको गढको रुपमा परिचित यस गाउँपालिकामा कांग्रेस-माओवादी तालमेल र पारिवारिक उम्मेदवारको प्रतिस्पर्धा रोचक हुने अनुमान गरिएको छ । सर्वस्वसहित जन्मकैदको सजाय पाएका माओवादी नेता बालकृष्ण ढुंगेलको गाउँ पनि यहि नै हो, जहाँ एमालेकी उम्मेदवार शान्ता ढुंगेल नाताले बालकृष्णकी भाउजू पर्दछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment