Comments Add Comment

सीमा क्षेत्रमा भारतीयसँग लड्ने देवनारायणले पाए जनसेवाश्री, एसएसबीबाट मारिएका गोविन्द सूचीमा परेनन्

 

देवनारायण यादव

१५ जेठ, काठमाडौं । सीमा क्षेत्रमा भारतीयसँग लडेका सप्तरीका देवनारायण यादवलाई सरकारले जनसेवाश्री मानपदवीबाट सम्मान गर्ने निर्णय गरेको छ । तर, कञ्चनपुरमा भारतीय सीमा सुरक्षा बलको गोलीबाट मारिएका गोविन्द गौतमको नाम भने मानपदवी, अलंकार र पदक पाउनेहरुको सूचीमा अटाएको छैन ।

सरकारले गणतन्त्र दिवसको अवसरमा बिभिन्न व्यक्तिहरुलाई बिभिन्न मानपदवी, अलंकार र पदकबाट विभूषित गर्ने निर्णय गरेको छ । सो निर्णयअनुसार जनसेवाश्री मानपदवी पाउने व्यक्तिहरु ४६ जना छन् । सो सूचीमा देवनारायण यादवको नाम २६ औं नम्बरमा छ ।

को हुन् देवनारायण ?

तिलाठी-४ सप्तरीका देवनारायण यादव भने नेपाली भूमि मिच्न आएका भारतीयसँग लडेर चर्चामा आएका थिए । गत साउन १३ गते भारतीय पक्षले दशगजामा नदीको बहाव थुनेर तटबन्ध बनाएपछि नेपालीहरुले प्रतिकार गरेका थिए । अग्रमोर्चामा रहेर भारतीयहरुको सामना गर्दा घाइते भएपछि देवनारायण र दुर्गानन्द झालाई काठमाडौं ल्याएर उपचार गरिएको थियो ।

देवनारायण भन्दा एक नम्बर माथि लुजेन्द्र ओझा छन् । डोटीमा पुर्ख्यौली घर भएका ओझा अमेरिकी अन्तरीक्ष संस्था नासामा कार्यरत छन् र उनीसहितको वैज्ञानिक टोलीले मंगल ग्रहमा पानीको सतह रहेको तथ्य पत्ता लगाएको थियो ।

सरकारले पूर्वप्रधानमन्त्री स्वर्गीय विश्वेश्वरप्रसाद कोइरालालाई मरणोपरान्त ‘नेपालरत्न’ र महेन्द्रनारायण निधिलाई मरणोपरान्त ‘राष्ट्रगौरव’ मानपदवी घोषणा गरिएको छ ।

‘महाउज्वल राष्ट्रदीप’ पदक भने शेख इद्रिस, नोना कोइराला, अमिक शेरचन, बर्मन बुढा र रामकुमारी यादवलाई प्रदान गरिएको छ । उज्वल कीर्तिमय राष्ट्रदीप व्यवस्थापिका संसदका महासचिव मनोहरप्रसाद भट्टराईले पाएका छन् ।

त्यस्तै प्रसिद्ध प्रवल जनसेवाश्री ८ जनालाई, सुकीर्तिमय राष्ट्रदीप १८ जनालाई, सुप्रबल जनसेवाश्री १२० जनालाई, कीर्तिमय राष्ट्रदीप पाँच जनालाई, प्रबल जनसेवाश्री १ सय ४७ जनालाई, जनसेवाश्री मानपदवी ४६ जनालाई प्रदान गरिएको छ ।

यसैगरी परम पौरख भाष्कर अलंकार एक जनालाई, अतिपौरख भाष्कर ३ जनालाई, नेपाल प्रताप आभुषण ७ जनालाई, समाजसेवा रत्न ११ जनालाई, महापौरख भाष्कर ४० जनालाई र नेपाल प्रताप भुषण ३३ जनालाई प्रदान गर्ने सरकारले निर्णय गरेको छ ।

यसैगरी समाजसेवा पदक ११ जनालाई, सुकीर्ति पदक २५ जनालाई, बीरता पदक ९ जनालाई, शौर्य पदक १४ जनालाई, प्राकृतिक प्रकोप पीडितोद्धार पदक ३ जनालाई र विकास रत्न पदक ५ जनालाई प्रदान गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment