Comments Add Comment

निजी क्षेत्रको प्रतिक्रियाः गोल्छा भन्छन्- बजेट निराशाजनक छ


१५ जेठ, काठमाडौं । सरकारले सार्वजनिक गरेको बजेटलाई निजी क्षेत्रले मिश्रित प्रतिक्रिया दिएको छ । निजी क्षेत्रले यो बजेटलाई ‘निराशाजनक बजेट’ को संज्ञासमेत दिएको छ ।

आफूहरुले दिएका सुझावलाई नसमेटिएको भन्दै निजी क्षेत्रले असन्तुष्टि जनाएको छ । यो बजेटले आफूलाई निराश बनाएको उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले अनलाइनखबरलाई बताए ।

निजी क्षेत्रका सुझावहरु नसमेटिएकाले थप लगानीमैत्री वातावरण तयार नहुने गोल्छाले प्रतिक्रिया दिए । साथै लगानीमैत्री वातावरण तयार गर्नका लागि आवश्यक पर्ने खालको बजेट नआएको उनको भनाइ छ ।

गोल्छाले भने ‘हामीले दिएका सुझावहरु समेटिएको छैन, जसले गर्दा थप लगानीमैत्री वातावरण तयार गर्ने गरी बजेट आएको छैन ।’

तर, आर्थिक वृद्धि ७.२ प्रतिशतको लक्ष्य राखिएको भन्दै यसले निजी क्षेत्रलाई खुसी बनाएको गोल्छाले बताए ।

आर्थिक सुचकांकहरु बढ्ने अनुमान गरिएका कारण निजी क्षेत्र खुसी रहेको गोल्छा बताउँछन् । बजेट भाषण सुनिसकेपछि गोल्छाले अनलाइनखबरसँग भने- ‘आर्थिक सूचकांक बढ्ने भनिएको छ, यसले हामीलाई खुसी बनाएको छ, त्यसैले बजेटप्रति हाम्रो मिश्रित प्रतिक्रिया छ ।

महासंघकी अक्ष्यक्ष भवानी राणा पनि कर राजश्व क्षेत्र सुधारका लागि सरकारले आवश्यक ब्यवस्था नगरेको बताउँछिन् । ‘कर राजश्व सम्बन्धी समस्या सल्टाउने प्रयास गरिएन । अब पुरक बजेटमा समेट्ने आश्वासन् आएको छ । हेरौं ‘ उनले भनिन् ।

यो बजेट स्थानीय तहसम्म नै सीधै रकम पुग्ने गरी निर्माण भएको भन्दै राणाले खुसी ब्यक्त गरिन् । यसले विकास निर्माणको काम छिटो अघि बढ्ने उनको भनाइ छ ।

राष्ट्रिय गौरबका आयोजनालाई तीब्र रुपमा विकास गर्ने गरी यो बजेटमा रकम छुट्याइएको छ ।

कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधान भने यो बजेट विदेशी जलविद्युत लगानीकर्तामैत्री मात्रै भएको बताउँछन् । उनकाअनुसार नेपाली लगानीकर्ताले जलाशययुक्त आयोजना निर्माण गर्न सक्ने स्थिति यो बजेटले पनि बनाएन ।

तर, सरकारले भने यिनै जलाशययुक्त आयोजनालाई लक्षित गरेर बजेट सार्वजनिक गरेको छ । नेपाली लगानीकर्ताले रन अफ दि रिभरमा लगानी गर्ने गरेका छन् । त्यसका बारेमा भने कुनै नयाँ सम्बोधन हुन नसकेको भन्दै यसमा प्रधानले असन्तुष्टी जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment