Comments Add Comment

राष्ट्रकवि भन्छन्- आश्चर्य भो ! आफैं मरेको खबर सुन्न पाइयो !

'यही जुनीमा अर्को जुनी पाएँ, लाख लाख नेपालीको माया पाएँ'

समय- सोमबार मध्यान्ह

स्थान- लैनचौरस्थित राष्ट्रकवि माधवप्रसाद घिमिरेको घर ।

हामी पुग्दा घर सुनसान जस्तै थियो । छिमेकीको घरमा कुनै धार्मिक अनुष्ठान भइरहेको रहेछ । त्यहीँ बजेको माइकको ध्वनीले बगैंचामा चिर्बिर-चिर्बिर गर्दै उडिरहेका चराहरुको आवाजलाई चुनौती दिइरहेको भान हुन्थ्यो ।

हामी राष्ट्रकविको बैठक कोठामा पुग्यौं, जहाँ उनका कान्छा छोरा ‘राष्ट्रकविको हालखबर बुझ्न’ आएका दुई किशोरसँग भलाकुसारी गरिरहेका थिए । उनले सोफामा बस्न इशारा गर्दै भने, ‘बुवा खाना खाएर भर्खरै आराम गरिरहनुभएको छ, एकैछिन कुर्नुहोस् है ।’

हामीले १० मिनेट पर्खियौं ।

राष्ट्रकवि ढोकामा प्रकट भए । उनका ओंठमा हल्का मुस्कान दौडिएको देखियो । सामान्य चिनजानपछि उनले सोफामा बस्दै सुस्तरी सोधे, ‘कति कामले आउनुभयो ?’

हामीले राष्ट्रकविलाई भेट्नुभन्दा करिब १८ घण्टाअघि एउटा हल्ला फैलिएको थियो, ‘राष्ट्रकविको निधन भो ।’ सामाजिक सञ्जालमा यो खबर भाइरल भयो । कतिले ‘श्रद्धान्जली अर्पण’ गर्न भ्याए । कति पत्रिकाले त ‘राष्ट्रकविको निधनप्रति गहिरो दुख जनाउँदै’ उनको जीवनीसमेत लेख्न भ्याए । कवि भूपि शेरचनले लेखेजस्तै भो, ‘यो हल्लै हल्लाको देश हो ।’

मै मरी गएको…

राष्ट्रकवि घिमिरे स्वयम्ले गीत लेखेका थिए, ‘आजै राति के देखेँ सपना, मै मरी गएको…. ।’

सोमबार बिहान आँखा खुल्दा झन्डै त्यस्तै भयो उनलाई । धर्मपत्नीले ओछ्यानमै खबर सुनाइन्, ‘हजुरको आयु बढ्यो ।’

रातभर आफ्नै मृत्युको खबरले सनसनी मच्याएको कविवरले भेउ नै पाएका रहेनछन् । जब धर्मपत्नीले अघिल्लो रातको घटनाबारे बेलीबिस्तार लगाइन्, राष्ट्रकविलाई अनौठो लाग्यो । र, रमाइलो पनि ।

‘मेरो मृत्युको खबर कसले फैलायो’ भन्नेतर्फ उनले पटक्कै ध्यान दिएनन् । बरु हाँस्दै भने, ‘कस्तो आश्चर्य भो ! आफैं मरेको खबर सुन्न पाइयो !’

आफु मरेको खबर सुनेपछि राष्ट्रकविलाई कविता फुर्‍यो । उनले कुराकानीको सिलसिलामा एक हरफ कविता सुनाए । छोरो राजीवले त्यसलाई आफ्नो फेसबुकमा अपलोड गरेछन्,

‘यही जुनीमा अर्को जुनी पाएँ,
लाख लाख नेपालीको माया पाएँ ।’

यो दिन उनका निम्ति दुर्लभ क्षण बन्यो । किनभने, आफ्नो मृत्युपछि समाजमा कस्तो तरंग आउँछ भन्ने कुरा उनले जीवितरुपमै अनुभूत गर्न पाएँ ।

‘म मरेको कुरा कति छिटो देश-विदेशमा फैलिएछ !’ राष्ट्रकविले आश्चर्य मानेजस्तै गरेर साउतीको भावमा भने, ‘कोही छोरीले क्यानडाबाट, कोही छोरीले अफ्रिकाबाट फोन गरे । मलाई त रमाइलो लाग्यो ।’

जमाना फेरिएछ !

राष्ट्रकवि कति पनि विचलित थिएनन्, आफ्नै मृत्युको हल्लाले । उनले त यसलाई परिवर्तित समाजको सूचकका रुपमा स्वीकारेका रहेछन् । ‘पहिला एउटा सानो सूचना पुर्‍याउन कति समय लाग्थ्यो’ राष्ट्रकविले भने, ‘अहिले त एकैछिनमा देश-विदेशमा फैलिने रहेछ ।’

सामाजिक सञ्जालको बढ्दो प्रयोगले सूचना प्रवाह प्रभावकारी भएको राष्ट्रकविको ठम्याइ छ ।

न रोग, न शोक

हामीले सोध्नै परेन, राष्ट्रकविले हौसिएर भने, ‘अबको डेढ बर्षपछि म सय बर्षमा पुग्छु ।’

आफ्नो उमेरको जनाउ दिएर आफु स्वस्थ्य र तन्दुरुस्त रहेको पुष्टि गर्न खोजिरहेका थिए, उनी ।

सोधियो- ‘तपाईलाई कुनै रोग छ कि ? वा अघिल्लो रात दुख-बिमार पो पर्नुभयो कि ?’

‘हेर्नुहोस्, म तपाईसँग बोलिरहेको छु, हिँडिरहेको छु, खाइरहेको छु, लेखिरहेको छु’ राष्ट्रकविले प्रतिप्रश्न गरे- के म रोगी देखिन्छु ?’

उनलाई मधुमेह र उच्च रक्तचाप रहेछ, जो यत्तिको उमेरमा स्वभाविक मानिन्छ । त्यसबाहेक कुनै समस्या छैन रे ।

राष्ट्रकविले दंग पर्दै भने, ‘यो उमेरमा जस्तो हुनुपर्ने हो, त्योभन्दा बढी तगडा छु म ।’

बोल्दा उनको आवाज थोरै थर्रथराउँछ । आँखाको चेप रसाउँछ । श्रवण शक्ति अलि कमजोर भएको छ । तर, उनको अनुहारको ओज हराएको छैन । जाँगर हराएको छैन । सिर्जनसिलता हराएको छैन । यो उमेरमा पनि महाकाव्य लेखिरहेका छन्, ऋतम्भरा । आउँदो दशैंसम्म महाकाव्यको मैझारो गर्ने योजनामा छन् ।

राष्ट्रकविको टिप्स- यसरी रहने फिट एन्ड फाइन 

उमेरले सय वर्षका छेउछाउ पुग्दा पनि उनी कसरी झरिलो-भरिलो छन् ?

हामीलाई लागेको थियो, राष्ट्रकवि थलिए होलान् । अस्पताल भर्ना भए होलान् । त्यही क्रममा उनको निधनको हल्ला फैलियो होला । तर, हाम्रो अनुमानलाई उनले गलत मात्र ठहर्‍याएनन्, बरु कसरी दीर्घजीवन पाउने ? कसरी फिट एन्ड फाइन रहने भन्ने टिप्स समेत दिए ।

राष्ट्रकविको हेल्थ टिप्स उनकै भाषामा-

१. सधैं सक्रिय रहनुहोस्

स्वस्थ्य जीवन बाँच्नका लागि सधै सक्रिय हुनुहोस् । सक्रिय भएपछि शरीरमा स्फूर्ति आउँछ ।

२. सिर्जनशील हुनुहोस्

लामो आयु बाँच्न खुसी हुनुपर्छ । खुशी हुनका लागि सिर्जनशील हुनुपर्छ । आफूलाई कुनै न कुनै रचनात्मक काममा लगाउनुहोस् । रचनात्मक काममा लाग्नु भनेको कविता, कथा लेख्नैपर्छ भन्ने होइन । तपाई जे काम गर्नुहुन्छ, त्यो रचनात्मक हुनुपर्छ ।

३. सकारात्मक सोच्नुहोस्

मेरो मृत्युको खबर फैलियो, तर म रिसाइन । मलाई नराम्रो पनि लागेन । किन रिसाउने ? किन आक्रामक हुने ? यसले त आफैंलाई नष्ट गर्छ । शान्त रहनुपर्छ । अरुको नराम्रो कुरा नगरौं । हामीले अर्काका बारे नराम्रो सोचेर, नराम्रो काम गरेर कसलाई घाटा ? हामी आफैंलाई । मैले यो उमेरसम्म कसैलाई बिझाउने काम गरिनँ । बरु चुप लाग्छु ।

४. योग-व्यायाम गर्नुहोस्

म योग, व्यायाम, प्रणायाम सबै गर्छु । उहिले किशोर उमेरमै म झन्डै जोगी पनि भएँ । त्यहीबेला योग गर्न सिकें । अहिले पनि त्यही आसन गर्छु । हुन त भारतमा अहिले योग गुरुहरुले योग सिकाउन थालेका छन् । रामदेवले पनि योग सिकाइरहेका छन् । साह्रै राम्रो कुरा । योग गरियो भने शरीर निरोगी हुन्छ । दिमाग पनि राम्रो हुन्छ ।
म लेख्न बस्दा पनि बेलाबखत योग गर्छु । अलि अल्छी लाग्यो, जिउ सञ्चो नहोला जस्तो भयो भने योग गर्छु, ठीक हुन्छ ।

५. थोरै खानुहोस्

म एकैचोटि धेरै खाँदिन । थोरै थोरै खान्छु । तर, भोको पेट बस्दिनँ, खाइरहन्छु । मलाई दूध अनिवार्य चाहिन्छ । सागपात पनि मनपर्छ । मदिरापान गर्ने, रातभर बस्ने, मोजमस्ती गर्ने बानी नगर्नुहोस् । त्यसरी यो शरीरले कहिलेसम्म थेग्छ ?

६. मस्त सुत्नुहोस्

लेख्न बसेका बेला कहिँले कही अलि ढीलो हुन्छ, नभए म राति अबेरसम्म बस्दिनँ । बिहान ६ बजेतिर उठ्छु । ७ घण्टा त मस्त सुत्नैपर्छ । लेख्नुपर्ने छ भने म अलि धेरैसमय सुत्छु ।

७. प्रकृतिसँग रमाउनुहोस्

मनमा दिक्क लाग्यो, औडाहा भयो भने बगैंचामा घुम्नुहोस् । रुखहरु हेर्नुहोस्, फूलहरु हेर्नुहोस्, चराचुरुङ्गी हेर्नुहोस्, आकास हेर्नुहोस् । आहा Û प्रकृतिले कति राम्रो कुरा दिएको छ हामीलाई । मन प्रफूल्ल हुन्छ । कहिले काहीँ घुम्न पनि जानुहोस् ।

८. सफा हुनुहोस्

महंगो लुगा होइन, सादा लुगा लगाउनुहोस् । तर, सफा हुनुपर्छ । सरसफाइ बस्नुपर्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment