Comments Add Comment

जथाभावी बाटो काट्दै हुनुहुन्छ ? प्रहरी कारबाहीमा परिएला

सक्नेले २ सय जरिवाना तिरे, नसक्ने ३ घण्टा प्रहरी थानामा

१६ जेठ, काठमाडौं । जेब्रा क्रसिङ, आकाशे पुल, सब-वेको प्रयोग नगरी जथाभावी बाटो काट्नुहुन्छ ? कि फुटपाथ छाडेर सडकबाटै जथाभावी हिँड्नुहुन्छ ? आजबाट यो बानी त्यागिदिनुस्, नत्र तपाईंले ट्राफिक प्रहरीलाई २ सय रुपैयाँ जरिवाना तिर्नपर्नेछ । पैसा तिर्नु चाहनु भएन वा सक्नु भएन भने प्रहरी कार्यालयमा ३ घण्टा नियन्त्रणमा राखिनेछ ।

आज मंगलबारबाट उपत्यकाभित्रका सडकमा जथाभावी बाटो काट्ने र पेटी छोडेर सडकमा हिँड्ने पैदल यात्रु २ सय रुपैयाँ तिर्नुपर्ने ब्यवस्था लागू भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी निरीक्षक मधुसुदन सिलवालले अनलाइनखबरलाई बताए ।

प्रहरीले आज विहान ८ बजेबाट सुरु गरेको यो अभियानमा ४ घण्टाका बीचमा झण्डै १४ सय जना पैदलयात्रु कारवाहीमा परिसकेका छन् ।

ट्राफिक प्रहरीले विभिन्न स्थानमा प्रहरीको सहयोग लिएर जथाभावी बाटो काट्नेलाई नियन्त्रणमा लिइरहेको छ । ‘दुर्घटनामा पैदलयात्रु पर्ने क्रम बढ्दै गएपछि सचेतनाका लागि नै यो नियम ल्याइएको हो’ सिलवालले भने, ‘जरिवना भनेपछि धेरै मान्छे यसमा सचेत हुन्छन् । हामीले यातायात ब्यवस्था ऐनमा रहेको ब्यवस्थामा नै टेकेर यो ब्यवस्था लागू गरेका हौं ।’

हरेक वर्ष उपत्यकामा हुने दुर्घटनामा मृत्यु हुने मध्ये ४० प्रतिशत पैदल यात्रु रहने सिलवालले बताए ।

यातायात व्यवस्था विभाग र महानगरीय ट्राफिक प्रहरी महाशाखाले आजदेखि यो व्यवस्था लागू गर्दै पैदल यात्रुलाई जेब्रा क्रसिङबाटै बाटो काट्नुपर्ने नियम लागू गरेको सिलवालले बताए ।

सडक दुर्घटनामा जथाभावी बाटो काट्ने प्रवृत्ति पनि प्रमुख कारक मान्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाले यो नियमलाई कडाइका साथ लागू गर्न लागेको हो ।

जथाभावी बाटो काट्दा तिर्न रकम नहुनेलाई तीन घण्टा प्रहरी नियन्त्रणमा राखिनेछ । त्यसका नियन्त्रणमा राख्दा ट्राफिक नियमबारे सचेतना कक्षा लिइनेछ । तर, यस अभियानबाट विद्यालय, कलेज वा कार्यालय जान लागेका विद्यार्थीहरु समयमा पुग्न नसक्दा मर्कामा परे ।

प्रहरीले जेठ १ गतेदेखि यो ब्यवस्था लागू गर्ने भनेपनि स्थानीय तहको चुनावका कारण लागू गर्न सकेको थिएन । दुई महिनाभन्दा बढी जनचेतनाका लागि विभिन्न अभियान चलाएर यसलाई आजबाट लागू गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment