Comments Add Comment

डोटीका नौ स्थानीय तह प्रमुखमा एकमात्र महिला उम्मेदवार

'डोटीका दलहरूले महिलालार्इ पत्याएनन्'

१६ जेठ, डोटी । आन्दोलनको बलमा जस्तोसुकै कानून बनाउन तयार हुने नेपालका राजनीतिक दलहरु बनेको कानून कार्यान्वयन गर्नमा सधैं पछि पर्छन भन्ने प्रमाण डोटीमा देखिएको छ ।

स्थानीय तहको प्रमुख र उपप्रमुखमध्ये एक जना महिला हुनुपर्ने नीतिगत व्यवस्थालाई डोटीका दलहरुले उपप्रमुखमा मात्रै सीमित गरिदिएका छन् ।

डोटी जिल्लाका नौ स्थानीय तहको निर्वाचनका लागि चार दलले उम्मेद्वारको टुङ्गो लगाउँदा एक महिलाले मात्रै प्रमुखको उम्मेद्वारी पाएकी छन् ।

नेकपा एमालेले दिपायल सिलगढी नगरपालिकाको प्रमुखमा मञ्जु मलासीलाई उम्मेद्वार बनाएको छ ।

एमाले डोटी जिल्ला कमिटी उपसचिवसमेत रहेकी मलासीको नाम २०७० सालको संबिधानसभाको निर्वाचनमा एमालेको समानुपातिक तर्फको बन्द सूचीमा समावेश भएको थियो । तर त्यतिबेला उनी सभासद् हुन सकिनन् ।

अन्य स्थानीय तहमा पनि प्रमुखका आकांक्षी महिलाहरु रहेका भएपनि मलासी बाहेक एमालेले अरुलाई उम्मेद्वार बनाएन ।

हालसम्म उम्मेद्वारी तय गरेका अन्य तीन दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाले कुनै पनि स्थानीय तहको प्रमुखमा महिला उम्मेद्वार उठाएका छैनन् । न त अव उम्मेद्वारी दिने दलहरुले महिलालाई प्रमुख पदमा उम्मेद्वार बनाउने सम्भावना देखिएको छ ।

मञ्जु मलासी

आफूहरुले महिलालाई प्रमुख बनाउनका लागि धेरै गृहकार्य गरेको भएपनि निर्वाचन जित्नका लागि सशक्त उम्मेद्वार चाहिने भएका कारण छान्न नसकिएको नेपाली कांग्रेस डोटीका सचिव नारायण जोशी बताउँछन ।

‘केही महिला साथीहरु आकांक्षी पनि हुनुहुन्थ्यो’ अनलाइनखवरसँग कुरा गर्दै जोशीले भने ‘तर लामो समयदेखि स्थानीय तहको निर्वाचन नभएकोले पार्टीभित्रका पुराना नेताहरुलाई उम्मेद्वार बनाउनु पर्ने अवस्था आयो ।’

जोशीका अनुसार पार्टीभित्र नेतृत्वदायी भुमिका निर्वाह गरेका पुरुषहरुको संख्या बढी भएकाले यस पटक सवै ठाउँमा महिलालाई उपप्रमुखमा राख्नु पर्ने अवस्था आयो । उनले भने ‘महिलाहरुलाई पाखा लगाउन खोजेको चाहीँ होइन ।’

नेकपा एमालेले जिल्लाकै सवैभन्दा ठुूलो स्थानीय तहको प्रमुखमा महिला उम्मेद्वार उठाएकोले अन्य दलहरुभन्दा एमाले अग्रगामी रहेको दाबी गर्छन नेकपा एमाले डोटीका अध्यक्ष चत्रबहादुर मल्ल । भन्छन् ‘अन्य स्थानीय तहमा महिलाहरु स्वयं उपप्रमुखका लागि तयार भएर आएका कारण महिलाहरुलाई उपप्रमुमखमै उठाउनु परेको हो ।’

पार्टीभित्र रहेका महिलाहरुले प्रमुख बन्ने तदारुकता नदेखाएका कारण पार्टीले महिलालाई प्रमुख पदमा ल्याउन नसकेको राष्ट्रिय जनमोर्चा डोटीका सचिव केशवनाथ योगीले बताए ।

‘चुनावको बेलामा पार्टी उम्मेद्वारीका लागि महिला खोज्दै हिड्ने कुरा भएन’ योगीले भने ‘पारिबारिक काणले हो वा अन्य कुनै कारणले हो पार्टीभित्र भएका महिलाहरुले त्यो आँट गर्न सकेनन् ।’

आफुहरुले दिपायल सिलगढी नगरपालिकाको प्रमुखमै महिला उम्मेद्वार खडा गर्न चाहेको भएपनि त्यो सम्भव नभएको योगी बताउँछन ।

दलहरुले अहिले पनि महिलालाई राजनीतिमा बिश्वास नगरेको देखिएको बताउँछिन् महिला तथा बालबालिका कार्यालय डोटीका प्रमुख निर्मला दाहाल । उनी भन्छिन् ‘पार्टी संगठनभित्रै दलहरुले महिलालाई अवसर दिएनन् जसका कारण उनीहरुले आफ्नो नेतृत्व क्षमता बढाउन सकेनन् ।’ महिलाहरुको नेतृत्व बिकास गर्ने बिषयमा दलहरुले ध्यान दिनु पर्ने दाहालको भनाई छ ।

महिला अधिकारकर्मी गीता नेपालीको तर्क पनि उस्तै छ । महिलाहरु सक्रिय र सक्षम रहे पनि दलहरुबाटै महिलाहरुलाई पाखा लगाउने काम भइरहेको उनको भनाई छ ।

उनी भन्छिन् ‘महिलाहरु पनि पुरुषसँग प्रतिस्पर्धा गर्न सक्ने भएका छन्, तर दलहरुले अहिले पनि महिलालाई पत्याउन सकेका छैनन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment