Comments Add Comment

इटहरीमा बाटो काट्न गाह्रो भयो ? ‘स्टप’ लेखिएको ‘प्लेकार्ड’ छँदैछ नि !

नेपालमै पहिलोपटक इटहरीमा सुरु भयो बाटो काट्ने नयाँ विधि


१६ जेठ, विराटनगर । तपाईं सुनसरीको इटहरी चोकमा हुनुहुन्छ र चौरस्तामा सडक पार गर्न समस्या भएको छ ? यदि त्यस्तो हो भने ‘स्टप’ लेखिएको ‘प्ले बोर्ड’ हातमा लिनुहोस् र सुरक्षितसँग सडक पार गर्नुहोस् ।

काठमाडौंमा ट्राफिक प्रहरीले जथाभावि बाटो काट्नेहरुलाई नगद जरिवानासहित कारबाही गरिरहेका बेला इटहरीमा भने नेपालमै पहिलोपटक पैदल यात्रुका लागि नयाँ तरिका अपनाइएको हो । पैदल यात्रीले सडक पार गर्दा जेब्राक्रसको प्रयोग गरेपनि सवारी चालकले प्राथमिकता नदिएपछि पैदलयात्रीका लागि नयाँ व्यवस्था मिलाइएको हो ।

क्षेत्रिय ट्राफिक प्रहरी प्रहरी कार्यालय इटहरीका ट्राफिक प्रहरी नायव उपरीक्षक सन्जीव शर्माले अनलाइनखबरसँग भने, ‘हामीले नेपालमै पहिलोपटक पैदल यात्रीले प्लेबोर्ड बोकेर बाटो काट्ने विधि अपनाउन सुरु गरेका छौं ।’

पैदलयात्रीले जेब्राक्रसबाट बाटो काट्दा सवारी साधन रोक्नुपर्दछ । तर, नेपालमा जेब्राक्रसबाट बाटो काटिरहँदा पनि चालकहरुले पेलेर गाडी कुदाउने गर्दछन् । यसबाट पैदलयात्रु गाडीले ठक्कर दिने हो कि भनेर आतंकित हुनेमात्रै होइन दुर्घटनामा पनि पर्ने गरेका छन् ।

त्यसैले पैदलयात्रुहरुलाई ‘स्टप’ लेखिएको ‘प्ले बोर्ड’को व्यवस्था मिलाइएको हो । प्ले बोर्ड बोकेर बाटो काट्नेहरुलाई पनि सवारी चालकले प्राथमिकता नदिए कडा कारबाही गर्ने शर्माले बताए ।

इटहरी चोकमा रहेका चौरस्तामा चार स्थानबाट सडक पार गर्न जेब्राक्रसको व्यवस्था गरिएको छ जसमा ती जेब्रा क्रस बनाइएका स्थानको दुवैतर्फ निर्माण गरिएका ढ्वाङमा चार-चार वटाको दरले स्टप लेखिएका बोर्ड राखिएको छ ।

चौरस्ताका चार स्थानमा अहिले पैदल यात्रुले सडक पार गर्दा स्टप लेखिएको बोर्ड प्रयोग गर्न ३२ वटा प्ले बोर्ड राखिएका छन् । पैदल यात्रीले सडक पार गर्दा यी प्ले बोर्ड अनिवार्य प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

सडक पार गरेपनि पैदल यात्रुले आफूले बोकेको प्ले बोर्ड अनिवार्य रुपमा सडकको दायाँ-बायाँ किनारमा राखिएको ढ्वाङमा छाड्नुपर्ने व्यवस्था मिलाइएको छ ।

शर्माका अनुसार इटहरी चौरस्तामा अहिले यात्रुको सहायताका लागि १६ जना ट्राफिक प्रहरी परिचालन गरिएको छ ।

यस्तो व्यवस्था अन्य शहरमा पनि

पछिल्लो समय इटहरी पूर्वी नेपालको बिकासउन्मुख शहरको रुपमा विकास हुँदै गएको छ । सवारी साधानको संख्या पनि बढ्दै गएको छ । जसका कारण चौरस्तामा सडक पार गर्न पैदल यात्रुलाई समस्या हुने गरेको छ ।

त्यसैले इटहरी क्षेत्रका सबै चौरस्तामा पैदल यात्रुले सडक पार गर्दा स्टप लेखिएको प्ले बोर्ड हातमा बोकेर सडक पार गर्ने व्यवस्था मिलाइएको छ । यो व्यवस्था अब मुलुकका सबै मुख्य शहरहरुमा पनि गर्ने योजना छ ।

‘पैदल यात्रीलाई सडक पार गर्दा सवारी चालकले प्राथमिक्ता नदिएका कारण हैरानी हुने अवस्थालाई पार गर्न अपनाइएको यो विधि मुलुकका मुख्य शहरमा चाँडै लागू गरिने योजनामा ट्राफिक प्रहरी छ,’ ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रवक्तासमेत रहेका शर्माले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment