Comments Add Comment

एमाले बाँकेमा विवाद, कार्यालयमा ताला, प्रचार सामाग्री च्यातियो

१६ जेठ, बाँके । स्थानीय तहको निर्वाचनका लागि बिभिन्न वडाहरुमा उम्मेदवार चयनको बिषयलाई लिएर एमाले बाँकेमा असन्तुष्टि देखिएको छ । कोहलपुरका असन्तुष्ट एमाले युवाले पार्टी कार्यालयमा तालाबन्दी गरेका छन् ।

सोमबार असन्तुष्ट पक्षले मेयर पदका उम्मेदवार लुटबहादुर रावतको घरमा राखिएका प्रचार सामग्रीहरु सडकमा फालेर नाराबाजी गरेको थियो । राजु तामाङसहितका एमाले युवाले प्रचार कार्यालयसमेत रहेको रावतको घरमा राखिएका नमूना मतपत्र, झण्डा लगाएतका सामाग्री सडकमा ल्याएर फालेका थिए ।

राजु तामाङ युवा संघ बाँकेका उपाध्यक्ष तथा कोहलपुर नगर इन्चार्ज हुन् । उनले कोहलपुर नगरपालिकाको वडानम्बर १० को अध्यक्षमा दाबी गर्दै आएका थिए । पार्टीबाट पनि उनले सकारात्मक आश्वासन पाएका थिए । तर, एमालेले सो वडामा पटवारी थारुलाई अध्यक्षको उम्मेदवार बनाएपछि तामाङ असन्तुष्ट छन् । तामाङले सामाजिक सञ्जाल फेसबुकमार्फत पनि आफ्ना असन्तुष्टि र आक्रोश सार्बजनिक गर्दै आएका छन् ।

उनले अनलाइनखबरसँग भने, ‘पार्टीले मलाई आश्वासन दिएर चुनाव प्रचारमा पनि पठायो तर अन्तिम समयमा धोका भयो ।’

भोट माग्दै हिँड्ने एउटा, टिकट पाउने अर्कै 

टिकट कै बिषयलाई लिएर कोहलपुरको वडा नम्बर १४ मा पनि बिवाद देखिएको छ । उक्त वडामा ज्ञानबहादुर थापाले दाबी गरेका थिए । उनी आपराधिक गतिविधिमा मुछिएर विवादमा आएको भन्दै पार्टीले महिला नेतृ अनिता पौडेललाई टिकट दिएको छ । टिकट नपाएको रिसमा थापा समर्थक पनि विरोधमा उत्रिएको छ ।

गाउँ कमिटीबाट टिकटका लागि थापाको नाम पनि सिफारिस भएको थियो । उनले चुनावको प्रचार प्रसार पनि गरेका थिए । तर, पौडेललाई टिकट दिइएपछि थापाले पार्टीमा नातावाद कृपावाद हावी भएको अभिव्यक्ति दिँदै आएका छन् । ‘बचन एउटालाई दिएर प्रचारमा खटाउने र टिकट अर्कैलाई दिने गर्नु राजनैतिक बेइमानी’ भएको थापाले बताए ।

जिल्लाका कतिपय नेताहरुले थापालाई नै उम्मेदवार बनाउने भनि लविङ गरेपछि थापाले वडा अध्यक्षको उम्मेदवारका रुपमा प्रचार अभियान सन्चालन गर्दै आएका थिए ।

यसअघि कोहलपुर मेयरको उम्मेदवार छनोटमा समेत विवाद देखिएको थियो । कोहलपुर एमालेले मेयरमा लुटबहादुर रावतलाई उम्मेदवार बनाएको छ । कोहलपुर नगरपालिकाको मेयरका एमाले उम्मेदवार लुटबहादुर रावतको विश्वासपात्र भनिने यमबहादुर रावतले समेत उम्मेदवार छनोटमा असन्तुष्टि जनाउँदै सामाजिक सन्जालमार्फत् आफ्ना अभिव्यक्ति सार्बजनिक गरेका छन् । एमाले बाँके जिल्ला सदस्य रहेका उनले लेखेका छन्, ‘आजबाट देश र जनताको लागि म यम रावत अब कुनै पार्टीको होइन ।’

नेपालगन्जमा पनि विवाद

नेपालगन्ज उपमहानगरपालिकाका केही वडाहरुमा पनि एमाले उम्मेदवार छनोटमा विवाद छ । नेपालगन्जका ६, ११, १२ र १७ नम्बर वडामा विवाद देखिएको हो ।

यसैगरी कोहलपुरको वडानम्बर ३, १० र १४ तथा खजुरा गाउँपालिकाको ३ नम्बर वडामा पनि उम्मेदवार छनोटमा विवाद छ । यसअघि बैजनाथ गाउँपालिकामा देखिएको विवाद भने समाधान भइसकेको छ ।

छलफल हुनुलाई विवाद भन्न मिल्दैनः अध्यक्ष कोइराला

एमाले बाँकेका अध्यक्ष अशोक कोइरालाले भने कतै पनि विवाद नरहेको दाबी गरे । उनले भने, ‘पार्टीमा बिभिन्न नामहरु सिफारिस हुन्छन् । त्यसमा छलफल हुन्छ र एउटा निष्कर्षमा पुगिन्छ । तर, यसलाई विवाद भन्न मिल्दैन ।’

यसअघिको चुनावमा एमालेले बाँकेका ३ वटा क्षेत्रमा जित हासिल गरेको थियो । अहिलेको स्थानीय चुनावमा पनि एमाले बलियो मानिन्छ । तर आन्तरिक समस्या समाधान गर्नुपर्ने चुनौति पार्टी नेतृत्वलाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment