Comments Add Comment

एमालेसँग चुनावी तालमेल र अन्तरघातको श्रृंखला

स्थानीय निर्वाचनमा तालमेलको समस्या

स्थानीय निर्वाचनको सिलसिलामा कार्यगत एकताका लागि राष्ट्रिय जनमोर्चाको सबैभन्दा बढी सम्पर्क वा वार्ता एमालेसित नै हुने गरेको छ । खास गरेर सरकारमा ओली नेतृत्वको सरकारमा संयुक्त सहभागिता, प्रचण्ड सरकारले संसदमा प्रस्तुत गरेको दोस्रो संविधान संशोधनका विरुद्ध संसदभित्र र देशव्यापी रुपमा चलेको आन्दोलनमा एमालेसित देशव्यापी रुपमा कायम भएको एकता आदि समेतका कारणले स्थानीय चुनावमा पनि जनमोर्चाको चुनावी तालमेल सम्बन्धी वार्ता बढी एमालेसित नै हुने गर्‍यो ।

यस अनुसार बाग्लुङमा स्थानीय चुनावका सन्दर्भमा उनीहरुसित कार्यगत एकता नै भयो भने प्यूठानमा पनि त्यसका लागि लिखित सम्झौता नै भएको थियो ।

एमालेसित हुने गरेका विभिन्न चुनावी तालमेलहरुमा हाम्रा धेरै नै कटु र अप्रिय अनुभवहरु रहने गरेका छन् । त्यस सिलसिलामा सबैभन्दा महत्वपूर्ण कुरा यो हुने गरेको छ कि उनीहरुसित कायम भएको चुनावी तालमेलमा उनीहरु कैयौंपल्ट इमान्दार रहने गरेका छैनन् र अन्तर्घात गर्ने गरेका छन् ।

जनमोर्चाले आपसमा कायम भएको समझदारीलाई सधैं नै इमान्दारिता र दृढतापूर्वक लागू गर्ने गरेको छ । तर, संसदीय चुनावका बेलामा एमालेले भैरव रेग्मीलाई राष्ट्रिय सभामा समर्थन गर्ने सझदारी भएको थियो । तर, उनीहरुले अन्तर्घात गरेर राजेश्वर देवकोटालाई समर्थन गरेर जिताए ।

तेस्रो संसदीय चुनावमा एमालेसित चुनावी तालमेल हुँदा एमालेले कपिलवस्तुमा दुर्गा पौडेललाई समर्थन गर्ने समझदारी भएको थियो । तर, उनीहरुले अन्तर्घात गरेर राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारलाई भोट दिएर जिताए ।

केही समय पहिले भएको कर्मचारीको चुनावमा जनमोर्चाको पक्षले एमालेको प्यानललाई समर्थन गर्ने र चुनावपछि उनीहरुले जनमोर्चा पक्षलाई केन्द्रमा एक सिट दिने समझदारी भएको थियो । चुनावपछि उनीहरुले केन्द्रमा अध्यक्षसहित ८ सिट जिते । तर, जनमोर्चा पक्षलाई एक सिट पनि दिन अस्वीकार गरे ।

यसरी एमालेले बारम्बार स्वयं आफ्नो समझदारीप्रति इमान्दार नहुने गरेका कैयौं उदाहरणहरु छन् । अहिलेको स्थानीय चुनावको बेलामा पनि एमालेका त्यस प्रकारका प्रवृत्तिहरु बारम्बार देखापर्ने गरेका छन् ।

स्थानीय चुनावमा पनि अन्तरघात

बाग्लुङमा एमालेसित राष्ट्रिय जनमोर्चाको तालमेल भएको थियो । तर, उनीहरुले कैयौं ठाउँमा अन्तर्घात गरे ।

ढोरपाटनमा नगरपालिकाको प्रमुखको पदमा उनीहरुले राजमोे उम्मेदवारलाई समर्थन गर्ने लिखित समझदारी नै बनेको थियो । तर, उनीहरुले अन्तिम समयमा आफ्नो मान्छेलाई उम्मेदवार बनाए र जिताए पनि ।

जैमुनि नगरपालिकामा उनीहरुले प्रमुख पदमा राजमो उम्मेदवार नरबहादुर पुनलाई समर्थन गर्ने र उपप्रमुख पदमा हामीले एमालेको उम्मेदवारलाई समर्थन गर्ने समझदारी भएको थियो । तर त्यहाँ पनि उनीहरुले अन्तर्घात गरे र राजमो उम्मेदवारहरुलाई हराए र आफ्नो उपप्रमुखको उम्मेदवारलाई विजयी बनाए ।

प्यूठानमा राजमो र एमालेको बीचमा चुनावी तालमेलबारे लिखित सम्झौता समेत भइसकेको थियो । तर पछि एमाले पक्षले त्यस प्रकारको समझदारीको कैयौं ठाउँमा विरोध गर्‍यो । स्वर्गद्वारी नगरपालिकामा राजमोका वीरबहादुर पुनलाई प्रमुखमा समर्थन गर्ने समझदारी भएको थियो । तर, स्वर्गद्वारीका एमालेका कार्यकर्ताहरुले बैठक नै गरेर उहाँलाई भोट नदिने निर्णय मात्र गरेनन्, त्यस प्रकारको समझदारीलाई बदर गर्न एमालेको जिल्ला कार्यालयमा जुलुस नै लगेर गए ।

पछि एमालेको जिल्ला नेतृत्वले पहिलेको समझदारी कायमै राख्ने भनी वक्तव्य दियो । तर, स्वर्गद्वारीमा एमालेका कार्यकर्ताहरुले आफ्नो विरोधलाई कायम राखे ।

झिम्रुक गाउँपालिकामा तिलक जीसीलाई अध्यक्ष पदमा समर्थन गर्ने समझदारी भएको थियो । तर, त्यो गाउँपालिकाका एमालेका कतिपय सदस्यहरुले बैठक नै गरेर राजमोको अध्यक्ष पदको उम्मेदवारलाई भोट नदिने निर्णय गरे । एमालेको जिल्ला नेतृत्वले पनि पहिले राजमोका उम्मेदवारहरुलाई समर्थन गर्ने समझदारी भएका कतिपय वडाहरुमा एमालेका नै उम्मेदवार हुनुपर्छ भनेर दावी गर्न थाले ।

यस प्रकारको पृष्ठभूमिमा राष्ट्रिय जनमोर्चाको जेठ १५ गते बसेको जिल्ला समितिको बैठकले एमालेसित भएको चुनावी तालमेलको सम्झौतालाई भंग गर्ने निर्णय गरी वक्तव्य समेत जारी गरेको छ ।

एमालेसित हुने गरेका विभिन्न चुनावी तालमेलमा उनीहरुले बारम्बार अन्तरघात गर्ने गरेका छन् । तर, त्यो कारणले राजनीतिक प्रश्नहरुमा उनीहरुसित हुने एकताबाट पछाडि हट्ने हाम्रो कहिल्यै पनि दृष्टिकोण रहेको छैन । उनीहरुसित पहिले भएका कैयौं चुनावी तालमेलहरुमा उनीहरुले धोका दिनुका बाबजुद जुन राजनीतिक प्रश्नहरुमा उनीहरुसित एकता हुन सक्दथ्यो, त्यसबारे हामीले उनीहरुसित बिना हिचकिचाहट एकता गर्ने नीति अपनाउँदै आएका छौं ।

अहिले बाग्लुंग र प्यूठानमा चुनावी तालमेल बारे उनीहरुले अपनाएका अवाच्छित प्रकारका तौरतरिकाहरुका बाबजुद राष्ट्रिय प्रश्नमा उनीहरुले अपनाउने सकारात्मक नीति वा अडानलाई समर्थन गर्ने वा आवश्यकतानुसार कार्यगत एकता गर्ने हाम्रो नीति कायमै रहेको छ । यो कुरा देशका अन्य राजनीतिक शक्तिहरुबारे पनि सत्य हो ।

अहिले बाग्लुङ वा प्यूठानमा उनीहरुले अपनाएका गलत प्रकारका तौरतरिकाका बाबजुद चुनावपछिका विकास कार्यहरु वा अन्य प्रश्नहरुमा सहमति हुन सक्ने विषयमा आपसमा एकता कायम गरेर काम गर्ने हाम्रो प्रयत्न भइरहने छ ।

बाग्लुङको चुनाव समाप्त भइसकेको छ । तर, प्युठानको चुनाव हुन बाँकी नै छ । उनीहरुसित भएको वार्ता र तालमेलको सम्झौता भंग भएको छ र अब त्यहाँउनीहरुसित पुनः चुनावी तालमेलको सम्भावना छैन । तर, त्यो कारणले हामी निराश छौं भन्ने होइन । हामीले आफ्नो पार्टीको इतिहासमा कैयौंपल्ट नेपाली काँग्रेस, एमाले वा माओवादीसँग एक्लै लामो समयदेखि संघर्ष गर्दै आएका छौं ।

हामीले मूल रुपमा सिद्धान्त, आस्था वा मूल्य र मान्यताको राजनीति गर्दछौं । त्यस आधारमा हामी कुनै पनि ठूलोभन्दा ठूलो राजनीतिक शक्ति वा सरकारसित संघर्षका लागि कहिल्यै पछाडि हट्ने, हिच्किचाउने वा आत्मसमर्पण गर्ने गरेका छैनौं ।

त्यस प्रकारको गौरवपूर्ण इतिहासको सन्दर्भमा, अहिले स्थानीय चुनावको सन्दर्भमा कुनै राजनीतिक पक्षसित हाम्रो तालमेल हुन्छ वा हुँदैन ? यो कुराले हाम्रा लागि निर्णयात्मक महत्व राख्दैन । हाम्रो संयुक्त मोर्चा वा कार्यगत एकताको नीति अनुसार कैयौंपल्ट हामीले आन्दोलन वा चुनावको बेलामा अन्य पक्षहरुसित पनि एकता कायम गरेर काम गर्दछौं । तर, एकताका नाममा आफ्ना नीति वा कार्यक्रमलाई तिलाञ्जली दिने हाम्रो परम्परा रहेको छैन ।

केही समय पहिले हाम्रो पार्टीबाट जारी गरिएको एउटा वक्तव्यमा भनिएको थियो: स्थानीय चुनावको सन्दर्भमा विभिन्न पक्षहरुसित पारस्पारिक समझदारी अनुसार चुनावी तालमेल गर्ने हाम्रो नीति हुनेछ । तर, त्यस प्रकारको तालमेल सम्मानजनक प्रकारले हुन नसकेमा त्यसलाई दृढतापूर्वक अस्वीकार गर्नु पर्दछ ।’

त्यस अनुसार नै अहिले प्युठानमा एमाले वा कुनै पक्षसित तालमेल नभए पनि हामी दृढतापूर्वक चुनावमा लाग्नु पर्दछ । हामीले बारम्बार यो कुरा स्पष्ट गर्ने गरेका छौं कि चुनाव हाम्रा लागि राजनीतिक संघर्ष वा जनतालाई राजनीतिक रुपले प्रशिक्षण गर्ने एउटा माध्यम हो । त्यसकारण त्यस प्रकारको नीतिअनुसार नै अहिले चुनावको अभियानलाई सफल पार्ने प्रयत्न गर्नुपर्दछ । यो कुरा प्यूठान वा दोस्रो चरणको चुनाव हुन थालिरहेका सबै जिल्लाहरुका सन्दर्भमा पनि सत्य हो ।

जनमोर्चाको तालमेल नीति

कुनै खास बेला वा परिस्थितिको आवश्यकता अनुसार दुश्मन, प्रतिक्रियावादी वा मित्र राजनीतिक शक्तिसित पनि संयुक्त मोर्चा वा कार्यगत एकता गर्नुपर्ने आवश्यकतालाई माक्र्सवादी-लेनिनवादी सिद्धान्तले स्वीकार गर्दै आएको छ । ०४६ को जनआन्दोलन, गिरिजा शासनका विरुद्धको संयुक्त आन्दोलन, महाकाली सन्धि विरोधी आन्दोलन, ०६२-६३ को जनआन्दोलन, लोकमानसिंह कार्की नियुक्ति विरोधी आन्दोलन, अपर कणर्ाली, लिपु लेक आदि विरोधी आन्दोलन, विगतका विभिन्न संसदीय वा स्थानीय चुनावहरु, जनवर्गीय संगठनहरुका विभिन्न चुनावहरु, भारतीय नाकाबन्दी विरोधी आन्दोलन आदिका सन्दर्भमा माओवादी, एमाले, कांग्रेस मधेसवादी, राप्रपा समेतसित पनि राष्ट्रिय जनमोर्चाले कार्यगत एकता गर्दै आएको छ ।

राष्ट्रपतिको चुनावमा जनमोर्चाले रामवरण यादवलाई पनि समर्थन गरेको थियो । त्यही कार्यगत एकताको नीतिअनुसार नै चित्रबहादुर के.सी.को नेतृत्वमा राष्ट्रिय जनमोर्चा ओली नेतृत्वको सरकारमा सामेल भएको थियो ।

बेग्लाबेग्लै समयमा अपनाएका कार्यगत एकताका नीतिहरुसित सम्बन्धित एउटा अर्को पक्षप्रति पनि हामीले प्रकाश हाल्न चाहन्छौं ।

हामीले बेग्लाबेग्लै समयको आवश्यकता अनुसार कुनै पक्षसित कार्यगत एकता गरे पनि त्यससित भएका मतभेदहरु बारे आवश्यकतानुसार विरोध वा संघर्ष गर्ने नीतिलाई कहिल्यै पनि तिलाञ्जली दिने गरेका छैनौं । ०४६ सालको आन्दोलनमा कांग्रेसप्रति कार्यगत एकताको नीति अपनाए पनि पछि गिरिजा शासनका विरुद्ध वामपन्थी शक्तिहरुको साढे २ वर्षसम्म संयुक्त आन्दोलन चलेको थियो । जसमा नेकपा मसाल पनि लगातार सामेल भएको थियो ।

त्यस्तै ०६२-६३ को आन्दोलनमा माओवादीसित कार्यगत एकता गरे पनि पछि त्यसका गलत नीतिहरुका विरुद्ध हामीले लगातार संघर्ष गर्ने नीति अपनाएका थियौं । महाकाली सन्धिका विरुद्ध राप्रपासित कार्यगत एकता गरे पनि पछि त्यसका गलत नीतिहरुका विरुद्ध हामीले लगातार संघर्ष गरिरह्यौं ।

एमालेको नेतृत्वमा सरकारमा सामेल भए पनि राजमोले ओली नेतृत्वको सरकारले संसदमा प्रस्तुत गरेको दोस्रो संविधान संशोधन विधेयकका विरुद्ध मतदान गरेको थियो । त्यस प्रकारको पृष्ठभूमिमा नै हामीले अहिलेको स्थानीय चुनावको सन्दर्भमा पनि आफ्नो नीति निर्धारित गरेका छौं ।

हाम्रो शुरुदेखि नै यो मत रहेको थियो कि जुन राजनीतिक शक्तिहरु मिलेर संविधानको निर्माण गरे, संविधानको कार्यान्वयनको लागि पनि उनीहरुका बीचमा एकता कायम हुनुपर्छ । यस सिलसिलामा मुख्यतः एमाओवादी, एमाले र नेकाको बीचमा एकता कायम हुनुपर्छ भन्ने कुरामा जोड दिँदै आएका थियौं । ती बेग्लाबेग्लै राजनीतिक शक्तिहरु वा संविधानमा समेत हाम्रो गम्भीर प्रकारका मतभेदहरुका बाबजुद आफ्ना मतभेदहरुलाई सुरक्षित राख्दै संविधानको कार्यान्वयनमा उनीहरुले गर्ने प्रयत्नहरुलाई समर्थन गर्ने हाम्रो नीति रहेको थियो ।

तर, भारतीय विस्तारवादको षडयन्त्रका कारणले उनीहरुका बीचको त्यो एकता बारम्बार खण्डित हुँदै गयो । भारतले पहिले सुशील कोइरालालाई प्रधानमन्त्रीको प्रलोभन दिएर ने.का.लाई फुटायो भने पछि प्रचण्डलाई त्यही प्रकारको प्रलोभन दिएर माओवादी केन्द्रलाई फुटायो । त्यसरी संविधानको निर्माणको क्रममा उनीहरुका बीचमा कायम भएको एकता टिक्न सकेन । तैपनि हाम्रो पार्टीले ०६२-६३ को आन्दोलन वा संविधानको निर्माणको कालमा उनीहरुसित कायम भएको कार्यगत एकताको नीतिलाई अहिले पनि परिवर्तन गरेको छैन ।

अहिले स्थानीय चुनावको सन्दर्भमा पनि हामीले संविधानको निर्माणको क्रममा एकता कायम भएका माओवादी केन्द्र, एमाले वा ने.का.सित आवश्यकतानुसार कार्यगत एकता गर्ने हाम्रो नीति रहेको छ ।

निश्चय नै कुनै जिल्लाको स्थिति, आवश्यकता र परस्परमा कायम हुन सक्ने समझदारी अनुसार तीमध्ये कुनै पक्षसित कार्यगत एकता गर्ने वा नगर्ने बारे निर्णय गर्ने अधिकार सम्बन्धित जिल्ला समितिलाई नै दिएका छौं ।

(सिंह राष्ट्रिय जनमोर्चाको मातृ पार्टी नेकपा मसालका महामन्त्री हुन् । उनको यो लेख शीर्षक परिवर्तन एवं सामान्य सम्पादनसहित प्रकाशित गरिएको छ- सं )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment