Comments Add Comment

एमालेद्वारा संसद अवरुद्ध, आफ्ना उम्मेदवारलाई सडकबाटै विजयी घोषणा गर्ने चेतावनी

फाइल तस्वीर

१७ जेठ, काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले भरतपुर महानगरपालिकाको मतगणना तत्काल सुरु गर्न माग गर्दै व्यवस्थापिका संसद अवरुद्ध गरेको छ ।

साथै उसले पुनः मतदानमा जाने निर्णय गरे एकतर्फी रुपमा आफ्नो उम्मेदवारलाई विजयी घोषणा गर्न सक्ने चेतावनी दिएको छ ।

संसदको बुधबारको बैठक शुरु हुनासाथ विशेष समय लिएर बोल्दै एमाले सांसद सुरेन्द्र पाण्डेले भरतपुर काण्ड जनताको सार्वभौम अधिकारमाथिको बलात्कार भएको बताए ।

एमाले उम्मेदवार देवी ज्ञवाली जिततर्फ उन्मुख भएपछि प्रतिनिधि बनेर गएका माओवादी केन्द्रका कार्यकर्ताले सुनियोजित ढंगले मतपत्र च्यातेको भन्दै उनले यसलाई मतगणनास्थल कब्जा भन्न नमिल्ने बताए । तत्काल मतगणना सुरु गर्न माग गर्दै उनले अघि भने, ‘यदि अन्यथा निर्णय भयो भने एमालेले यो नजिता विजयी भयो भनेर स्वयंम घोषणा गर्न बाध्य हुनेछ ।’

साथै उनले भरतपुरमा पुनःमतदान गरे नेपालभर अर्को चुनाव हुन नसक्ने चेतावनी पनि दिए । यो कुरा बुझिराखे हुन्छ भन्दै उनले भने, हार्न लागेपछि ५ वटा मतपत्र च्यातेपछि पुनः मतदानमा जाने हो भने निर्वाचन आयोगले सधैं भरी चुनाव मात्र गरेर बस्नुपर्नेछ । ५ वर्ष चुनाव गर्नुपर्ने स्थिति हुनेछ ।’

एमालेको अवरोधपछि सभामुख ओनसरी घर्ती मगरले संसदको बैठक बिहीबारसम्म स्थगित गरेकी छन् ।

राज्य व्यवस्था समितिमा पनि भरतपुर प्रवेश

यसैबीच संसदको राज्य व्यवस्था समितिमा पनि भरतपुरमा मतपत्र च्यातिएको प्रकरणले प्रवेश पाएको छ ।

बुधबारको बैठकमा एमाले सांसदद्धय यज्ञराज सुनुवार र रामेश्वर फुयालले भरतपुर प्रकरणमा समिति चूप लागेर बस्न नसक्ने बताए ।

उनीहरुले निर्वाचन आयोग हेर्ने जिम्मेवारी राज्य व्यवस्थाको रहेको भन्दै भरतपुर प्रकरणबारे निर्वाचन आयोगसँग छलफल गरी आवश्यक निर्देशन दिनुपर्ने बताए । यसबारे अर्को बैठकमा छलफल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment