Comments Add Comment

सिराहामा चुनावी चहल पहलः उम्मेदवार छनोटमा माओवादी अगाडि

२० जेठ, सिराहा । दोस्रो चरणको स्थानीय निर्वाचनका लागि राजनीतिक दलहरुले सिराहामा सक्रियता बढाएको छ । राजनीतिक दलहरु यतिबेला उम्मेदबार छनौट गर्न कसरत गरिरहेको छ ।

सिराहामा ७ नगरपालिका र १० गाउँपालिका छन् । सबै तहमा आफ्ना उम्मेदवार जित्ने भन्दै दलहरुले उम्मेदबार छनौटलाई तीव्र बनाएका छन् ।

जिल्लाका नेताहरुका अनुसार निर्वाचनलाई सफल बनाउनका निम्ति पहिलो चरणमा उम्मेदवार छनोटलाई प्राथमिकता दिइएको छ । मुख्य दलहरु कांग्रेस, एमाले, नेकपा माओवादी केन्द्र र संघीय समाजवादी फोरमले उम्मेदबार छनौट गर्ने कार्यलाई तिब्र बनाएका छन् ।

उम्मेदबार छनोटको मामिलामा नेकपा माओवादी केन्द्र अगाडि देखिएको छ । यो पार्टीले जिल्लाका आधाजति स्थानीय निकायमा उम्मेदबार छनौट गरिसकेको छ ।

पार्टीका जिल्ला अध्यक्ष रामकुमार यादवले नगरपालिकाका मेयर र उप मेयरको छनौट भइसकेको जानकारी दिए । उनले वडा अध्यक्ष तथा सदस्यहरुको छनोट अन्तिम चरणमा रहेको बताए ।

पार्टीका पोलिटब्यूरो सदस्य रामनारायण सिंहले जिल्लामा जितिने उम्मेदबारहरु छनोट भइरहेको दाबी गरे ।

नेपाली कांग्रेस सिराहाले पनि उम्मेदबार छनौट गर्न छलफल र बैठकलाई तिब्र बनाएको छ । जिल्ला सभापति रामचन्द्र यादवले वडा तहमा लगभग उम्मेदवार छनोटको काम भइरहेको र गाउँ तथा नगरपालिकाको प्रमुख र उप प्रमुखका लागि घनिभूत छलफल भइरहेको जानकारी दिए ।

त्यस्तै नेकपा एमाले पनि उम्मेदबार छनोटमै केन्द्रित भएको छ । जिल्ला अध्यक्ष प्रमोद यादवले जिल्ला तहबाट उम्मेदबार छनोटको काम सकेर प्रदेशमा पठाइसकिएको बताए । उनले प्रदेशबाट नाम पारित भएर आएपछि सार्वजनिक गरिने बताए ।

संघीय समाजवादी फोरम नेपाल पनि उम्मेदबार छनोटमा केन्द्रित बनेको छ । केन्द्रीय सदस्य सत्यनारायण यादवले दैनिकरुपमा उम्मेदबार छनोटका लागि जिल्लाको सबै ठाउँमा छलफल भइरहेको बताए । उनले जेठ मसान्तभित्र उम्मेदबार टुंगो लगाइने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment