Comments Add Comment

देउवा सरकारमा अर्थमन्त्री र गृहमन्त्री को-को ?


२० जेठ काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमाले कुनै अवरोध गरेन भने भोलि आइतबार व्यवस्थापिका संसदले नयाँ प्रधानमन्त्री चुन्नेछ ।

तर, भरतपुरमा पुनः मतगणना सुचारु गर्ने निर्णय नआए सदन चल्न नदिने एमालेको अडान यथावत छ ।

संसद अवरुद्ध रहे पनि प्रधानमन्त्री निर्वाचन प्रक्रिया सुरु भइसकेको छ र प्रधानमन्त्रीका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उम्मेदवारी दिएका छन् । माओवादी केन्द्र र फोरम लोकतान्त्रिकसहित केही साना दलको समर्थन पाएका देउवाको पक्षमा अहिले प्रष्ट बहुमत देखिइसकेको छ ।

कांग्रेस नेताहरुका अनुसार सुरुमा ५ देखि ७ सदस्यीय मन्त्रिपरिषद् बनाउने तयारी छ । कांग्रेस र माओवादी नेताहरु अब मन्त्री छनोटका लागि गृहकार्यमा जुटिसकेका छन् ।

अर्थ मन्त्रालय कांग्रेस र गृह मन्त्रालय प्रमुख सत्तारुढ घटक माओवादीले लिने सहमति भइसकेको छ । यो प्रचण्ड सरकार गठनका क्रममा नै भएको सहमति हो । दुबै दल अहिले पनि यसमा प्रतिवद्ध छन् ।

यसअर्थमा देउवा सरकारमा अर्थमन्त्री कांग्रेसबाट र गृहमन्त्री माओवादी केन्द्रबाट हुनेछन् ।

अर्थमन्त्री र गृहमन्त्री को ?

कांग्रेसले अहिलेसम्म अर्थमन्त्री कसलाई बनाउने भन्ने औपचारिक निर्णय गरिसकेको छैन । तर, दुईवटा नाम छलफलमा छन् ।

अर्थमन्त्रीका प्रमुख दाबेदार हुन् महेश आचार्य । प्रधानमन्त्री बन्ने तयारीमा रहेका देउवाले पनि आचार्यलाई नै अर्थमन्त्री बनाउन चाहेका छन् ।

तर, देउवा समूहले आचार्यलाई स्वीकार गर्छन् कि गर्दैनन् अहिले नै भन्न सकिने अवस्था छैन ।

कांग्रेसका एक नेता भन्छन्, ‘देउवाले त महेशलाई नै अर्थमा लैजान चाहेका छन् । तर, उनले चाहेर मात्रै हुँदैन । उनले त प्रचण्ड सरकारमा शेखर कोइरालालाई परराष्ट्रमन्त्री बनाउन चाहेका थिए । तर, गुटले नदिए पनि केही लागेन ।’

देउवा समूहमा सम्भावित अर्थमन्त्रीका रुपमा ज्ञानेन्द्रबहादुर कार्कीको नामसमेत चर्चामा छ ।

वर्तमान परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले पनि अर्थमन्त्री बन्ने इच्छा देखाएका छन् । तर, महत दोहोरिने सम्भावना निकै कम रहेको नेताहरुले बताएका छन् ।

गृहमन्त्रालय पाएको दल माओवादी केन्द्र पनि कुनै औपचारिक निर्णय गरिसकेको छैन ।

वर्तमान प्रधानमन्त्री एवं पार्टी अध्यक्ष प्रचण्ड गृहमा जनार्दन शर्मालाई पठाउन चाहेका छन् । उर्जामन्त्री शर्मा प्रचण्ड सरकारका सफल मन्त्रीमा पर्छन् र, उनले पनि देउवा सरकारमा पार्टीको नेतृत्व आफूले गर्ने दाबी पेश गरेका छन् ।

तर, प्रचण्डकै टिमका केही नेताहरुले शर्मालाई चाहेका छैनन् । यो समूहको मत वर्तमान उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरालाई उपप्रधानमन्त्रीसहित गृहमा पठाउनुपर्छ भन्ने छ ।

उसो त उर्जामा राम्रो काम गरेकाले शर्मालाई त्यही मन्त्रालयमा पठाउनुपर्ने मत पनि माओवादीमा छ ।

माओवादीभित्रैको एउटा मत चाहिँ जनार्दन शर्मालाई गृहमन्त्री बनाएर अन्य नयाँ सांसदहरुलाई सरकारमा पठाउनुपर्ने पक्षमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment