नेपालसँग कुनैबेला समान आयस्तर भएको दक्षिण कोरिया अहिले एसिया र विश्वकै ठूलो अर्थतन्त्र हुने राष्ट्र भएको छ । नेपालीको प्रतिव्यक्ति आयभन्दा कोरियाली जनताको आय कैयौं गुणा बढी छ । उसको आर्थिक प्रगतिलाई ‘हान नदीको देन’ भनेर संसारमा प्रशंसा गरिन्छ ।
अभाव, गृहयुद्ध र भोकमरीमा परेका बेला नेपालले ४० हजार क्विन्टल गहुँ अनुदान दिएको कोरियाले साढे पाँच दशकमै यति धेरै आर्थिक विकासको फड्को पार गर्नुको ‘कारण’ -मोडेल) हरु नेपालका लागि उदाहरणीय बिषय बन्न सक्छन् ।
धेरै लेखक, विश्लेषकहरुले सैनिक कमाण्डर पार्क जङ हीको ‘स्ट्राङ लिडरसीप’ र उनको ‘विकासवादी रणनीति’ लाई सफल आर्थिक क्रान्तिको सूत्र मानेका छन् । लेखकहरुको यो विश्लेषणलाई धेरैले सत्य नजिक मानेका छन् ।
पार्कको अनेक विकासवादी रणनीतिमध्ये ‘सेमाउल उन्दोङ’ पनि एक हो । गाउँको विकास भए मात्र देशको विकास हुन्छ भन्ने मान्यता राख्ने अभियान हो यो । यसको मुख्य लक्ष गरीब जनतालाई धनी बनाउनु थियो । नेपाली परिवेशमा पनि यो अभियान सान्दर्भिक हुने भएकाले यसको चर्चा गर्ने प्रयास गरिएको छ ।
के हो सेमाउल उन्दोङ ?
कोरियन भाषामा ‘से’ ‘नयाँ’, ‘माउल’ ‘गाउँ’ र ‘उन्दोङ’ भन्नाले ‘अभियान’ भन्ने बुझिन्छ । अथवा ‘सेमाउल उन्दोङ भन्नाले नयां सामुदायिक अभियान भन्ने बुझिन्छ । यो अभियानको प्रर्वतक समाज सुधारक किम योङ की हुन् । उनले सन् १९३२ देखि यो अभियान संचालन गर्दै आएका थिए ।
किमले ‘काम नगर्ने भए खाना नै नखाउ’ भन्ने नारामा साथ यो अभियान सञ्चालन गरेका थिए । सेमाउल उन्दोङ सुख एवम् सम्वृद्धिका लागि सञ्चालन गरिएको एक अभियान हो । यो गरिबी निवारण गर्ने एक अभियान हो । सबैले राम्रो शिक्षा, खाना लाउन र सुरक्षित तथा सुविधाजनक घरमा बस्न पाउन भन्ने उद्देश्य राखिएको थियो ।
किमको यो अभियानले ‘ग्रामीण जनतालाई आत्मनिर्भर बनाउने र देशको बिकासमा टेवा पुर्याउँछ’ भन्ने बुझेका दूरदर्शी सैनिक शासक पार्कजङ हीले सबै जनतालाई यो अभियानमा सामेल हुन अह्वान गरे । उनले सन् १९७० अप्रिल २२ मा यो अभियानलाई सरकारी रणनीतिको रुपमा मान्यता दिए ।
राष्ट्रलाई सम्बोधन गर्दै पार्कले भने ‘नयांँ सामुदायिक अभियानले सहयोग र आत्मनिर्भरताको भावनाका साथ हाम्रो गाउँको सुधार र आधुनिकीकरण हामी आफैं गर्ने हाम्रा प्रयासहरुलाई आत्मसात गर्छ । यसले कोरियाको प्रत्येक गाउँलाई समृद्ध र बस्नका निम्ति आरामदायी बनाउँछ भन्ने पूर्ण विश्वासका साथ यो राष्ट्रिय अभियान लागु गरिएको छ ।’
सरकारी मान्यता दिँदै यो अभियानमा जनतालाई सामेल हुन आह्वान गरेका पार्कले यसको प्रभावकारी कार्यान्वयनमा जोड दिए । उनले त्यसै बर्ष उन्नत गाउँ निर्माणको निम्ति ‘दश परियोजना’को कार्यसम्पादन निर्देशिका जारी गरेर ३३ हजार २ सय ६७ गाउमा लागु गर्दै सामुदायिक विकासका लागि जिन्सी सहायता दिन शुरु गरे ।
सरकारले हरेक गाउँमा ३ सय ५५ बोरा सिमेन्ट र ५ सय केजी रड बाँड्न शुरु गर्यो । अर्कातिर सरकारी कर्मचारी, विचारक, सामुदायिक अभियानका र निजी क्षेत्रका अगुवालाई तालिमको व्यवस्था गर्यो । कर्मचारीलाई भ्रष्टाचारी भावनाबाट टाढा रहन ‘सुनलाई ढुंगा जस्तै देख’ लेखिएको ‘हरियो टाई’ वितरण गरिएको थियो ।
यो अभियानले नागरिकलाई समाजप्रति समर्पित हुने अगुवा नेतृत्व तयार पार्यो । यसैको शिक्षाले सदस्यहरुलाई स्वतःस्फूर्त जग्गादान, श्रमदान, सामग्री दान गर्ने उत्प्रेरणा प्रदान गर्यो ।
नयाँ सामुदायिक अभियान लागु भएका गाउँले जनताको आय विस्तारै बढ्न थाल्यो । यो क्रम ४ वर्ष पुग्दा ग्रामीण जनताको आय बढेर शहरी परिवारको आयभन्दा बढी हुन पुग्यो ।
सन् १९७४ मा कृषकको आय ६७४.५४ वन् पुग्यो भने शहरी क्षेत्रमा बसोबास गर्नेको ६४४.५२ वन् मात्र रह्यो । शहरी भन्दा ग्रामीण जनाताको आय बढ्नुको कारण के थियो भने सेमाउल उन्दोङ लागु भएको हरेक गाउँ वा इकाईमा कृषिमा आधारित एक सेमाउल उद्योग अनिवार्य खोल्नुपर्ने शर्त थियो । यस्ता उद्योगले गाउँको आय बढाउने काम गर्यो भने रोजगारीको अवसरहरु सिर्जना गर्यो ।
यो सफलता र तथ्यांकबाट हौसिएका चतुर पार्कले सन् १९७४ देखि नै शहरमा पनि लागु गर्ने घोषणा गरे । उनको घोषणसँगै औद्योगिक क्षेत्रहरुको विकास तीब्ा्र रुपमा हुन गयो । शहर केन्दि्रत उद्योगहरुको विकास हुँदा पनि सरकारले उद्योगको सेमी प्रोडक्ट सम्बन्धी कम्पनीहरु बढी गाउँमै स्थापना गर्ने नीति लियो । यो नीतिले गाउँ र सहरलाई जोड्ने र गाउँको विकास र रोजगारीमा टेवा पुर्याउने काम गर्यो ।
सन् १९७० मा ८३ करोड डलर निर्यात गरेको कोरियाले यो अभियानको सफलताकै कारण सन् १९८० सम्म पुग्दा कोरिया एक औद्योगिक राष्ट्रका रुपमा दर्ज हुन पुग्यो । र, १९८० मा १७ अर्ब डलरको उत्पादन निर्यात गर्यो ।
यो अभियान शतप्रतिशत सफल हुनको एउटा कारण थियो, यसमा गाउँलाई ४०/५० घरको सानो भन्दा सानो इकाइमा विभाजन गरियो र प्रत्येक निणर्ायक कार्यक्रममा सबै घरका प्रतिनिधिले राय व्यक्त गर्ने सुविधा दिइयो । यो इकाइले जे चाहन्छ, त्यसैमा परियोजना सञ्चालन गर्ने गरियो । यस्तो इकाईले समुदायमा भावनात्मक एकताको बिकास गर्यो भने अर्कोतिर निर्णय गरिएका योजनाहरुमा असन्तुष्टि असहमति भन्ने प्रश्न नै उठ्न पाएन ।
यो अभियान सफल हुँदै गएपछि गाउँ ईकाईहरुले तर्जुमा गरेका परियोजनामा सरकारले ५० प्रतिशत ऋण, ३० प्रतिशत अनुदान र २० प्रतिशत समुदायको लगानी हुने व्यवस्था गर्यो । यो मोडेललाई केही वर्षमै राष्ट्रव्यापी गरियो ।
त्यस्तै अर्को महत्वपूर्ण कुरा, सरकारले समय सापेक्ष कृषिमा आधिनीकिकरण गर्यो । यसका लागि कृषि विज्ञलाई देशभर परिचालन गरेर कृषि तालिम प्रदान गरियो । यो तालिमले माटोको उर्बर क्षमता वृद्धि भयो ।
कृषिमा व्यापक आधुनिकीकरण गरिएकै कारण अहिले कोरिया २.३ प्रतिशत कृषककै उत्पादनले खाद्यान्नमा आत्मनिर्भर बनेको छ । यो अभियान कुनै समय भोक, रोग र बेरोजगारीले तड्पिएका कोरियाली किसानका लागि सफलताको मन्त्र बन्यो ।
तीन मन्त्र
१.परिश्रम: यो अभियानले परिश्रममा जोड दिन्छ । यसको मूल नारा नै ‘काम गर अनि मात्र खाना खाउ’ भन्ने रहेको छ । यो अभियानमा लागेकाहरु ‘कामले सत्यता प्रकट गर्छ र परिश्रमले मात्र धनी बनाउँछ’ भन्ने मान्यतामा बिश्वास गर्छन् । उत्साहजनक परिश्रम र जनसहभागितले यो समुदायमा ठगी खाने प्रवृत्तिको पूर्ण अन्त्य भएको छ । यो अभियानबाट दीक्षित भएरै पनि कोरियाली जनता बढी इमान्दार र परिश्रमी भएका हुन् ।
२.स्वयंसेवाः यो अभियानमा आफ्नो काम आफैं गरेर स्वावलम्बी बन अनि छिमेकीलाई सहयोग गर भन्ने सुत्र रहेको छ । यो प्रवृत्तिले समाज र राष्ट्रमा एकताको भावना बलियो बनाउने काम गर्यो ।स्वंयमसेवाले स्वावलम्बी बनाउने काम गर्यो । परोपकारी हिसावले स्वयंसेवा गर्नेका लागि यो अभियानले स्वयंसेवाको परिभाषा नै परिवर्तन गरिदियो ।
स्वयमसेवाले स्वावलम्बी बनेकै कारण कुनै समय ‘सित्तै पाउँदा विष पनि पिउने’ कोरियाली जनताले सन् १९७४ देखि बिदेशी सहायता नलिने घोषणा गरे । यसै बर्षदेखि उसल्ो गरिब मुलुकलाई सहायता दिन शुरु गरेको छ ।
३.सहकार्यः एक्लै व्यवसाय गर्दा सफलता हासिल गर्न निक्कै गाह्रो हुन्छ । सहकार्यले ठूलो पुँजी लगानी गरेर ठूलै उत्पादन गर्न सकिन्छ ।
यो मान्यताले साना र एकल लगानीलाई पूर्णरुपले निरुत्साहित गर्यो र कर्पोरेट अवधारणाको विकास गर्यो । यसैको परिणामस्वरुप कोरियामा पोस्को जस्ता विश्वको प्रमुख स्टिल कारखाना, हुन्डाई मोटर कारखाना, साासुंङ इलेक्ट्रोनिक्स लगायतका ठूला र प्रसिद्ध कर्पोरेट कम्पनीहरु स्थापना भएका छन् ।
नैतिक निर्माणमा केन्द्रित
कोरिया विकसित भइसके पनि उसले सेमाउल उन्दोङ कार्यक्रमलाई त्यागेको छैन । निजामती र संस्थानका कर्मचारीहरुलाई अनिवार्य यस सम्बन्धी तालिम दिइरहेको छ । हालसम्म उसले ३६ लाख भन्दा बढी नागरिकलाई अगुवा तालिम प्राप्त बनाइसकेको छ । गाउँगाउँमा सरकारले कार्यक्रमहरु प्रवाह गरिरहेको छ ।
सरकारी तवरबाटै सेमाउल उन्दोङको प्रचार-प्रसार भइरहेको छ । हरेक सडकको किनार र चोकहरुमा सेमाउल उन्दोङ लोगो अंकित झण्डाहरु फहराइरहेका छन् ।
क्रमशः अहिले यो अभियानमा सरकारी भूमिका घटाउँदै, सामाजिक क्षेत्रको भूमिकालाई सामुहिक नेतृत्वमार्फत अघि बढाउँदै नैतिक निर्माण गर्ने अभियानमा केन्दि्रत गरिएको छ । आर्थिक विकास समृद्धिको पहिलो लक्ष पूरा भइसकेकाले यसको लक्ष सभ्य, समुन्नत तथा एकीकृत समुदाय निर्माणमा अभियानमा लगाइएको छ । अहिले यो अभियानलाई नागरिक समाजले नेतृत्व दिइरहेको छ ।
नेपालमा सेमाउल उन्दोङ
नेपालमा सेमाउल उन्दोङ प्राध्यापक नवराज पन्तको पहलमा सन् २००३ बाट चितवन पिप्ले गाविसमा लागु गरिएको छ । यो गाउँलाई ६२ इर्काइमा विभाजन गरेर ३ सय किसानहरुलाई लक्षित गरी सञ्चालन गरिएको छ । यो अभियानमा आवद्ध किसानहरु सामुहिक तरकारी खेती, गाई, भैंसी, बंगुर, बाख्रा पालन गरिरहेका छन् ।
सेमाउल अभियानले आय बढाएपछि किसानहरु आत्मनिर्भर हुँदै गएका छन् । यहाँ पनि कोरियाकै नमूना हुबहु लागु गरिएको प्रा.पन्त बताउँछन् । उनका अनुसार ४०/५० घरको बस्ती वा टोलमा आधारित पारिएको छ । त्यसमा स्वतस्फुर्त जनसहभागिता छ । जिन्सी सिमेन्ट, रड , तार, सामाग्री, तालिम र प्रविधि हस्तान्तरण गरिएको छ । सबैभन्दा राम्रो पक्ष त ठेकेदारी प्रथाको पूर्ण अन्त्य भएको छ ।
जनतालाई पैसा दिइएको छैन र ठेकेदार हुल्न निषेध गरिएको छ । बरु जनाताले जग्गा दान, श्रम दान, बिउ दान दिएका छन् । परियोजना लागु गर्दा वातावरण सुधार, आय आर्जन र सामाजिक चेतना बढाउने खालका अभियान सञ्चालन गरिएको छ ।
यो अभियान शुरु भएपछि पिप्लेका जनताको आयमा उल्लेखनीय वृद्धि भएको तथ्यांकले देखाएको छ । सेमाउल नेपालका अनुसार सन् २००३ मा त्यस गाउँका किसानको आय २ सय ५० डलर थियो । २०१६ मा ६ गुणा बढेर १ हजार ५ सय ७५ डलर पुगेको छ । यो नेपालीको औसत आयभन्दा दोब्बर हो ।
यसबाट के प्रमाणित हुन्छ भने सामुदायिक अभियानहरुमा नीतिगत सुधार भए विकास र समृद्धि सहज र सम्भव छ ।
धादिङ र काठमाण्डौमा पनि यो अभियान शुरु गरिएको छ । त्यस्तै ४४ जिल्लाका ५ हजार जनालाई अगुवा कार्यकर्ता तालिम दिइसकिएको छ । त्यस्तै १ सय ५० जना भन्दा बढी निजामति कर्मचारी, योजनाविद, प्राध्यापक, पत्राकार, शिक्षक, किसान र सामाजिक कार्यकर्तालाई कोरियामा पुर्याएर ताालिम दिइएको छ ।
नेपालमा सेमाउल उन्दोङलाई सफल बनाउन रोजगारीका लागि कोरिया गएका नेपाली युवालाई तालिम केन्द्रहरुमा यसबारे जानकारी गराउनु पर्दछ । अथवा, कोरियाको बिकासमा सेमाउल उन्दोङको भूमिकाबारे जानकारी गराउनुपर्दछ र कोरिया प्रवेश गरेपछि पनि सेमाउलको गतिविधिमा संलग्न गराउन प्रेरित गर्दै काम गरेर बचेको अतिरिक्त समयमा सेमाउल गतिविधिमा संलग्न हुने वातावरण सिर्जना गराइदिनु पर्दछ । त्यसैगरी कोरियामै रहेका व्यवसायी, विद्यार्थी र अन्यलाई पनि यो अभियानमा समाहित गर्नुपर्दछ ।
त्यस्तै कार्यावधि पूरा गरेर कोरियाबाट फर्केका नेपालीहरुलाई ईपीएस शाखाले समन्वय गरेर उनीहरुले प्राप्त गरेको सामुदायिक बिकासको सीप, ज्ञान र अनुभवलाई सदुपयोग गर्ने वातावरण सिर्जना गर्नुपर्दछ ।
कोरियाको विकास बुझेर फर्केका नेपालीहरुलाई सेमाउल उन्दोङका अगुवा कार्यकर्ता बनाउनु पर्दछ । ईपीएस शाखाले समन्वय गरेर उनीहरुले प्राप्त गरेको सामुदायिक विकासको सीप, ज्ञान र अनुभवलाई सदुपयोग गर्ने वातवरण सिर्जना गर्न सकिन्छ ।
कोरियाबाट फर्केका नेपाली कामदारहरुको संगठित संस्था ‘अंकुर’ र माइग्रेन्ट एशोसिएसनसँग समन्वय गरेर सेमाउल उन्दोङको गतिविधिमा समावेश गराउँदा नेपालको विकासमा यसले सहयोग पुर्याउन सक्छ । ।
‘अंकुर नेपालले’ कोरियाबाट फर्केका नेपाली युवाहरुको तथ्यांक संकलन गरेर अद्यावधिक राखेको हुनाले सेमाउल उन्दोङ कार्यक्रम र परियोजनाहरुमा उनीहरुलाई परिचालन गर्न सहज देखिन्छ । कोरियामा रोजगारी गर्न जाने नेपाली महिलाहरुको संख्या बढिरहेको छ । कुनै अभियान सफल बनाउन महिलाको भूमिका मुख्य रहने भएकाले सेमाउल उन्दोङको अभियानमा महिलाहरुलाई सहभागी गराउन पनि उञ्किै जरुरी देखिन्छ ।
नेपालका सामुहिक अभियान
नेपालमा पनि सेमाउल उन्दोङ जस्ता सामुहिक नेतृत्वमा आधारित अभियानहरु व्यक्ति, सरकारी तथा गैरसरकारी निकायबाट सञ्चालन भएका छन् । कृषि तथा पशु विकास, सामुदायिक वन, आमा समुह, गाउँ विकास कार्यक्रमद्वारा गठित समूह, उत्थान समूह, महिला विकास समूह, साना किसान समूह, जनजाति समूह पर्यटन समूहहरु रहेका छन् ।
यी अभियानहरुको सफलता असफलताबारे बिस्तृत अध्ययन गर्न आवश्यक छ । स्थानीय स्तरमा केही अभियानहरु सफल देखिए पनि राष्ट्रव्यापी हुन सकेका छैनन् । यस्ता अभियानहरु बढी मात्रामा वैदेशिक सहायतामा आधारित छन् । गाँठी कुरा के हो भने वैदेशिक सहायताले मात्र समुदाय र देशको विकास हुन सक्दैन ।
वैदेशिक सहायताले जनतालाई अल्छी बनाउँछ र अन्तमा भिखारी बनाइदिन्छ । त्यसैले यो ‘लागु पदार्थ’ जस्तै हो । दिगो सामुदायिक विकासमा अनिवार्य स्वतस्फुर्त जनसहभागिता आवश्यक हुन्छ ।
सरकारी स्तरमा गाउँ विकासका लागि बजेट, संसद बिकास कोष र जिल्ला विकास समितिको माध्यमबाट बजेटको व्यवस्था गरिएको छ । तर, पनि नीतिगत सुधार, राजनीतिक हैकम र तालिमको अभावले सरकारी बजेटको सही सदुपयोग भएको छैन । यस्तो बजेटमा कर्मचारी र दलका कार्यकर्ताको हालीमुहाली हुने गरेको छ । यस्तो विकृतिलाई नियन्त्रण गर्न सबै निकायका कर्मचारीलाई ‘द्रब्यलाई ढुंगा जस्तै देख’ लेखिएको ‘ढाका टोपी’ वितरण गर्नुपर्दछ । ग्रामीण उद्योग स्थापनालाई प्राथमिकता दिनुपर्दछ ।
सामुदायिक बिकास योजनाहरुको निर्माण ठेकेदारले नभएर समूदायले गर्नुपर्छ । सामुदायिक बिकासका लागि ठेकेदारी प्रथाको अन्त्य गर्दै धार्मिक, राजनैतिक र वर्गीय दृष्टिकोणका आधारमा हुने विविध विभेदहरु अन्त्य गर्नुपर्दछ ।