Comments Add Comment

वैकल्पिक शक्तिहरुको एकता: कति सम्भव ?

दशवर्षे द्वन्द्व, भूकम्प हुँदै नाकाबन्दीको चरणसम्म पुग्दा नेपालको अर्थतन्त्रमा पहिरो गयो । विदेशिनेको क्रम दैनिक हजारभन्दा बढी हुनुलाई विज्ञहरुले खतरनाक सामाजिक-आर्थिक संकेतको रुपमा औंल्याएका छन् ।

प्रतिव्यक्ति आय एसियाको सबैभन्दा न्यूनतम विन्दुमा पुगेको छ, रेमिट्यान्सले हावा भरेको ‘बेलुन अर्थतन्त्र’ अहिलेको मुलुकको यथार्थ हो । राजनीतिक अस्थिरताको बादलले बेलुनको हावा पनि उडाएर कतिबेला शिथिल बनाउने हो, पत्तो छैन ।

यस परिस्थितिमा विकास र समृद्धिको तीव्र छलाङ मारेर अघि बढ्न नसके देश दशकौं पछाडि पर्ने निश्चित छ । स्थिर सरकार, विधिको शासन, लोकतन्त्रको खेलमा क्लब जस्ता जिम्मेवार दलहरु र त्यसभित्रका खेलाडीहरु भए मात्र समृद्धिको छलाङ सम्भव हुन्छ ।

तर, यहाँ आफूले भने जस्तो खेल्न पाइनँ भनेर खेल नै हुन नदिने प्रवृत्ति, खेल्दै नखेली जित सुनिश्चितताको माग गरेर आन्दोलन गर्ने टिम, दुई टिम मिलेर म्याच फिक्सिङ गर्ने, एकले अर्कोलाई भोट हाल्न लगाई आत्मघाती गोल गर्ने खेल खेलेर मुलुकलाई अराजक मैदान बनाउने कुचेष्टा सुरु भएको छ ।

स्थानीय चुनावमा धेरै स्थानमा जितेर नेकपा एमाले ठूलो पार्टी बन्दै गर्दा यसको नेतृत्वले अरु दललाई खिसीटिउरी गर्ने र सबैतिर सूर्यले नै जित्नुपर्ने हो भन्ने जस्ता अहङ्कारी वचन बोलेको पाइन्छ । यो स्थितिमा एमालेले संविधानसभाको पहिलो निर्वाचनमा ठूलो पार्टी बनेर सबै गुमाएको माओवादी र दोस्रो निर्वाचनमा ठूलो बनेको कांग्रेसको हविगत हेरेर सिके हुन्छ । एमालेले व्यापक रुपमा समर्थन र सद्भाव पाए पनि यसको नेतृत्वको हलुका टिप्पणीको शैलीले जनमतको अपमान गरिरहेको हेक्का एमालेका जिम्मेवार जनहरुलाई होस् ।

जगन कार्की

विकृतिको चरम नमुना हेर्नुस्, भरतपुरमा मतपत्र च्यातेर बखेडा झिकी जनताको घोर अपमान गरियो । परिवारका आफन्त, साला वा छोरीलाई जिताउन सिद्धान्त र नीति केही नमिले पनि केवल सत्ता र शक्तिका लागि साँठगाँठ भयो । एकदमै विपरीत ध्रुवको नीति बोकेको पार्टीले जनतालाई आत्मघाती गोलको शैलीमा मतदान गर्ने/गराउने प्रवृत्ति हाम्रो गणतन्त्रका चरम विकृत रुप हुन् ।

प्रधानमन्त्रीबाट प्रचण्डको राजीनामासँगै अब कांग्रेसका सभापति शेरबहादुर देउवा सत्तारोहणको तयारीमा छन् । देशको कानून र लोकको अपमान गर्दै आलोपालो सरकार चलाउने प्रथाको सुरुवातले संसदीय व्यवस्थाको विकृत अवस्थामा देशलाई पुर्‍याएको त छ नै, यसै संसदीय व्यवस्था विरुद्ध बन्दुक उठाएर धेरैको बलिदान गरेका कमान्डर नै यस खेलको चलाख खेलाडी बनेर निस्किनु अर्को आश्चर्य छ ।

यस विकृति विरुद्ध वैकल्पिक राजनीतिक शक्तिहरुले भरपर्दो प्रत्यक्ष निर्वाचित कार्यकारी रहने व्यवस्था दिन सक्नुपर्ने देखिएको छ ।

प्रधानमन्त्रीबाट प्रचण्डको राजीनामासँगै सरकारको कामचलाउ हैसियत, एमाले जस्तो जिम्मेवार दलको संसद् अवरोध, राष्ट्रिय जनता पार्टीको आन्दोलन लगायत यी सबै बेमौसमी बाजा हुन् । विधिको शासन मान्ने र शर्तहरुको पालना गर्ने नै दलहरुको नीति हो भने सरकारी गठबन्धनले राजपासँग गरेको वाचा पूरा गर्नुपर्छ । यस्तै, एमाले पार्टीले संसदको प्रक्रियाहरु सहज रुपमा अघि बढ्न दिनुपर्छ ।

यतिखेर अवरोध, ध्वंस र सत्ताकेन्द्रित राजनीतिलाई विस्थापित गरेर निकास र विकासमुखी मुद्दाको राजनीति नै समयको माग देखिएको छ । यसका लागि वैकल्पिक शक्तिहरुलाई प्रशस्त मैदान उपलब्ध छ । तर, यो मैदानमा वैकल्पिक शक्तिहरु छुट्टा-छुट्टै रुपमा जुटेर पुराना शक्तिलाई चुनौती दिने सम्भावना निकै कम छ ।

हरेक सरकारले आकर्षक बजेट ल्याउने गर्छन् । वर्तमान सरकार जाँदै गर्दा चुनावको मुखमा बजेट ल्यायो । प्रश्न उठ्छ- जाँदै गरेको सरकारले ल्याएको बजेट कति जायज होला ?

बिदा लिइरहेको सरकारले यो गर्नेछु, त्यो गर्नेछु भन्दै बजेट ल्याउनु पटक्कै व्यावहारिक देखिन्न । बजेटको ५० प्रतिशत मात्र लक्ष्य इमानदार भएर हासिल गर्ने हो र त्यसका लागि चेष्टा गर्ने हो भने  देश झन् उल्टो गतिमा हिँडिरहेको हुने थिएन होला ।

अहिले कुनै पनि बहानामा स्थानीय तहको दोस्रो चरणको निर्वाचन रोकिनु हुँदैन । सर्वोच्च अदालतले स्थानीय तहको संख्या थप्न रोक लगाउनुका साथै निर्वाचन आयोगले स्थानीय तहको संख्या थपेर चुनाव गर्न नसकिने स्पष्टोक्ति आइसकेको अवस्थामा अहिलेकै स्थितिमा संविधानले तोकेको तीन वटै तहको निर्वाचन सम्पन्न गर्नु प्राथमिक दायित्व हो ।

प्रश्न यहाँ राजनीतिक मुद्दाहरु मिलाएर देशलाई निकास दिने सर्वोच्चले हो कि सरकारले भन्ने पेचिलो बन्दै गएको छ । अदालतले पक्ष-विपक्षको प्रभावमा परेर कार्यपालिका क्षेत्रमा हस्तक्षेप गरेको-नगरेको भन्ने खुट्याउन गाह्रो हुँदै गएको छ ।

प्रदेश सीमांकन बाहेकका मुद्दामा एमाले लचिलो बनेर, यसअघि प्रचण्ड सरकारको गठबन्धनले सहमति गरे अनुसार संशोधनलाई संसदमा प्रस्तुत गरेर (पारित भए पनि नभए पनि) मधेस आन्दोलनको फेस सेभिङ गर्दै संविधानको स्वामित्व लिन मधेसी दलहरु पनि तयार रहनुपर्ने देखिन्छ ।

अहिलेको चाहे वैकल्पिक भन्नुस् वा निर्विकल्प शक्ति भन्नुस्, अब कुराले मात्र च्यूरा भिज्नेवाला छैन । यसैले वैकल्पिक शक्ति भनेर आकर्षणको पात्र/समूह बनेर बस्ने कि मातृभूमिको विकास र समृद्धिको लागि फरक रुपमा सोच्नेहरु आपसी मुद्दामा एकाकार हुँदै मिलेर अघि बढ्ने हो ?

सायद ढिलो-चाँडो सत्ता र शक्तिको लागि सबै पुराना शक्तिहरु मिलेर आफूले भने अनुसार अघि बढ्ने र देशको राजनीति यसरी नै बढिरहने संकेतहरु देखिइसकेको छ । नयाँ युवाहरुको आगमन र कार्यशैली सन्तोषजनक रहे पनि राजनीतिका समग्र चरित्र र स्कूलिङ नै भ्रष्ट भएकाले परिस्थिति फेरिएला र पुराना दलहरु नै सुध्रिएर मुलुकले निकास पाउला भन्ने सम्भावना अझै एक दशक टाढै देखिन्छ ।

यसैले यो अवस्थामा पुराना दललाई परास्त गरेर देशलाई आर्थिक समृद्धिको मार्गमा लैजाने भरपर्दो र बलियो वैकल्पिक शक्तिको खोजी भइरहेको देखिन्छ ।

यतिखेर अवरोध, ध्वंस र सत्ताकेन्द्रित राजनीतिलाई विस्थापित गरेर निकास र विकासमुखी मुद्दाको राजनीति नै समयको माग देखिएको छ । यसका लागि वैकल्पिक शक्तिहरुलाई प्रशस्त मैदान उपलब्ध छ । तर, यो मैदानमा वैकल्पिक शक्तिहरु छुट्टा-छुट्टै रुपमा जुटेर पुराना शक्तिलाई चुनौती दिने सम्भावना निकै कम छ । छोटो समयमा परिणाममुखी राजनीतिक निकास दिन एकता बिना  असम्भव नै देखिन्छ । यसका लागि व्यक्तिकेन्द्रित स्वार्थ र अहङ्कारको अन्त्य हुनु जरुरी छ । यसको अर्थ छाती चौडा पारेर वैकल्पिक शक्तिहरुबीच एकता हुनु जरुरी छ ।

विवेकशील नेपाली दल र साझा पार्टीले पाएको काठमाडौंको एलिट मत र नयाँ शक्ति पार्टीले गाउँबेसीका कन्दराबाट ल्याएको मतले प्रशस्तै आशाको सञ्चार गरेको छ । इतिहासदेखि आजसम्म राणाशाही, पञ्चायत, प्रजातन्त्र, गणतन्त्र हुँदै लोकतन्त्रको यात्रामा जनतालाई धेरै कसम खाने अनि रगतको खोलो बगाउनेहरुले पटकपटक धोका मात्र दिएका छन् । यो सन्दर्भमा कसैले केही कुरा सजिलै दिन्छु, विकास र समृद्धि दिन्छु, सुशासन र पारदर्शिता दिन्छु भनेर आकर्षक नारा ओकल्दैमा पत्याउने अवस्था छैन ।

आजका अधिकांश मतदाताको मनोविज्ञान हेर्ने, बुझ्ने, जाँच्ने अनि मात्र मत दिने अवस्थामा पुगेको छ । अहिलेको चाहे वैकल्पिक भन्नुस् वा निर्विकल्प शक्ति भन्नुस्, अब कुराले मात्र च्यूरा भिज्नेवाला छैन । यसैले वैकल्पिक शक्ति भनेर आकर्षणको पात्र/समूह बनेर बस्ने कि मातृभूमिको विकास र समृद्धिको लागि फरक रुपमा सोच्नेहरु आपसी मुद्दामा एकाकार हुँदै मिलेर अघि बढ्ने हो ? यसतर्फ वैकल्पिक शक्तिहरुले विचार गर्नु अत्यावश्यक छ ।

किनकि यस्ता दलहरु एक हुनु नै जनताको भरोसा जित्ने प्रस्थानविन्दु हुने देखिन्छ ।

ट्विटर: @jaganbimal

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment