Comments Add Comment

श्रीमान चुनाव बहिस्कारमा,श्रीमती बनिन् कांग्रेस उम्मेदवार

सुकीदहका चुनावी चर्चा : छोरी उम्मेदवार बन्दा बाउहरु छिन्नभिन्न

२२ जेठ, रोल्पा । स्थानीय चुनावमा परिवारका सदस्य फरक फरक पार्टीबाट उम्मेदवार बनेको समाचार अब नयाँ रहेन । तर रोल्पाको सुकिदह गाउँपालिकामा भने अलि फरक चुनावी चर्चा छ ।

स्थानीय तहको चुनाव बहिस्कार र असफल पार्न लागेका श्रीमानलाई चुनौति दिदै श्रीमती सत्तारुढ नेपाली कांग्रेसबाट उम्मेदवार बनेपछि सुकिदहमा रमाइलो चर्चा शुरुभ एको छ ।

बिप्लव नेतृत्वको नेकपा माओवादीले चुनाव बहिस्कार गरेको छ । सो पार्टीको शिक्षक संगठनका जिल्ला नेता नेत्र वलीकी पत्नी अमृताकुमारी केसी भने कांग्रेसबाट सुकिदह गाउँपालिका उपाध्यक्षमा उम्मेदवार बनेकी छन् ।

अब मतदाता प्रश्न गर्न थालेका छन्-वलीले पार्टी निर्देशन मानेर चुनाव बहिस्कार गर्लान् कि अर्धाङ्गीनी अमृतालाई जिताउन मतदान गर्लान् ? वली विप्लव निकट शिक्षक संगठनको जिल्ला सदस्य छन् ।

अमृता केसीका ससुरा शेरबहादुर वली भने काङ्ग्रेस तर्फबाट पूर्व वडा अध्यक्ष बनेका थिए । अमृता स्नातक पहिलो वर्षकी विद्यार्थी हुन् तर, उनी राजनीतिक पृष्ठभूमिकी भने होइनन् ।

‘अमृता पहिले कुनै पार्टी वा संगठनमा आबद्ध भएको थाहा थिएन । तर एकाएक उनलाई कांग्रेसले उम्मेदवार बनाएको थाहा भयो,’ सुकिदहका एक कांग्रेस कार्यकर्ताले भने ।

सुकिदहको चुनाव यति कारणले मात्रै चर्चित भएको पनि होइन । अझ रोचक कुरा चाहिँ के छ भने,अमृताका बुवा लिलाधर खत्री भने एमाले समर्थक हुन् ।

ठूलोबुवा कुलबहादुर खत्री कांग्रेसको राजनीतिमा सक्रिय थिए । पूर्वप्रधान समेत बनेका कुलबहादुरको निधन भइसकेको छ ।

सुकीदह गाउँपालिकामा नेकपा एमालेले निर्मलाकुमारी वलीलाई उपाध्यक्षको उम्मेदवार बनाएको छ । १२ कक्षा उत्तीर्ण गरेकी उनी एमाले सुकिदहकी सदस्य हुन् । यद्यपी उनी राजनीतिमा सक्रिय थिइनन् । निर्मलाको बुवा इन्द्र वली कुनैबेला कांग्रेसको राजनीतिमा सक्रिय थिए ।

निर्मलाका श्रीमान हिमामणी डाँगी भने वैदेशिक रोजगारीको सिलसिलामा दुबईमा छन् । निर्मलाको ससुरा मनबहादुर ०५४ सालको स्थानीय चुनावमा वडा अध्यक्षमा पराजित भएका थिए ।

मौका पाए काम गर्न सक्ने देखेर एमालेले निर्मलालाई सुकिदहमा भिडाउने निर्णय गरेको एमाले नेता नेपबहादुर वलीले जनाए ।
माओवादी केन्द्रबाट उपाध्यक्षमा रिताकुमारी घर्तीलाई उम्मेदवार बनाएको छ ।

८ कक्षा पढेकी उनी माओवादी केन्द्र सुकिदहकी कोषाध्यक्ष हुन् । तर, उनका बुवा राकेश डिसी भने राप्रपाको राजनीतिमा सक्रिय छन् ।

रीताका श्रीमान प्रमोद रोजगारीको लागि भारत जाने-आउने गर्दछन् । उनी जनयुद्धको बेला जस्तो पार्टीमा त्यति सक्रिय देखिँदैनन् ।
‘रितालाई योग्य मानेर हामीले उम्मेदवार बनाइदियौं,’ सुकिदहका माओवादी नेता रेशमराज डाँगीले भने ।

सुकिदहका कांग्रेस, एमाले र माओवादीका तीनवटै उम्मेदवारका चुनाबी एजेण्डा भने समान छन् । सुकिदहको विकास, लैंगीक समानता र महिला अधिकारका लागि आफूहरु लागीपर्ने उनीहरु बताउँछन् ।

– जीवन डाँगीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment