Comments Add Comment

नियात्रा: रोममा निरोको खोजी

यूएन मिसन सकिएर फर्कन सात दिन बाँकी थियो । सबै बुझबुझारथ सकेर नेपाल हाउसको बसाइ सुरु भइसकेको थियो ।

जीवनकै पहिलो पटक युरोपको यति लामो बसाइ सकेर नेपाल फर्किन लाग्दा पनि मनमा के नपुगेको जस्तो भइरह्यो । मिसन अवधिमा वेलग्रेटु, बुढापेण्ट, जाग्रेन, स्लोमेनिया भ्रमण गरिसक्दा पनि रोम पुग्ने धोको बाँकी नै थियो ।

जाने दिन धेरै नजिक आइपुगेकाले साथीहरु बाहिरी देश यात्रा गर्ने मुडमा थिएनन् । मभित्र भने रोम र मेनिस डुल्ने हुटहुटी थियो । एक्लै जान पनि उचित लागेको थिएन । फेरि जीवनमा युरोप आउने भाग्य मिल्ने हो कि होइन ! मनमा अन्तर्द्वन्द्व मच्चिरहेको थियो ।

मनमा लागेको रोमको डढेलो जसरी भए पनि निभाउने अठोट गरी सबै साथीभाइलाई रोम डुल्ने प्रस्ताव राखेँ । अधिकांशबाट मेरो प्रस्ताव तत्कालै अस्वीकृत भयो । धेरै तर्क एउटै थियो- पैसा बढी खर्च हुने र मिसनको अन्तिममा जोखिम मोल्न पनि नचाहने ।

म बबुरो पनि मिसनको पैसा लगेर काठमाडौंमा एउटा सानो टुक्रा जग्गा किन्ने सपना बोकेरै युरोप आएको हुँ । तर, मेरो इच्छाको अगाडि ती समस्या गौण ठहरिए । राति नै भाइ केदार कटवाल र श्याम लामाले मेरो प्रस्तावमा सहीछाप गरिदिए । आखिर त्यहाँ भएकामध्ये सबैभन्दा साना दर्जाका हामी तीन भाइ नै तम्सियौं इटाली भ्रमण गर्न ।

राजुबाबु श्रेष्ठ

राति नै सल्लाह भए अनुसार ट्रेनको समयतालिका बुझ्न बिहानै जाग्रेब सेन्टर गयौं । रोम पनि पुग्ने, पैसा कम खर्च हुने र यात्रा पनि रमाइलो हुने उपाय सोच्दा फुत्त निस्कियो उपाय । राति ट्रेनमा सुतेर यात्रा गर्ने र दिनमा शहर डुल्ने । युरोपमा खानभन्दा सुत्न बढी लाग्ने हुनाले यसो गर्दा रातिको होटल खर्च बच्ने भयो ।

सोचे अनुसार नै ट्रेनको समय मिल्यो । जाग्रेबबाट दिउँसो ३ बजे छुट्दा रोममा बिहान पुगिने भइयो । सोही ट्रेनबाट जाने निधो भयो र युरो ट्रेनको टिकट काटी नेपाल हाउस फर्कियौं ।

ठीक ३ बजे जाग्रेबबाट हामी तीनै भाइ रोमको लागि प्रस्थान गर्‍यौं । निकै आरामदायी थियो ट्रेन । युरोपका सबै कुरा आरामदायी । हाम्रो क्याविनमा ६ जनाको सिट थियो । एकतर्फ हामी तीन भाइ थियौं भने अर्कातर्फ एउटी बूढी आइमाई र उनका दुई छोरी ।

धेरै बेर एक-आपसमा कुनै संवाद भएन । सर्प बगे जस्तै बगेको थियो ट्रेन । कुनै आवाज थिएन । यात्रुहरुको पनि कुनै हल्ला थिएन । सिट फोल्ड गर्दा आरामदायी बेड बन्थ्यो । श्याम साँझ पर्नासाथै निदाए । केदार र म भने निकैबेर गफियौं ।

बातैपिच्छे जोक्स मिसाएर बोल्नुपर्ने केदारको बानीले पनि यात्रा निकै रोमाञ्चक बन्दै थियो । अधिकांश युवा उमेर खेलकुद क्षेत्रमा बिताएकोले उनीसँग भेज-ननभेज गरी दुई हजारभन्दा बढी जोक्स भएको उनी आफैं बताउँथे ।

केहीबेरको कुराकानीपछि हामी दुई पनि सुत्यौं ।

मध्यरातमा एक्कासी इटालीका इमिग्रेसन अधिकारी पासपोर्ट माग्दै आएपछि मात्र हामी ब्युझियौं । तीनै भाइको पासपोर्ट दियौं । उनीहरुकै भाषामा कुरा गरे । करिब आधा घण्टापछि इटालीको प्रवेशाज्ञाको स्टाम्प लगाएर पासपोर्ट फिर्ता आयो । बल्ल पाइयो रोम प्रवेशको अनुमति । बोर्डरबाट फिर्ता हुनुपर्छ कि भन्ने आशंका टर्‍यो ।

रात बिहानीतर्फ ढल्किँदै गएकाले निद्रा पर्न सकेन । बोलिराख्दा अरुलाई डिस्टर्ब हुने हुनाले केदार भाइको जोक्स पनि धेरै सुन्न पाइएन । बिहानीको उज्यालोसँगै रोममा पाइला टेक्ने कल्पनाले भित्रभित्रै रोमाञ्चित बनिरहेँ । अब रोमको दूरी केही घण्टाको मात्र थियो ।

हाम्रो लागि तयार भयो एउटा बस र दुई जना गाइड । २६ जनाको समूह रहेछ हाम्रो । अनुहार हेर्दा तीन-चार जना कोरियन, चिनियाँ वर्णका बाहेक अरु सबै युरोपेली थिए । युरोपेलीहरुकै लागि पनि रोम यात्रा विशेष हुँदो रहेछ ।

बिहानीको झिसमिसेमै रोमको स्टेशनमा पुगेर ट्रेन रोकियो । ब्याग हातमा भिर्दै निस्कियौं र पहिलो पल्ट रोमको भूमिमा पाइला टेक्यौं । ट्रेन स्टेशनकै धारामा हातमुख धोई रोम डुल्ने बहाना खोज्न ट्रेन स्टेशनको वरपर एकछिन भौतारियौं ।

एउटा ट्राभल एजेन्सीमा गएर रोम डुल्ने प्याकेज टुरको जानकारी लियौं । हामीलाई आजै एकदिन मात्र रोम डुल्नु थियो । जस अनुसार बिहान आठ बजेदेखि साँझ पाँच बजेसम्मको टुर प्याकेज प्रतिव्यक्ति ३५/३५ डलरमा बुक गरी नजिकैको रेष्टुरेण्टमा पस्यौं ।

घडीको सुईले साढे ६ बजेको संकेत गरेको थियो । अझै डेढ घण्टा बाँकी रहेकोले हल्का पेटपूजा गरी निस्कियौं वरपरको दृश्यावलोकन गर्न । रोमको बनोट नै प्राचीन रहेछ । त्यहाँ जे देखे पनि पुराना र ऐतिहासिक लाग्ने । सडकमा कालाकाला ढुङ्गाहरु देख्दा कतै प्राचीन युगमा पुगिएको त हैन भन्ने महसुस भइरहेको थियो ।

रोमको सुन्दरताभन्दा पनि यसको ऐतिहासिक महत्व विशेष थियो । यति विशाल रोममा हामी लिखुरे तीन भाइ त्यो पनि एउटा गरिब देशको, गरिब जनता टुरिष्ट बनेर डुल्न तम्तयार थियौं । हाम्रा लागि खटिइसकेका थिए टुरिष्ट गाइड । गर्वले वा दकसले हो, छाती फुलेको थियो ।

पौने आठ बजे हामी एजेन्सीको अगाडि जम्मा भयौं । हाम्रो लागि तयार भयो एउटा बस र दुई जना गाइड । २६ जनाको समूह रहेछ हाम्रो । अनुहार हेर्दा तीन-चार जना कोरियन, चिनियाँ वर्णका बाहेक अरु सबै युरोपेली थिए । युरोपेलीहरुकै लागि पनि रोम यात्रा विशेष हुँदो रहेछ ।

एक महिना बस्दा पनि मनभरि डुल्न नभ्याइने रोम एकैदिनमा डुल्नुपर्ने बाध्यताका कारण मनले जे देख्यो त्यसैको फोटो खिचेर कैद गर्थ्यो ।

ठीक आठ बजे बस शहरको मध्य भागतर्फ छुट्यो । गाइडले हामीलाई दुई भागमा बाँडे र रेडियोको एरियल जस्तो पोर्टेबल छडीको टुप्पामा बाँधिएको रंगिन टालो देखाउँदै आफ्नो पछि लाग्न सुझाए । दिनभरिको भ्रमण तालिका पनि बताए । कहाँ कतिबेर रोकिने, के खाने, कहाँ फोटो खिच्न समय मिल्ने, भीडमा कसरी हिँड्ने आदि कुराको जानकारी पनि बसभित्रै दिए ।

कानले उनको कुरा सुने पनि आँखा चाहिँ बसको गतिभन्दा पनि वेगले दौडिरहेथ्यो शहरका गल्ली, घर र चौकहरुमा । एक महिना बस्दा पनि मनभरि डुल्न नभ्याइने रोम एकैदिनमा डुल्नुपर्ने बाध्यताका कारण मनले जे देख्यो त्यसैको फोटो खिचेर कैद गर्थ्यो ।

केहीबेरमै बस रोमको मुटु भेटीकन सिटीको मुख्य चर्च सेन्ट पिटर्सको अगाडिको विशाल पटाङ्गिनीमा रोकियो । हाम्रो इन्द्रजात्राको जस्तै भीड थियो त्यो विशाल पटाङ्गिनीमा । टुरिष्टहरुको उखरमाउलो चाप थियो । एकैछिन त अलमलिएँ । जताततै गाइडहरुको एन्टेना ठडिएको थियो र हरेक एन्टेनासँग थिए टुरुष्टहरुको झुण्ड । कहिलेकाहीँ त आफ्नै गाइडको एन्टेना नचिनेर अर्कै समूहमा पुगिएला भन्ने डर !

गाइडले अंग्रेजीमा भट्याउँदै थिए, तर मलाई तिनको कुरा सुन्नभन्दा चर्चको विशालता र कलाकारिताले तानिरहेको थियो । कुनै अर्कै संसारमा पुगेको आभास भइरहेको थियो । संसारको सम्पूर्ण क्याथलिकहरुको मूलघरको रुपमा रहेको यो चर्च पहिलो चोटि सेन्ट पिटरले स्थापना गरेका रहेछन् । चर्चलाई वजिलिका भनिँदो रहेछ ।

क्याथलिकहरुको आस्थाको धरोहर यस वजिलिकाभित्र प्रवेश गर्दा साडी र मिडी लगाएका महिलाहरुको लागि भने मुख्य द्वार अगाडि बेच्न राखिएको पातलो पाइजामा जस्तो सुरुवाल लगाएर मात्र प्रवेश गर्नुपर्दो रहेछ ।

रोमभर अनगिन्ती यस्ता वजिलिकाहरु भए पनि मुख्यत: चार वजिलिका चाहिँ संसारभर प्रख्यात रहेछन्  । पोप बस्ने घरदेखि नजिकै रहेको यस वजिलिका बाहिरबाट जति सुन्दर र प्राचीन देखिन्थ्यो, भित्र झनै अलौकिक र कलात्मक थियो ।

क्याथलिकहरुको आस्थाको धरोहर यस वजिलिकाभित्र प्रवेश गर्दा साडी र मिडी लगाएका महिलाहरुको लागि भने मुख्य द्वार अगाडि बेच्न राखिएको पातलो पाइजामा जस्तो सुरुवाल लगाएर मात्र प्रवेश गर्नुपर्दो रहेछ । हामीसँग आउने ४/५ जना महिलाले पनि एक/एक डलरमा किनेर खुट्टामा घुसारेपछि मात्र प्रवेश पाए । संसारभरकै मुख्य चर्च भएकाले सम्मानको लागि महिलाहरुलाई यस्तो अनिवार्यता गरिएको रहेछ । धर्मको लागि क्याथलिकहरु पनि कम कट्टर रहेनछन् । चर्चभित्रको भव्यता बयान गरिनसक्नुको थियो ।

वर्षमा करिब १९ मिलियन (१ करोड ५० लाख) पर्यटकले भ्रमण गर्दा रहेछन् रोम । इटालीको राजनीति जतिसुकै बिग्रे पनि यिनै पर्यटकको आयश्रोतले अर्थ व्यवस्थामा भरथेग हुँदोरहेछ । अन्य उद्योग-धन्दा त आफ्नो ठाउँमा छँदैछ, तर पर्यटन जस्तो सजिलो कमाइ कुनै उद्योगबाट पनि गर्न सकिन्न ।

पर्यटकहरु हाम्रो पशुपति र लुम्बिनीले पनि तान्ने हो भने नेपाली जनताका ट्याङ्कामा पैसाको कहिल्यै कमी हुन्थेन होला । किन गरिब हुनुपर्थ्यो नेपाली ? हामीसँग पनि त हिन्दु धर्म र बौद्ध धर्मालम्बीहरुको पवित्र स्थल छन् नि । तर, खोइ त प्रचार ? खोइ त पर्यटकमैत्री वातावरण ? खोइ त पर्यटन विकासको रोडम्याप ?

एकैछिन हराएँ देशको गरिबीमा ।

सेन्ट पिटर्स चर्चपछि मुख्य-मुख्य भनिएको सेन्ट जोन लेटरन चर्च, सान्ता मरिया चर्च, सेन्ट पउल चर्चको भ्रमण गरियो । चर्चको प्राचीनता, विशालता, भव्यता र कलात्मकताको विषयमा जति वर्णन गरे पनि कम हुन्छ । सबैले आ-आफ्नै विशेषता बोकेका रहेछन् ।

हामीलाई खाना खानभन्दा पनि रोमलाई अघाउन्जेल हेर्ने र त्यहाँका ढुंगा-ढुंगा छाम्ने भोक थियो । त्यसैले समयलाई खेर नफाल्ने सोच बनाई तत्काल हल्का लन्च गर्‍यौं र फोटो खिच्न व्यस्त भयौं ।

जोन लेटरन चर्च टुरिष्टहरुको लागि मुख्य आकर्षकको केन्द्र रहेछ । शान्ता मरिया मेरियन चर्चको रुपमा प्रख्यात रहेछ भने सेन्ट पाउल चर्च रोमकै महत्त्वपूर्ण धार्मिक भवनको रुपमा चर्चित रहेछ । मुख्य रुपमा रहेका यी चार वटै चर्चको भ्रमणपछि गाइडले हामीलाई विश्रामको सूचना दिए । आधा घण्टामा लन्च सकेर बसमा चढ्ने उर्दी दिँदै उनी एरियल पट्याएर खाना खान लागे ।

हामीलाई खाना खानभन्दा पनि रोमलाई अघाउन्जेल हेर्ने र त्यहाँका ढुंगा-ढुंगा छाम्ने भोक थियो । त्यसैले समयलाई खेर नफाल्ने सोच बनाई नजिकैको क्याफेबाट तीन वटा बर्गर र एउटा ठूलो कोक किनेर लन्च गर्‍यौं र फोटो खिच्नमा व्यस्त भयौं ।

ती प्राचीन शहरका प्राचीन घरहरुसँगै आफूलाई जोडेर नेपालमा देखाउने रहरले खिचियो धेरै फोटो । धेरै रिल फेर्‍यौं क्यामेरामा र पटकपटक दबायौं सटर । फोटोका लागि गएको पैसाको कुनै चिन्ता रहेन । तोकिएको समय बित्ला र गाडी छुट्ला भन्ने डरले छिटो-छिटो बस चढ्यौं । दुवै जना गाइड बसमै रहेछन् । फेरि गुड्यो बस ।

केहीबेरमै एउटा बडेमाको खण्डहर जस्तो गोलाकार घरको नजिकै पुगेर रोकियो । हामी सबै फटाफट झर्‍यौं । एरियल ठड्याउँदै गाइडहरु त्यही भग्न घरतर्फ लागे । हामी पनि पछि लाग्यौं । नजिकै पुगेपछि गाइडले भने– ‘रोमको कोलोसियम भनेको यही हो ।’

भग्न, जीर्ण तर आकर्षक रहेछ कोलोसियम । रोममा देखिएका संरचनाहरुमध्ये सबभन्दा विशाल थियो यो । रोमन साम्राज्यको समयमा बनेको सबैभन्दा ठूलो एम्पी थिएटर रहेछ कोलोसियम । रोमन कालमा राजा-महाराजाहरुले विभिन्न कार्यक्रम हेर्न र मनोरञ्जन लिनको लागि यो बनाइएको रहेछ ।

विभिन्न वर्गका जनता र शासकहरु बस्ने छुट्टाछुट्टै ब्लक बनाइएको यो भग्न घरको बीच भागमा खण्डखण्ड बाँडेर उठाइएका पर्खालहरु मात्र देखिन्थे । बाहिरी आवरण राम्रो देखिए पनि भित्री भाग भत्किएको थियो । विशाल र फरक आर्किटेक्टका कारण अरुभन्दा भिन्न देखिन्थ्यो ।

विशाल भवनको अगाडि विभिन्न प्रकारका मूर्ति रहेको र ती सबै मूर्तिको बीचबाट एउटा ठूलो झरना झरझर गरेर झरिरहेको दृश्य देख्दा सत्य युगमा स्वर्गका परीहरु नुहाउने स्थान जस्तै पवित्र र सुन्दर लागिरहेथ्यो ।

यो थिएटरमा एनिमल हन्टको कार्यक्रम पनि हुँदो रहेछ । रोमका पहलमानसँग सिंह, बाघ लगायत विभिन्न जंगली जनावरलाई भिडाई प्रत्यक्ष हेर्ने कार्यक्रम पनि हुँदो रहेछ । बाघ, भालु, सिंहसँग मान्छेको रोमाञ्चकारी भिडन्त सम्राटहरुले अवलोकन गर्ने परम्परा रहेछ । त्यस क्रममा कतिपय अवस्थामा त मान्छे नै जंगली जनावरको शिकार हुनुपर्ने अवस्था समेत आउँदो रहेछ ।

तर, यो खेलमा बाघ मरे पनि जनता मरे पनि सम्राटको लागि केही फरक पर्ने वाला थिएन । सम्राटका लागि त एउटा रोमाञ्चकारी खेल न हो । शासकका लागि एउटा मान्छेको मोल के नै हुन्छ र !

रोम आउने पर्यटकहरुमध्ये सबैभन्दा बढीले हेर्ने ठाँउ नै कोलोसियम हो । रोमको सबैभन्दा दर्शनीय ठाउँको रुपमा लिइन्छ यसलाई । वरपरको भित्तामा झ्यालैझ्याल राखेर गोलाकार शैलीमा बनाइएको यो रोमको अनमोल गहना हो भन्दा फरक पर्दैन ।

रोम भ्रमण गर्ने क्रममा न मन अघायो, न आँखा । समय सीमाको कारण हाम्रो यात्रा सिनेमा फास्ट फर्वार्ड गरेर हेरे जस्तै भइरहेथ्यो । कोलोसियममा आधा घण्टा बसेपछि हामी फेरि त्यहाँबाट त्रेभी फाउन्डेसनतर्फ लाग्यौं । अठारौं शताब्दीमा रोमन साम्राज्यकालीन सो फाउन्टेसन रोमको प्रसिद्ध स्थलको रुपमा रहेको थियो ।

विशाल भवनको अगाडि विभिन्न प्रकारका मूर्ति रहेको र ती सबै मूर्तिको बीचबाट एउटा ठूलो झरना झरझर गरेर झरिरहेको दृश्य देख्दा सत्य युगमा स्वर्गका परीहरु नुहाउने स्थान जस्तै पवित्र र सुन्दर लागिरहेथ्यो । पहाडको कुनामा मुल फुटे जस्तै ह्वालह्वाल्ती पानी निस्किरहेको थियो । मूर्तिहरुको बीचबीचमा पानीका भँगालाहरु छुटेका थिए ।

फाउन्टेनको सडकतर्फको वारबाट सिक्का फ्याक्ने मान्छेहरुको भीड थामिनसक्नु थियो । हामीले पनि आफूसँग भएका केही सिक्का फ्याक्यौं । फ्याकेका सिक्काहरु मूर्तिमा अड्याउन सकेमा गुडलक हुन्छ भन्ने विश्वास रहेछ । हामी तीनै जनाको सिक्का अडिएन । सिक्का नअडे पनि मन अड्यो । ती पानीका फोहोरा, मूर्तिहरु र भवनको कलात्मक बनोटमा मनग्गे फोटो खिच्न रिलको अभाव भएकाले हिसाब गरीगरी फोटो खिच्न थाल्यौं ।

मन नअघाए पनि फेरि गाइडको रुमालको टुप्पो अगाडि बढिसकेकाले उनकै पछि लाग्यौं । रोम घुम्दा के हेर्ने के नहेर्ने, हामी तिनै भाइ अन्यौलमा थियौं । गाइडले देखाउन लगेका ठाउँ त त्यसै भइगए । त्यहाँ त गाइडसँग पछिपछि लाग्दा बाटामा देखिएका अधिकांश भवन पनि हाम्रा लागि अनौठा थिए ।

रोम डुल्ने क्रममा के-के हेरियो र कति हेरियो भन्ने कुराको लेखाजोखा नै भएन । घुम्ने क्रममा प्राचीन रोमका सबै भगवानको मूर्ति बनाएर राखिएको अत्यन्त आकर्षक र क्लासिकल भवन प्यान्थिओन पनि घुमियो । स्क्वायर फाउन्टेन, भित्तोरियो, इमानुयल द्वितीयको निओ क्लासिकल शैलीको पब्लिक स्मारक लगायत रोमका धेरै ठाउँ घुमियो । घुमेका सबै चिज र स्थानका बारेमा लेख्न सम्भव छैन । तर, जहाँ-जहाँ घुमियो ती सबै ठाउँको रोमको इतिहासमा कहीँ न कहीँ महत्व थियो ।

रोममा निरो नभेटिएपछि अकस्मात् मेरो मनमा एउटा ठूलो आशंकाले डेरा जमायो । कतै निरोको पुनर्जन्म मेरो देशमा त भएको होइन ? कतै निरोका सयौं सन्तान नेपालमा जन्म लिएर देश जलाउन उद्यत भएका त होइनन् ?

विश्वमा रहेको विभिन्न शहरमध्ये पुरानो शहरको रुपमा रहेको रोमको बयान गरेर साध्य छैन । रोम भ्रमण गर्ने क्रममा म जहाँ-जहाँ पुगे पनि त्यहाँ निरोको अस्तित्व खोजिरहेँ । विश्वभर नाम चलेको निरोको सालिक कतै न कतै चोकमा भेटिन्छ कि भनेर मन डुलाइरहेँ ।

रोम पूरै घुमिसक्दा पनि कहीँ कतै सुनिएन निरोको नाम । कतै भेटिएन निरोको सालिक । किताब र कहावतमा भने अझै रोमसँगै निरो बाँचिरहेछ । रोमलाई नजिकबाट आँखाले छामेपछि मैले धेरै पटक निरोलाई सम्झेँ । कस्तो मुटु थियो होला ती सम्राटको, जो आफ्नो यति सुन्दर शहर जलिरहँदा आफू बाँसुरी बजाएर आनन्द लिइरहेका थिए ।

रोममा निरो नभेटिएपछि अकस्मात् मेरो मनमा एउटा ठूलो आशंकाले डेरा जमायो । कतै निरोको पुनर्जन्म मेरो देशमा त भएको होइन ? कतै निरोका सयौं सन्तान नेपालमा जन्म लिएर देश जलाउन उद्यत भएका त होइनन् ? जो देश जलिरहँदा पद र पैसाको लागि बेचिरहन्छन् स्वाभिमान र देश जलिरहँदा निर्धक्क बाँसुरी बजाइरहन्छन् ।

रोम रहुन्जेल निरो रोमसँगै बाँचिरहे जस्तै मेरो देश बाँचुन्जेल मेरो देशका आधुनिक निरोहरु बाँचिरहनेछन् । हामी केवल आगोको मुस्लो हेर्दै बाँसुरीको धुन सुन्न विवश हुनेछौं ।

निरो र देशलाई सम्झँदा सम्झँदै बसले ट्रेन स्टेसन नजिकै रहेको ट्राभल एजेन्सीको कार्यालय अगाडि छाडिदियो । घडीमा पाँच बज्नै आँटेको थियो । सीधै ट्रेन स्टेशन गयौं र बिहान भेनिस पुग्ने ट्रेनको टिकट काट्यौं ।

ट्रेन नौ बजे छुट्ने रहेछ रोमबाट । टिकट काटेपछि बेलुकीको झिलिमिली रोमभित्र पस्यौं । दुई घण्टा रोमको त्यो मनोरम साँझको सुन्दरताबाट निस्किएर सरासर लाग्यौं ट्रेन स्टेशनतर्फ । रोमको मीठो र असीम सम्झना बोकेर हामी तीन भाइ लाग्यौं भेनिसतर्फ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment