Comments Add Comment

प्रधानमन्त्रीको निर्वाचन आज, देउवा दुई तिहाई नजिक

२३ जेठ, काठमाडौं । व्यवस्थापिका संसदले आज नयाँ प्रधानमन्त्री चयन गर्दैछ । प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबाहेक कसैको पनि उम्मेदवार नपरेकाले उनी बिना प्रतिस्पर्धा प्रधानमन्त्री बन्दैछन् ।

प्रधानमन्त्रीका एक्ला उम्मेदवार देउवाको पक्षमा झण्डै दुई तिहाई मत देखिएको छ ।

प्रमुख विपक्षी दल नेकपा एमाले संसद अवरोध हटाउन सहमत भएपछि प्रधानमन्त्री निर्वाचनको बाटो खुलेको हो । संसदको बैठक मंगलबार दिउँसो १ बजे बोलाइएको छ ।

पहिलो बैठकलाई प्रमुख तीन दलका शीर्ष तीन नेताले सम्बोधन गर्ने कार्यसूची बनाइएको छ । लगत्तै सभामुख ओनसरी घर्ती मगरले राष्ट्रपतिको पत्र र प्रधानमन्त्री निर्वाचनको प्रक्रियाबारे जनकारी गराउनेछिन् ।

आजै दोस्रो बैठक बस्नेछ र प्रधानमन्त्रीको निर्वाचन हुनेछ । संसद नियमावली अनुसार एक मात्र उम्मेदवार भएपनि निर्विरोध घोषणा गर्न मिल्दैन । त्यसैले देउवाका प्रस्तावक, समर्थकले बोल्ने र देउवालाई प्रधानमन्त्रीमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेश हुनेछ ।

प्रधानमन्त्रीमा निर्वाचित हुने कुल सदस्य संख्या ५९३ को बहुमत अर्थात २९७ मत प्राप्त हुनुपर्छ । देउवाको पक्षमा झण्डै दुई तिहाई समर्थन जुट्ने सम्भावना छ । देउवा सभापति रहेको कांग्रेसका २०६ सांसद छन् भने माओवादी केन्द्रका ८१, राप्रपाका ३७, फोरम लोकतान्त्रिकका १६ र फोरम नेपालका १५ सांसद छन् । यस्तै २४ सांसद रहेको राष्ट्रिय जनता पार्टीले पनि देउवालाई समर्थन गर्ने सम्भावना छ ।

तीन सांसद भएको नेकपा संयुक्त, एक एक सांसद भएका अखण्ड नेपाल र समाजवादी जनता दल देउवाको उम्मेदवारीमा समर्थक नै बसेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment