Comments Add Comment

नेपाली फिल्मको व्यापारः ‘मुर्गा’ फसाउन कहिलेसम्म झुठको खेती गर्ने’ ?

'टाउकोमा हात राख्दै करोड क्लबको फुर्ती'

प्रसंग नम्बर १ः
चलचित्र ‘प्रेमगीत’को रिलिजको समयमा निर्माण कम्पनी आशुषेन फिल्मस्ले मिडियालाई दैनिक व्यापारिक रिपोर्ट पठायो । जसमा, शनिबार बिदाको दिनमा ५० लाख कमाएको भनिएको चलचित्रले आइतबार बिदा नहुँदा ५५ लाखको कारोबार गरेको रिपोर्ट थियो । यस बिषयमा वितरण कम्पनी एफडीका अध्यक्ष नरेन्द्र महर्जनलाई फोन गर्दा, उनले भनेका थिए-‘मैले रिपोर्ट सबै निर्मातालाई दिएको छु । उहाँसँगै नै सोध्नुहोस् ।’ ३ वटा चलचित्रको भिडन्त हुँदा ‘प्रेमगीत’को व्यापार कती सही थियो, अनुमान लगाउन त्यती गाह्रो पर्दैन ।

प्रसंग नम्बर २ः
निर्देशक भूवन केसी निर्देशित चलचित्र ‘ड्रिम्स’को रिलिजको समयमा पनि यस्तै व्यापारिक आँकडा सार्वजनिक भयो । शुक्रबार र शनिबार चलचित्रले साढे २ करोडको व्यापार गरेको आँकडा वितरक गोविन्द शाहीले मिडियामा दिए ।

नायक भूवन केसीसँग यो बिषयमा वुझ्दा, उनले वितरकले साढे २ करोडको रिपोर्ट दिएको सुनाए । पछि, चलचित्रले २ दिनमा करिब डेढ करोडको व्यापार गरेको रिपोर्ट सार्वजनिक भयो । अर्थात, २ दिनमै १ करोड बढाएर मिडियामा रिपोर्ट पठाइएको थियो ।

माथि उल्लेखित गरिएका यी दुई प्रसंग त उदाहरण मात्र हुन् । बर्षमा रिलिजमा आउने सय हारहारीका चलचित्रमध्ये ९० बढी चलचित्रका निर्माताले आफू निर्मित चलचित्रले बम्पर व्यापार गरेको रिपोर्ट दिन्छन् । तर, बर्षभरि रिलिजमा आएका सय हारहारीका चलचित्रमा आधा दर्जनले मात्र थोरै कमाई गरेका हुन्छन् । केहीले मुश्किलले लगानी उठाएका हुन्छन् भने अधिकांश असफल भएका हुन्छन् । तर, पनि निर्माताले मिडियामा दिने रिपोर्ट हेर्ने हो भने, कुनै पनि चलचित्र असफल भएको पाइदैन ।

तर, निर्माताले चलचित्र रिलिज भएपछि वितरकबाट पाउने रकम हेर्ने हो भने, धेरैको पसिना छुट्छ । उसो भए, किन नेपाली चलचित्रका व्यापारिक आँकडा यति हावाका सार्वजनिक भैरहेका छन् । यसमा दोषी को हो ? वितरक, निर्माता वा मिडिया ?

मलाई त रिपोर्ट दिन नै ब्यान्ड गरियोः प्रदिप उदय
निर्माता तथा चलचित्र वितरण कम्पनी एफडीका एक सदस्य प्रदिपकुमार उदय भन्छन्-‘मुख्यकुरा निर्माता इमान्दार हुनुपर्छ । निर्माताले नै हामीलाई सही सूचना नदिनु भन्छन् । मैले त एफ डी कम्पनीले वितरण गरेका चलचित्रको सही हिसाब दिदा निर्माताले कराएपछि, कम्पनीले मलाई आँकडा नदिन उर्जी जारी गरेको थियो । भोली बक्स अफिस लगाएपछि पनि निर्माता इमान्दार भएनन् भने आँकडा सही सार्वजनिक हुँदैन । यसको एउटै उपाय भनेको, निर्माता नै इमान्दार हुनु हो ।’

बक्स अफिस नै अन्तिम समाधानः आकाश अधिकारी
चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी यो समस्या समाधान गर्ने अन्तिम विकल्प भनेको बक्स अफिस नै हो भन्छन् । उनले भने-‘हेर्नुहोस्, जबसम्म बक्स अफिस लागू हुँदैन तबसम्म यो समस्या समाधान हुँदैन । कुनै पनि निर्मातालाई उसको चलचित्रको आँकडा दिने अधिकार हुन्छ । यो अधिकार कसैले पनि रोक्न सक्दैन । हामी त कुहिरोमा काग दौडिए जसरी दौडिएका छौ । यो कुरा नयाँ आउने निर्मातालाई पनि थाहा छैन ।’

आकाशले बक्स अफिस निर्माण गरेर एउटा कार्यदल नबनाएसम्म सधै नै मिडियामा चलचित्रको व्यापारिक आँकडा झुटो नै आउने बताए ।

निर्माता नै दोषी हुन्ः सुनिल मानन्धर
निर्माता तथा वितरक सुनिल मानन्धरका अनुसार यो कुरामा निर्माता नै दोषी भएको बताउँछन् । उनले, जति पनि चलचित्र हिट भए भनेर खबर सार्वजनिक भएका छन् ती मध्ये ९० प्रतिशत बढी आँकडा झुटो भएको बताए । वितरकले पनि निर्माता रिसाउने भएकाले मिडियामा सही आँकडा दिन नसक्ने उनले स्विकार गरेका छन् । करोड क्लबमा चलचित्र गएको भन्ने धेरै खबर झुठो भएको सुनिलले बताए । यसले, चलचित्र क्षेत्र माथि नजाने उनको तर्क छ ।

नेपाली चलचित्रको व्यापार चुरोटको खोलमा सिमित छ । हलले वितरकलाई दिने रिपोर्ट र वितरकले निर्मातालाई दिने रिपोर्टमै चलचित्रको व्यापार घुमेकाे छ । अहिले मिडियामा बढाएर भनिएका आँकडा सुनेर वा पढेर निर्माता मनको लड्डु् घ्यूसँग खाएर मख्ख पर्नु सिवाय केही पनि देखिएको छैन ।

‘मुर्गा’ फसाउन मनलाग्दी रिपोर्ट
नेपाली चलचित्र क्षेत्रमा नयाँ निर्मातालाई ‘मुर्गा’ शब्द प्रयोग गरिन्छ । अर्थात, कती व्यापार हुँदा कती कमाइन्छ भन्ने नै धेरैलाई थाहा छैन । १ करोड ग्रस कलेक्शन गरेको सुन्दा, धेरै निर्माता १ करोड नै आफ्नो गोजीमा आउँछ भन्ने वुझ्छन् । अनी, ५० लाख लगानी गर्दा १ करोड भन्दा बढी कमाइदोरहेछ भन्ने भ्रम पालेर धेरै यो क्षेत्रमा आएका छन् ।

चलचित्र निर्देशक वा निर्माता पनि आफू सफल भएको हल्ला पिटाउन चलचित्रको व्यापारिक आँकडा बढाएर भनिदिन्छन् । मिडियामा असफल भएको चलचित्रको व्यापार सफल भएको भनेर खबर आउँदा नयाँ लगानीकर्तासँग नयाँ चलचित्रका लागि कुरा गर्न सजिलो हुने उनीहरुको वुझाई छ ।

नयाँले वुझ्नुहोस्, यसरी आउँछ तपाइको हातमा पैसा
मानौ, तपाइको चलचित्रले १ लाखको ग्रस कलेक्शन गर्‍यो । अब, सबै रकम मेरै हो भनेर सोच्ने काम नगर्नुहोस् । १ लाखमा ११.५ प्रतिशत तपाइले राज्यलाई भ्याट तिनुपर्छ । अब, चलचित्रको कमाई ८८ हजार ५ सय बाँकी रह्यो । यसमा निर्माता र हलविच ५०-५० प्रतिशतको शेयर बाँडफाँड हुन्छ ।

अब निर्माताको हातमा ४४ हजार २ सय ५० रुपैयाँ बाँकी रह्यो । मख्ख नपर्नुहोस्, यो सबै रकम तपाइको होइन । यदि, चलचित्र निर्माण गर्दा नै तपाइले वितरकसँग रकम लिनुभएको छ भने, १५ प्रतिशत वितरकको भागमा कटाउनुपर्छ । यदि, लिनु भएको छैन भने ५ प्रतिशत वितरकको भागमा पर्छ ।

अब, वितरकलाई दिएर बाँकी रहेको रकममा पनि निर्माताले सर्भर चार्ज लगायतका नाममा रकम खर्च गर्नुपर्ने हुन्छ । यसरी हेर्दा, वितरकसँग रकम नलिई चलचित्र बनाएका निर्माताको हातमा अन्त्यमा ३२ देखि ३५ हजार मात्र आइपुग्छ ।

मल्टिप्लेक्सको हकमा फेरि अर्कै नियम छ । चलचित्रले पहिलो हप्ता कमाएको रकम, हल र निर्माताले ५०-५० प्रतिशत बाँडफाँड गर्छन् । दोश्रो हप्तामा निर्माताको हातमा ४२.५ प्रशित, तेश्रो हप्तामा ३७ प्रतिशत र चौथो हप्तादखि निर्माताले हलबाट ३० प्रतिशत मात्र रकम पाउँछन् ।
यसैले, १ करोड ग्रस गर्ने वित्तिकै सबै रकम मेरै गोजीमा आउँछ भनेर निर्माता मख्ख पर्नु मुर्खता मात्र हो ।

नेपाली चलचित्र लहलहैको तालमा चलेको छ । ‘काम गर्ने कालु, मकै खाने भालु’ भन्ने उखान नेपाली चलचित्रमा लागू भएको छ भन्दा फरक नपर्ला । निर्माताले कमाइको वास्तविक आँकडा दिने हो भने, चलचित्र क्षेत्र पारदर्शी हुने थियो । तर, चलचित्र चलेको दिनमै टाउकोमा हात राखेर लामो श्वास फेर्ने धेरै निर्माता मिडियामा बम्पर व्यापारको हल्ला फिजाउन पछि पर्दैनन् । अब, मिडियाले पनि निर्माताले दिने व्यापारमा क्रस चेक गरेर सत्यता खोज्ने प्रयास गर्न जरुरी छ ।

होइन भने, हरेक चलचित्रमा लगानी गर्न नयाँ नयाँ निर्माता त आइनै रहन्छन् । तर, दोश्रो पटक चलचित्र बनाउने प्रयास गर्ने छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment