Comments Add Comment

हिन्दुवादी राप्रपालाई ‘नील’ हुनबाट क्रिश्चियनले जोगाए !

रुबीभ्यालीको संयोग- पार्टी हिन्दु, प्रमुख बुद्धिष्ट, उपप्रमुख क्रिश्चियन !

 

२५ जेठ, काठमाडौं । धादिङको रुबीभ्याली गाउँपालिकामा राप्रपाले जित्यो । पहिलो चरणमा चुनाव भएका २८३ स्थानीय तहमध्ये कमल थापा नेतृत्वको राप्रपाले जितेको एकमात्रै स्थानीय तह यही रुबीभ्याली गाउँपालिका हो ।

राप्रपालाई ‘नील’ हुनबाट जोगाउने रुबीभ्याली गाउँपालिकामा धर्मबारे अनौठो संयोग जुरेको छ । यो स्थानीय तहमा जित हातपार्ने पार्टी राप्रपा हिन्दुराष्ट्रको एजेण्डा बोकेर हिँडेको छ । तर, राप्रपालाई शुन्य हुनबाट जोगाउँदै जित दिलाउने जनप्रतिनिधि चाहिँ हिन्दु होइनन् ।

रुबीभ्याली गाउँपालिकाको अध्यक्षमा राप्रपाबाट निर्वाचित चेरुङ तामाङ बुद्ध धर्मावलम्बी हुन् । राप्रपाबाटै उपाध्यक्षमा निर्वाचित बिना लामा क्रिश्चियन धर्मावलम्बी हुन् ।

हाल गाउँपालिका अध्यक्षमा निर्वाचित चेरुङ तामाङका पिता पनि पञ्चायतकालदेखि नै जनप्रतिनिधि थिए । अहिले छोरा पनि जनप्रतिनिधि बन्न सफल हुनु अर्को रोचक संयोग हो ।

यो स्थानीय तह राप्रपाका नेता बुद्धिमान तामाङको प्रभाव क्षेत्रहो । राप्रपा र राप्रपा नेपालको एकतापछि यहाँ राप्रपाको झनै प्रभाव बढेको छ ।

हिन्दु पार्टीमा क्रिश्चियन बिजेताः कसरी जुर्‍यो संयोग ?

पछिल्लो समय रुबीभ्यालीमा क्रिश्चियन धर्मावलम्बीहरुको संख्या एकाएक बढेको छ ।

जब स्थानीय तहको चुनाव आयो, विपक्षी दलहरुले प्रचार गरे कि राप्रपाले जित्यो भने क्रिश्चियनहरुलाई गाउँबाट लखेट्छन् ।

विपक्षीको यो भ्रमको कसरी सामना गर्ने भनेर राप्रपाका स्थानीय नेताहरुले छलफल गरे । त्यसपछि राप्रपाले एउटछा उपाय निकाल्यो- पार्टीकै कार्यकर्ता रहेकी क्रिश्चियन धर्मावलम्बी बिना लामालाई नै उपाध्यक्षको उम्मेदवार बनाइदिने । अन्ततः यो ‘ट्रिक’ले काम गर्‍यो । र, राप्रपाले गाउँपालिका प्रमुख र उपप्रमुख दुबै जित्यो ।

अध्यक्ष र उपाध्यक्षको एउटै स्वरः धर्मका नाममा विभेद हुँदैन

निर्वाचित अध्यक्ष र उपाध्यक्ष दुबै अब धर्मका नाममा कुनै विभेद नहुने बताउँछन् । ‘चुनावका क्रममा अरुले गलत हल्ला चलाए पनि होलान् तर, हामी धर्मका नाममा कुनै दबाव दिँदैनौं,’ गाउँपालिका अध्यक्ष तामाङले अनलाइनखबरसँग भने ।

उपाध्यक्ष बिना लामा पनि आफू क्रिश्चियन धर्मावलम्बी भएको अनलाइनखबरसँग सहर्ष स्वीकार गरिन् । उनले भनिन्, ‘म राप्रपा समर्थक हुँ तर, हिन्दु नै हुनुपर्छ भन्ने छैन ।’

सबै क्रिश्चियनलाई राप्रपाले हिन्दु बनाउँछ भनेर भ्रम फैलाइएकाले पनि आफू जनप्रतिनिधि भएर आएको बिनाले बताइन् ।

उनले भनिन्, ‘अब म क्रिश्चियन भएर जितेको वा राप्रपा भएर जितेको भन्दिनँ, सबैका लागि काम गर्छु ।’

धादिङको रुबीभ्याली साविकका लापा, सेर्तुङ र तिप्लिङ गाविस मिलेर बनेको हो । यसको जनसंख्या ९ हजार ५ सय ६५ छ । यो गाउँपालिकामा ६ वटामात्रै वडाहरु रहेका छन् ।

जिल्लाको उत्तरी विकट गाउँपालिकाका रुपमा रहेको रुवीभ्यालीको सीमाना चीनसम्म जोडिएको छ । पूर्वमा रसुवा र पश्चिममा गोरखा जिल्लाले यो गाउँपालिकालाई छोएको छ ।
एउटा उच्चमावि र ३ वटा स्वास्थ्य संस्था रहेको यो गाउँपालिका विकासमा निकै पछि परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment