Comments Add Comment

देउवालाई बधाई दिँदै राजपा नेताले भने- बाचा पूरा गर्नुस्, अनिमात्र चुनावमा आउँछौं

'हामीले चुनावमा भाग लिएनौं भने स्थानीय चुनाव अवैध'

२६ जेठ, काठमाडौं । अहिलेसम्म स्थानीय चुनावमा भाग लिने निर्णय गर्न नसकिरहेको राष्ट्रिय जनता पार्टीले संविधान संशोधन नभई चुनाव हुन नदिने अडान दोहोर्‍याएको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई शुक्रबार संसद बैठकमा बधाई दिने क्रममा राजपाका नेताहरुले माग पूरा गर्न देउवालाई दबाव दिएका हुन् ।

संसदमा प्रधानमन्त्रीलाई बधाई दिने क्रममा सरकारलाई समर्थन गरेका र देउवालाई मत दिएका राजपा नेताहरुले अहिलेसम्म माग पूरा नभएकोमा दुःख व्यक्त गरे । देउवालाई बधाई दिँदै राजपाका अध्यक्ष मण्डलका अध्यक्ष महिन्द्रराय यादवले भने, ‘हामी संविधान मान्न तयार छैनौं, हामीसँग सरकारले गरेको ३ बुँदे सम्झौता अनुसार संविधान संशोधन गरोस्, अनिमात्र चुनावमा जान सकिन्छ ।’

सरकारले शहीद घोषणा, जनसंख्याका आधारमा स्थानीय तहको संख्या थप्ने लगायतका काम पनि नगरेको यादवले बताए । यादवले मुद्दा फिर्ता, मधेस आन्दोलनका घाइतेको उपचारको वातावरण नबनेमा चुनावमा भाग नलिने बताए । यादवले भने, ‘यदि यो समस्या समयमै समाधान भएन र राजपाले चुनावमा भाग लिएन भने स्थानीय चुनावले बैधानिकता प्राप्त गर्ने छैन । हामी निर्वाचनमा जान तयार छौं तर, हामीलाई निर्वाचनमा जाने वातावरण सरकार र प्रतिपक्षले बनाउन् ।’
राजपाकै अर्का नेता सर्वेन्द्रनाथ शुक्लले संविधान संशोधनको प्रतिबद्धता तीन ठूला दलले गरेकाले संशोधन नभई चुनाव हुन नदिने बताए । उनले सरकार गठनका बेला संविधान संशोधनलाई पहिलो प्राथमिकतामा राखेको कारण देउवा सरकारलाई समर्थन गरेको बताए ।

तर, सरकारले ७ प्राथमिकतामा संविधान संशोधन नराखेकोले शंका उत्पन्न भएको बताए । उनले भने, ‘यहि अवस्थाले राजपालाई चुनाव भन्दा आन्दोलनमा धकेल्ने सम्भावना छ, यस्तो नहोस् । सरकारले तीनओटा बाचा गरेको थियो, सरकारले के गर्न खोजेको छ ? कुनै वार्ता भएको छैन । हामी अहिले चुनावमा जाने अवस्थामा छैनौं ।’

राजपाकै सांसदहरु नरसिंह चौधरी, डिम्पलकुमारी झा, धमेन्द्र साह तेली लगायतले पनि संविधान संशोधन बिना चुनावमा नजाने बताए । उनीहरुले संसदबाट निर्वाचन ऐन संशोधन गर्दैमा राजपा चुनावमा सहभागी नहुने बताए ।

कांग्रेस र माओवादीका सरकारलाई राजपाले निरन्तर समर्थन गरे पनि माग पूरा नभएको भन्दै राजपा नेताहरुले सरकार गठनको पूर्वसन्ध्यामा गरिएको बाचा पूरा गरेमात्र चुनाव हुने देउवालाई बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment