Comments Add Comment

मधेसमा तनावः एमाले कांग्रेसका झण्डा जले, उपेन्द्र यादवको पुत्ला दहन

२८ जेठ, सप्तरी । राष्ट्रिय जनता पार्टीले चुनाव बिथोल्ने निर्णय गरेलगत्तै दुई नम्बर प्रदेशका केही जिल्लाहरुका आइतबार आरजक गतिविधिहरु सुरु भएका छन् ।

राजपाका कार्यकर्ताले सप्तरीमा नेकपा एमालेको बैठक भइरहेका ठाउँमा प्रवेश गरेर झण्डा, टी-शर्ट लगायतका चुनावी सामाग्रीहरु नियन्त्रणमा लिएर जलाइदिएका छन् ।

आइतबार नै जनकपुरमा नेपाली कांग्रेसको झण्डा राजपाका कार्यकर्ताले जलाएका छन् ।

उता सर्लाहीमा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले सम्वोधन गर्ने सभामा राजापाका कार्यकर्ताले अवरोध पुर्‍याउन खोज्दा प्रहरीसँग केहीबेर झडप भएको छ । त्यहाँ राजपा कार्यकर्ताले उपेन्द्र यादवको पुत्लासमेत दहन गरेका छन् ।

आइतबार नै सप्तरी पुगेका प्रमुख निर्वाचन आयुक्तले समेत कालो झण्डाको सामना गर्नुपरेको छ ।

एमालेको बैठकमै हस्तक्षेप

राजपाका कार्यकर्ताले आइतबार राजविराजमा एमालेको बैठक स्थलमै पसेर झण्डा र टी-शर्ट लगायतमा चुनावी सामाग्री जलाए ।

राजविराजमा भइरहेको बैठकसमेत बिथोल्दै राजपाका कार्यकर्ताले चुनावी प्रचार सामाग्रीहरु नियन्त्रणमा लिएर जलाएका हुन् । झण्डा एवं कार्यकर्तालाई बाँड्न राखिएको टि-शर्ट र टोपी लगायत केही कागजपत्रहरु सोत राजपाका कार्यकर्ताहरुले जलाइदिए ।

बैठक भइरहेको साह धर्मशालामा पुगेका २०/२५ जना राजपा नेता, कार्यकर्ताले एमालेका प्रचार सामाग्रीहरु नियन्त्रणमा लिएका थिए । नियन्त्रणमा लिइएका सामाग्री उनीहरुले बाहिर ल्याएर जलाएका थिए ।

राजविराज नगरपालिकामा वडा अध्यक्षसहितका उम्मेदवार चयन गर्न एमाले राजविराज नगर कमिटीले बैठक आयोजना गरेको थियो ।

राजपा कार्यकर्ताहरु साह धर्मशालाभित्र प्रवेश गरेलगत्तै एमाले नेताहरु आत्मसुरक्षाका लागि लुक्न बाध्य भएका थिए । घटनाको केहीबेरपछि मात्रै प्रहरी टोली आइपुगेको थियो ।

राजपाको रीस प्रमुख आयुक्तमाथि

राजपा कार्यकर्ताले एमालेको बैठकमै पसेर सामाग्रीहरु नियन्त्रणमा लिएपछि राजविराज नगरपालिकाका एमाले मेयर उम्मेदबार सुखराम यादवले मुख्य निर्वाचन आयुक्त अयोधीप्रसाद यादवलाई थर्काएका छन् ।

राजविराजमै प्रमुख जिल्ला अधिकारीको निवासमा भइरहेको स्थानीय तह निर्वाचन सम्बन्धमा सरोकारवालाहरुसँगको अन्तरक्रियामा पुगेर एमाले उम्मदेवारले प्रमुख आयुक्तमाथि आक्रोश पोखेका हुन् ।

त्यहाँ पुगेर यादवसहितका एमाले कार्यकर्ताले घटनाबारे आयोग र जिल्ला प्रशासनको ध्यानाकर्षण गराए । ध्यानाकर्षण गराउन गएका यादवले प्रमुख आयुक्तलाई भने- ‘हामी तपाईंको भाषण सुन्दैनौं, हामीलाई सुरक्षा किन दिइएन ?’

लगत्तै प्रमुख आयुक्त यादवले नजिकै बसिरहेका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कट्वालसँग स्पष्टीकरण मागे ।
प्रजिअ कट्वालले भने- ‘एमालेले कार्यक्रम गरिरहेको छ भन्ने जानकारी हामीलाई थिएन । हामीलाई जानकारी गराएको भए पहिला नै सुरक्षाकर्मी पठाउँथ्यौं ।’

सर्लाहीमा पुत्ला दहन र चुनावी सभा सँगसँगै

सर्लाहीको मधुवन गोठमा पार्टी प्रवेश कार्यक्रम तथा चुनावी सभालाई सम्वोधन गर्न पुगेका संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले पनि राजपा कार्यकर्ताको विरोधको सामना गर्नुपर्‍यो ।

राजेन्द्र महतोको चुनावक्षेत्र अन्तरगत पर्ने सो गाउँमा यादवले दर्जनौं कार्यकर्तालाई फोरममा प्रवेश गराउनुका साथै बाक्लो उपस्थितिवीच सभा सम्पन्न गरेका छन् ।

आफूले मधेसका मुद्दाहरु नछाडेको र प्राप्त अधिकारहरुलाई रक्षा गर्दै अघि बढ्नका लागि मधेसी जनताले निर्वाचनलाई उपयोग गर्न आवश्यक रहेको यादवले मन्तव्यका क्रममा बताए ।

फोरमले कार्यक्रम सुरु गर्ने बेलामा प्रहरी र राजपाका कार्यकर्तावीच केहीबेर झडप भए पनि उपेन्द्र यादवले कार्यक्रम सफल गरेका छन् । उनले कार्यक्रम गरिरहँदा केही टाढा रहेका राजपा कार्यकर्ताले उनको पुत्लासमेत बनाएर दहन गरेका थिए ।

जनकपुरमा कांग्रेसमाथि प्रहार

जनकपुरमा कांग्रेसका झण्डा जलाइए पनि झडपको घटना भने भएन र स्थिति सामान्य नै रह्यो । शिव चौकस्थित धर्मशालामा कांग्रेसको बैठक बस्न लागेको बेला पुगेका राजपाका कार्यकर्ताले उक्त पार्टीको झण्डा जलाएका हुन् ।

राजपा नेता परमेश्वर साहले मधेसमा निर्वाचन हुन नदिने भन्दै यसको लागि निर्वाचनको प्रचारप्रसारका कुनैपनि कार्यमा अवरोध गर्ने बताए ।
कांग्रेस जिल्ला सभापति राम सरोज यादवले साहलाई फोन गरेर यस्तो कार्य नगर्न चेतावनी दिएका थिए । तर, साहले निर्वाचनको हरेक कार्यक्रमलाई विथोल्ने भनेपछि दुई नेताबीच फोनमा नै विवाद भएको थियो ।

आइतबार नै निर्वाचन आयोगले आयोजना गरेको निर्वाचन सम्बन्धी राजनितिक दलहरुको कार्यक्रममा समेत राजपाले अवरोध गर्न खोज्दा प्रहरीले रोकेको थियो । जिल्ला प्रशासन कार्यालयको हातामा रहेको अधिकृत संगममा आयोजना गरिएको कार्यक्रममा राजपाका नेता तथा कार्यकर्ताले विवाद गरेका थिए ।

चुनावी प्रचार र अवरोध एकैसाथ

राजपाले चुनाव बहिस्कारको निर्णय गरे पनि भित्री मधेससम्म चुनावी गतिविधि तीब्र बनेको छ । विगतमा एमाले राजविराजमा जानै नसक्ने अवस्था थियो । तर, अहिले राजविराजभित्रै एमालेले उम्मदेवार तय गर्ने र चुनावी अभियान सुरु गर्ने कार्य गरिहरेको छ ।

कांग्रेस, एमाले मात्रै होइन, मधेस केन्दि्रत फोरम लगायतका दलहरु पनि विरोध र आलोचनालाई चिर्दै चुनावी अभियानमा जुट्न थालेकाले मधेसको राजनीति निकै तरंगित बन्न थालेको छ ।

यसैवीच राजपाले आन्दोनको घोषणा गरेको छ र भोलि उसले जिल्ला सदरमुकाममा मसाल जुलुस प्रदर्शन गर्ने बताएको छ ।
यद्यपि अहिलेसम्म राजपाको विरोध प्रदर्शनमा थोरै कार्यकर्ताहरुको उपस्थिति देखिने गरेको छ । तर, चुनाव पक्षधर शक्तिका कार्यक्रममा जनताको उपस्थिति बाक्लो र उत्साहजनक देखिने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment