Comments Add Comment

एयरबस किन्ने पैसा जुट्यो, कर्मचारी सञ्चय र नागरिक लगानी कोष दिए २४ अर्ब


२८ जेठ, काठमाडौं । नेपाल वायुसेवा निगमले नयाँ दुई एयरबस खरिदका लागि वित्तीय स्रोत जुटाएको छ । कर्मचारी सञ्चय कोष र बायुसेवा निगमबीच आइतबार जहाज किन्ने ऋण सम्झौतामा हस्ताक्षर भएको छ । भोलि सोमबार  नागरिक लगानी कोषले निगमसँग यस्तै सम्झौतामा हस्ताक्षर गर्नेछ ।

नागरिक लगानीकोषसँग आजै सम्झौता गर्नेकार्यक्रम भए पनि समय अभावका कारण भोलिलाई सारिएको छ । निगमले नागरिक लगानी कोषसँग पनि समझौताका लागि सैद्दान्तिक सहमति गरिसकेको छ ।

निगमले यसअघि नै पोर्चुगिज हाई-फ्लाई र अमेरिकन कम्पनी एएआरसँग दुईवटा वाइडबडीको खरिद सम्झौता गरिसकेको छ । सञ्चय कोषसँग मात्रै १२ अर्ब रुपैयाँ ऋण लिने गरी सम्झौता भएको निगम स्रोतले जानकारी दियो ।

ऋणको अवधि १५ वर्षको हुनेछ । निगमलाई कोषले सरकारको जमानीमा ऋण दिने गरी सम्झौता गरेको हो । निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषसँग १२/१२ अर्ब रुपैयाँ ऋण लिन लागेको हो ।

दुबै कोषले हाललाई ९ प्रतिशत ब्याजदरमा ऋण दिएका छन् । तर, सञ्चय कोषसँगको सम्झौतामा आफ्ना सञ्चयकर्तालाई दिइने ब्याजदरभन्दा २१.५ प्रतिशत ब्याजदर कायम रहने उल्लेख छ ।

अहिलेको ब्याजदरका आधारमा ९ प्रतिशत कायम भएपनि कोषले सञ्चयकर्तालाई ब्याज बढाएमा ऋणको ब्याजदर पनि बढ्नेछ ।

सुरुवातमा निगमले अब दुबै कोषबाट ४ अर्ब देखि ४ अर्ब २५ करोड रुपैयाँसम्मको पहिलो भुक्तानी लिनेछ । निगमले पहिलो विमान सन् २०१८ को अपि्रलसम्म आइसक्ने गरी सम्झौता गरेको छ । दोस्रो विमान सन् २०१८ को मेसम्ममा आइपुग्ने छ ।

दुबै विमान २ सय ९ दशमलव ६ मिलियन अमेरिकन डलर २१ अर्ब ९० करोड रूपैयाँमा खरिद गर्ने गरी सम्झौता भएको छ । यो नेपालको उड्ययन इतिहासमा नै यति ठूलो रकम खर्चेर एकैपटक विमान खरिद गर्न लागिएको यो पहिलोपटक हो ।

निगमले फागुन ४ गते दुईथान वाइडबडी जहाज खरिद गर्न एएआरलाई बैनास्वरूप १० लाख अमेरिकी डलर पनि पठाइसकेको छ ।

बैना पाएपछि नै एएआरले निगमलाई खरिद सम्झौताको मस्यौदा पठाएको थियो । एएआर कर्पोरेसनले प्रतिथान १० करोड ४८ लाख अमेरिकी डलरका दरले दुईवटा वाइडबडी जहाज बिक्री गर्ने प्रस्तावलाई निगम सञ्चालक समितिले गत माघ २ गते अनुमोदन गरेको थियो ।

वायुसेवा निगमले एयरबसको सबैभन्दा सानो वाइडबडी ‘ए ३३०-२००’ जहाज खरिदका लागि खोलेको टेण्डरमा १० वटा कम्पनीले प्रस्ताव पेश गरेका थिए ।

अहिले नेपालले किन्न लागेको विमान अन्तर्राष्ट्रिय बजार मूल्य भन्दा सस्तो परेको छ । पोर्चुगिज एभिएसन कम्पनी हाइफ्लाईले एयरबससँग खरिद अर्डर गरेको थियो । तर, हाइफ्लाई कम्पनी ऋणमा गएपछि जहाज किन्न नसक्ने भयो र, त्यो विमानलाई एएआरले सकारेर नेपाल एयरलाइन्सलाई बेच्न लागेको छ ।

अहिले किन्न लागिएको जहाज फ्रान्सको टुलुज शहरमा छ । नयाँ एयरबस २८० सिट क्षमताको हुनेछ । जसमा १६ वटा बिजनेश क्लासका सिट क्षमताका हुनेछन् ।

यी जहाज नेपाल आएपछि राष्ट्रिय ध्वजाबाहक कम्पनी नेपाल एयरलाइन्सले साउदीको दमाम, कोरियाको सिओल, अष्ट्रेलियाको सिड्नी र जापानको टोकियोमा उडान भर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment