Comments Add Comment

‘क्यू-नेट’ नेटवर्किङ व्यवसायका १४ जना पक्राउ

२९ जेठ, काठमाडौं । लामो समयदेखि ‘क्यूनेट’ कम्पनीको नामबाट नेटवर्किङ व्यवसाय सञ्चालन गर्दै आएका १४ जनालाई प्रहरीले पक्राउ गरेको छ । अनलाइन तथा बिभिन्न माध्यमबाट सर्वसाधारणलाई क्यूनेटको सदस्य बनाउने भन्दै रकम लिएको पाइएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले १४ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा प्रकृति बुढाथोकी, श्वेता बस्नेत, सृजना सिंह, अंकिता श्रेष्ठ, विकल्प श्रेष्ठ, क्षितिज पौडेल र नरेश मल्ल छन् । यसैगरी ओम गुरुङ, बिशन गुरुङ, किरण जोशी, सुमित मानन्धर, सौरभ गोयन्का, सुमित श्रेष्ठ र प्रमेश मानन्धरलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

आइतबार साँझ काठमाडौंको बानेश्वरस्थित सिद्धार्थ फूडल्याण्ड प्रालिमा ‘क्यूनेट’को बन्द प्रशिक्षण सञ्चालन भइरहेको सूचनाको आधारमा प्रहरीले १०२ जनालाई नियन्त्रणमा लिएको थियो । प्रारम्भिक छानविनमा १४ जना सक्रिय अगुवा पाइएकाले उनीहरुलाई नियन्त्रणमा लिएर ठगी गरेको कसुरमा कानुन बमोजिम अनुसन्धान कारवाही अघि बढाइएको सीआइबीले जनाएको छ ।

उनीहरुले बिभिन्न आकर्षक योजनाको प्रलोभन देखाएर प्रतिव्यक्ति सदस्यता बाफत न्युनतम ३ लाख ५० हजार रुपैयाँको दरले रकम उठाउने गरेको पाइएको छ ।

‘क्यू नेट’लाई ‘क्वेस्ट नेट’बाट पनि चिन्ने गरिन्छ । यो हङकङको क्यू आई ग्रुपबाट सन्चालित छ ।

नेपाल सरकारले सन् २००३ देखि नै नेटवर्किङ व्यवसायमा प्रतिबन्ध लगाएको छ । यसअघि नेपालमा अवैधरुपले चलाइएका गोल्ड क्वेस्ट, हर्बो, युनिटी लगायत नेटवर्किङ व्यवसायमा रोक लगाइएको छ ।

नेटवर्किङ व्यवसायलाई नेपालसहित भारत, अमेरिका, श्रीलंका, इरान, सुडान साउदी अरेबिया लगायत देशले पनि प्रतिबन्ध लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment