Comments Add Comment

दोलखाका डिएसपी हेडक्वार्टरमा तानिए

२९ जेठ, दोलखा । दोलखाको चुनाव हिंसात्मक भएदेखि नै विवादमा परेका जिल्ला प्रहरी प्रमुख रविन कार्कीलाई प्रहरी मुख्यालयमा तानिएको छ ।

चुनावको मुखैमा गौरीशंकर गाउँपालिकास्थित जुँगुमा एमाले कार्यकर्ता कुलवहादुर तामाङको हत्या भएको थियो । माओवादी कार्यकर्ताको आक्रमणमा घाइते भएका तामाङको रेशमडाँडास्ति विद्यालय परिसरमा मृत्यु भएको थियो ।

मृतक कुलवहादुरका पिता गोरे तामाङ एमालेबाट वडा सदस्यका उम्मेदवार थिए । हत्यामा माओवादी नेताहरु देवी खड्का, विशाल खड्का, गंगा कार्की लगायत संलग्न रहेको भन्दै ३९ जनाविरुद्ध किटानी जाहेरी दिएका थिए ।

प्रहरीले तत्कालै ९ जनालाई पक्राउ गरे पनि माओवादी नेताहरु फरार छन् । घटनामा एमालेले नियोजित रुपमा जिल्ला नेतृत्वलाई मुछेको र डिएसपी कार्कीले अनुसन्धान प्रक्रियामा असहयोग गरेको भन्दै माओवादी नेताहरुले उनीलाई सरुवा गर्न गृहमन्त्री शर्मालाई दबाव दिएका थिए ।

गृहमन्त्री जनार्दन शर्माको निर्देशनमा कार्कीलाई फिर्ता बोलाइएको प्रहरी मुख्यालय स्रोतले जनाएको छ । उनको स्थानमा हाल अख्तियारमा कार्यरत डिएसपी रामेश्वर कार्कीलाई पठाउन लागिएको छ ।

कार्कीलाई मुख्यालय तानिएको प्रहरी प्रवक्ता सर्वेन्द्र खनालले पुष्टि गरेका छन् । दोलखाको चुनावमा भएका हिंसात्मक घटना र हत्याकाण्ड तथा बुथ कब्जाको मानवअधिकार आयोगले पनि अनुसन्धान गर्दैछ ।

एमाले केन्द्रीय कार्यालयले नै बुथ कब्जामा सिडिओ यज्ञ बोहोरा र डिएसपी रविन कार्कीले सत्तापक्षलाई सहयोग गरेको आरोप लगाएको थियो ।

चुनावका दिन प्रहरीले सुरक्षा दिन नसकिने भनेपछि तामाकोशी गाउँपालिकाका एमालेका अध्यक्ष उम्मेदवार इश्वरचन्द्र पोखरेलले मतदान केन्द्र छाडेर भागेका थिए । त्यस्तै बैत्यश्वर गाउँपालिकामा पनि प्रहरी प्रशासनको सहयोगमा बुथ कब्जा भएको आरोप एमालेले लगाएको थियो ।

दुवै घटनाको छानविन गर्न संसदीय समिति बनिसकेको छ । डिएसपी कार्कीको सरुवाव भए पनि सिडिओ बोहोरा भने यथावत छन् । एमालेले सिडिओ बोहोरामाथि समेत छानविन हुनुपर्ने माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment