Comments Add Comment

प्रदेश नम्बर २ र ५ को चुनाव सार्ने राजपा रणनीति, शीर्षनेता मधेस झर्ने

२९ जेठ, काठमाडौं । आसन्न दोस्रो चरणको स्थानीय तह निर्वाचन विथोल्न आन्दोलन घोषणा गरेको राष्ट्रिय जनता पार्टी नेपालका शीर्ष नेताहरु मधेस झर्ने भएका छन् ।
आन्दोलनमा सहभागी हुन पार्टीका शीर्षनेताहरु नै तराई मधेस झर्ने राजपाको निर्णय छ । अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलाई जनकपुर र अध्यक्ष मण्डलका ५ सदस्यलाई गृहजिल्लामा जाने तय भएको छ ।राजपा सम्मिलित संघीय गठवन्धनले असार २ को उम्मेदवारी दर्तालाई अवरोध गर्न भोलिबाटै तराई मधेस, थरुहट र लिम्बुवानमा आमहड्ताल आहृवान गरेको छ ।

अध्यक्ष मण्डलका सदस्यहरुमध्ये राजेन्द्र महतो र महेन्द्रराय यादवको गृहजिल्ला सर्लाही हो भने शरतसिंह भण्डारीको महोत्तरी, राजकिशोर यादव सिराहा र अनिल झा रौतहटका हुन् । आन्दोलनका क्रममा शीर्ष नेताहरु विभिन्न जिल्लामा पुग्ने अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले बताए ।

वार्ताको ढोकालाई पनि खुला राखेको राजजाले राजधानीमा भने दोस्रो तहका नेताहरुलाई राख्नेछ । आन्दोलन परिचालन समिति गठन गर्ने र त्यसमा रहेका केही नेता काठमाडौंमा रहने महासचिव केशव झाले जानकारी दिए ।

२ र ५ को चुनाव सार्ने राजपा रणनीति

आन्दोलन घोषणापछि पनि सत्तारुढ दल र राजपाका नेताहरुबीच अनौपचारिक रुपमा सम्वाद भइरहेको छ । तर, तत्काल सहमतिको कुनै संकेत नदेखिएको सत्तारुढ दलका एक नेताले बताए ।

राष्ट्रिय जनता पार्टीका नेताहरुले सम्वाद र सहमतिभन्दा आन्दोलनमा जोड दिइरहेका छन् । उनीहरुको रणनीति असार २ गतेका लागि तय भएको उम्मेदवारी दर्तामा अवरोध गर्नेमा केन्दि्रत छ । ‘सुरुमा उम्मेदवारी नदिन आग्रह गर्ने र दर्ता गर्न खोज्नेलाई जसरी पनि रोक्छौं’ राजपाका एक नेताले भने ।

उम्मेदवारी दर्ता अवरुद्ध गर्न सके असार १४ को चुनाव सार्न सकिने उनीहरुको विश्लेषण छ । एक नेता भन्छन्, १ र ७ मा चुनाव हुन सक्छ, तर, २ र ५ मा कुनै हालतमा चुनाव दिन्नौं । त्यसका लागि सशक्त आन्दोलन गर्छौं ।’

सरकारले पनि असार २ को उम्मेदवारी दर्तालाई हेरेर थप रणनीति बनाउने बताएको छ ।

आन्दोलनमा राष्ट्रिय झण्डा प्रयोग

राष्ट्रिय जनता पार्टीले यो चरणको आन्दोलनका क्रममा राष्ट्रिय झण्डा पनि प्रयोग गर्ने भएको छ । सोमबार रौतहटमा भएको प्रदर्शनका क्रममा पनि राजपा कार्यकर्ताले पार्टीको झण्डासँगै राष्ट्रिय झण्डा प्रयोग गरेको देखिएको छ ।

यो केन्द्रीय नीति अनुसार नै भएको नेताहरुले बताए । यो पटकको आन्दोलनमा पार्टीको झण्डासँगै राष्ट्रिय झण्डा प्रयोग गर्न सर्कुलर नै गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment